वीरगंज महानगरपालिकाका तीन स्थान र बाराको एक स्थानमा गरी शनिवार चार स्थानमा रक्तदान कार्यक्रम सम्पन्न भएको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेउले बताए।
उनले चार स्थानमा भएको रक्तदान कार्यक्रममा १५ जना महिलासहित १८८ जनाले रक्तदान गरेको बताए।
केन्द्रमा रगत अभाव भएकोले वीरगंज हेल्थकेयर अस्पतालले आयोजना गरेको रक्तदान कार्यक्रममा सातजना महिलासहित ११५ जनाले रक्तदान गरेका थिए। कार्यक्रममा खुश्बु नेसा, नाजरा खातुन, राजकमल साह, सद्दाम अन्सारी, राधेश्याम गिरीलगायतले रक्तदान गरेका उनले बताए।
यसैगरी, वीरगंज–१० आदर्शनगरमा नव जनकल्याण सञ्जालले आयोजना गरेको कार्यक्रममा चारजना महिलासहित ३८ जना, वृहस्पति फाउन्डेशन नेपालले वीरगंज–६ माईस्थानमा आयोजना गरेको कार्यक्रममा चारजना महिलासहित २९ जना र सामाजिक सेवा संस्था इटियाही, बाराले आयोजना गरेको कार्यक्रममा २६ जनाले रक्तदान गरेको प्राविधिक प्रमुख पाण्डेयले बताए।