नरेश यादव, पर्सागढी, १५ असार/

जलवायुमैत्री कृषि धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ शनिवार २१औं राष्ट्रिय धान दिवस कृषि ज्ञान केन्द्र, पर्साको आयोजनामा शनिवार पर्सागढीमा धूमधामका साथ मनाइएको छ।पर्सागढी नगरपालिका–३ स्थित सुनाखरी कृषि सहकारी संस्था लिमिटेड झुलिटारकी अध्यक्ष सरस्वती भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन पर्सागढी नपाका प्रमुख गोकर्ण पाठकले गरेका थिए। उनले नेपाल कृषिप्रधान देश भएको र यहाँको मुख्य पेशा नै कृषि भएको तथा ८१ प्रतिशत जनता कृषिमा निर्भर रहेको बताए। उनले कृषिलाई अझै आधुनिकीकरण गर्नुपर्ने र तीनै तहका सरकारले कृषकहरूलाई आवश्यक सबै सामग्रीहरू सरल र सहजरूपमा उपलब्ध गराउनुपर्ने बताए। उनले कृषि कर्मका लागि आवश्यक बीउबिजन, मल र सिंचाइको पर्याप्त व्यवस्था हुन नसक्दा यो पेशाबाट पलायन हुने सङ्ख्या बढिरहेको भन्दै चिन्ता व्यक्त गरे।

उनले आफ्नो पालिकाले कृषकहरूका लागि सक्दो सहयोग गर्दै आएको र आगामी दिनमा पनि गर्ने बताए। उनले जनसङ्ख्याको वृद्धिदर बढिरहेको र सोअनुरूप खाद्यान्न उत्पादनमा वृद्धि हुन नसकेको बताए। खेत बाँझो नराख्न र किसानहरूलाई प्रोत्साहन गरिने हो भने आगामी दिनमा उत्पादन वृद्धि हुने उनले दाबी गरे। उनले असार १५ किसानहरूको लागि सबैभन्दा ठूलो पर्व भएको र योसँगै उत्पादनलाई कसरी बढाउने भन्नेबारेमा पनि चिन्तन आवश्यक भएको बताए।

कृषि ज्ञान केन्द्र, पर्साका प्रमुख कामदेवप्रसाद कुशवाहाले कृषिमा धानबाली विशेषगरी दुईपटक उत्पादन हुने बताए। हिउँदे र वर्षे बालीमा अधिकांश किसानले वर्षेबाली लगाउँदै आएका र थोरैले हिउँदे धानबाली गर्ने गरेको बताए। उनले दुवै बालीका लागि केन्द्रले किसानहरूलाई सक्दो बीउ उपलब्ध गराउँदै आएको दाबी गरे। उनले बीउको अतिरिक्त सिंचाइ र औषधिमा पनि समूहमार्फत किसानहरूलाई सहयोग गर्दै आएको बताए। उनले पछिल्लो समयमा पर्सा जिल्लामा हिउँदे धानबाली गर्ने किसानहरूको सङ्ख्या बढिरहेको बताए। उनले बाली लगाउनुपूर्व र त्यसपछिको समयमा आवश्यक मलहरू साल्ट टे«डिङ र कृषि सामग्री कम्पनीलाई उपलब्ध गराउन आग्रह पनि गरे।

उनले किसानहरूलाई बालीको समयमा मल नपाउने हो भने त्यसले उत्पादनमा –हास आउने बताए। सबैले खाना खानुपर्छ र त्यो खाना किसानहरूले उत्पादन गरेपछि मात्र पाउने हुँदा उनीहरूलाई समयमा मल उपलब्ध गराउन आवश्यक भएको जिकिर गरे। कार्यक्रममा पूर्ववडाध्यक्ष उद्धव उप्रेती, साल्ट टे«डिड्ढा सञ्जयप्रसाद गुप्ता, कृषि ज्ञान केन्द्रका मिथलेश साह, रोहित यादव, कृषक निकु चौरसियालगायतको सहभागिता थियो। कार्यक्रममा कुशेश्वर यादवले स्वागत र अर्जुन नेपालले सहजीकरण गरेका थिए।

चिरञ्जीवी सापकोटा, ठोरी/

२१औं राष्ट्रिय धान दिवस ठोरीमा मनाइएको छ। ठोरी गापा–२ स्थित ठोरी कृषक समूहको आयोजनामा राष्ट्रिय धान दिवस मनाइएको हो। ठोरी कृषक समूहका अध्यक्ष सुरेश तिमल्सिनाको अध्यक्षता तथा ठोरी गापाध्यक्ष लालबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा खेतमा रोपाइँ गर्दै धान दिवस मनाइएको हो।

ठोरीमा गठन गरिएका ३० वटा कृषक समूहको सहभागितामा धान दिवस कार्यक्रममा स्थानीय कृषकहरूसँगै खेतमा गएर कार्यक्रमका प्रमुख अतिथि गापाध्यक्ष श्रेष्ठ, उपाध्यक्ष गोकुलीकुमारी रेग्मी, वडाध्यक्ष अमृतकृष्ण सापकोटा, निर्मल–ठोरी उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेत, जनप्रतिनिधिहरू, सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरू, सुरक्षाकर्मीहरूले स्थानीय कृषक राजु बस्नेतको खेतमा सामूहिक रोपाइँ गर्दै धान दिवस मनाएका थिए।

कार्यक्रममा गापाध्यक्ष श्रेष्ठले ठोरीमा गठित कृषक समूहहरूले मन, वचन र कर्मले कृषि क्षेत्रमा लागि परे गापाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले नेपाल कृषिप्रधान देश भएको र ठोरी गापाभित्र कृषिका विभिन्न खाले खेतीयोग्य जमीन रहेको हुँदा माटो अनुसार खेती गर्न सके कृषिकै माध्यमबाट ठोरीको आयआर्जनमा वृद्धि हुने विश्वास व्यक्त गरे। उनले ठोरी गापाले समग्र समस्याको अध्ययन गरी समाधानतर्फ कार्य गरिरहेको हुँदा सबैको हातेमालो जरुरी रहेको बताए।

 कार्यक्रममा उपाध्यक्ष रेग्मी, वडाध्यक्ष सापकोटा, निर्मल–ठोरी उपभोक्ता समितिका अध्यक्ष बस्नेत, कृषक अगुवा अरुण अधिकारीलगायतले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा अर्जुन बस्नेतले स्वागत र नरबहादुर क्षेत्रीले सहजीकरण गरेका थिए।

प्रस, पोखरिया/

पोखरिया नगरपालिका–८ जगतपुरमा उपप्रमुख रूबी ठाकुरको प्रमुख आतिथ्यमा डा गोविन्दबहादुर थापा स्मृति प्रतिष्ठानद्वारा आयोजित र लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीको सहआयोजनमा २१औं धान दिवस मनाउनुका साथै दही–चिउरा र आँप खाएका थिए।

कार्यक्रममा वीरगंज ब्यारेकका गणपति नवीन सिलवाल, प्रभु हस्पिटलका सञ्चालकद्वय डा मनोज गुप्ता र डा लक्ष्मी थापा गुप्ता, नेता नेजामुद्दीन समानी, व्यवस्थित वीरगंज अभियानका  दिलीपराज कार्की, गायक सुनील पडित,  गुड्डी जोशी, सुशील साह, प्रेस चौतारी पर्साका अध्यक्ष तुलसी भण्डारी, पत्रकार कविता खड्का, नीलिमापौडेल, इलाका प्रहरी कार्यालय, पोखरियाका प्रमुख राजन ढकाललगायतले खेतमा धान रोपाइँ गरेका थिए। धान रोपाइँपछि दही–चिउरा, आँप खाएर असार १५ मनाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here