काठमाडौं, ११ असार/रासस

अफगानिस्तान आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टको किङ्सटाउन मैदानमा मङ्गलवार भएको खेलमा बङ्गलादेशलाई डकवर्थ एन्ड लुइस (डिएलएस) पद्धतिका आधारमा आठ रनले पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा पुगेको हो।

यस खेलसँगै प्रतियोगिताको सेमिफाइनलमा पुग्ने टोलीको समीकरण पूरा भएको छ। सुपर आठको पहिलो समूहबाट भारत शीर्ष र अफगानिस्तान दोस्रो स्थानमा रहँदै सेमिफाइनल पुगेका छन् भने दोस्रो समूहबाट दक्षिण अफ्रिका शीर्ष र इङ्ल्यान्ड दोस्रो हुँदै सेमिफाइनलमा पुगेका छन्।

आजको खेलमा अफगानिस्तानले दिएको ११६ रनको लक्ष्य पछ्याएको बङ्गलादेश १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १०५ रनमा समेटियो। बङ्गलादेशका ओपनर लिटन दासले ५४, तौहिद ह्दोयले १४ र सौम्य सरकारले १० रन बनाए।

अफगानिस्तानका लागि कप्तान राशिद खान र नवीन उल हकले समान चार/चार विकेट लिए भने फजलहक फारुकी र गुलबद्दीन नाबीले समान एक/एक विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले पाँच विकेटको क्षतिमा ११५ रन बनाएको थियो। अफगानिस्तानका लागि ओपनर रहमानुल्लाह गुर्बाजले सर्वाधिक ४३ रनको योगदान दिए भने कप्तान राशिद खानले १९ रन जोडे। त्यसैगरी, इब्राहिम जद्रानले १८, अजमतुल्लाह उमरजईले १० तथा करिम जन्नतले सात रन बनाए।

बङ्गलादेशका लागि रिशाद हुसैनले तीन विकेट लिंदा तस्किन अहमद र मुस्ताफिर रहमानले समान एक/एक विकेट लिए।

सेमिफाइनलको पहिलो खेल यही असार १३ गते अफगानिस्तान र दक्षिण अफ्रिकाबीच नेपाली समय अनुसार बिहान ६:१५ बजे हुनेछ भने दोस्रो खेल सोही दिन राति ८:१५ बजे भारत र इङ्ल्यान्डबीच हुनेछ आइसिसीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here