मनुष्यको जीवनयात्रामा, एउटा प्रचलित मान्यता अनुसार, जन्मदेखि अढाई (दुई वर्ष छ महीना) वर्षसम्मको उमेरकालाई शिशु, अढाई वर्षदेखि पाँच वर्षसम्मको उमेरकालाई बालकबालिका, छ वर्षदेखि १५ वर्षसम्मको उमेरकालाई किशोरकिशोरी, १६ वर्षदेखि ४५ वर्षसम्मको उमेरकालाई युवायुवती, ४६ वर्षदेखि ६० वर्षसम्मको उमेरकालाई प्रौढप्रौढा तथा ६० वर्षभन्दा माथिकालाई वृद्धवृद्धा मान्ने गरिएको देखिन्छ। यसरी आयुको आधारमा अवस्थाको निर्धारणमा मनुष्यको प्राकृतिक (भौतिक) स्वास्थ्य संरचना, खानपान, रहनसहन इत्यादिले पनि प्रभाव पार्ने गरेको पाइन्छ। यीमध्येका शिशु, बाल तथा किशोर अवस्थासम्मका व्यक्तिहरू लालनपालन र पोषणका लागि आफ्ना जन्मदाता अथवा अभिभावकमाथि निर्भर रहेका हुन्छन् भने युवा तथा प्रौढ अवस्थाका व्यक्तिहरू अपेक्षाकृत स्वावलम्बी भएर अन्य व्यक्तिको समेत आश्रयदाता तथा अभिभावक बनिहाल्छन्। यसै क्रममा वृद्धावस्था आउँछ। यो अवस्था एउटा बिस्तारै आउने अवस्था हो, जुन स्वाभाविक र प्राकृतिक हुन्छ। वृद्धावस्था जीवनको सत्य हो, यसबाट कोही पनि बाँच्न सक्दैन, तर मानिस वृद्धावस्थाको कल्पना गरेर भयभीत र निराश भइहाल्छ। जब व्यक्ति आफूलाई वृद्ध मान्न थाल्छ, तब ऊ कमजोर अनुभव गर्न थाल्छ। ऊ अर्काको सहानुभूति र सहयोगको अपेक्षा गर्न थाल्छ। यस अवस्थाका, सामान्यतः अधिकांश, व्यक्तिहरू शारीरिक एवं मानसिकरूपले अशक्त हुने भएकाले तिनीहरूका समक्ष अनेक समस्याहरू उपस्थित हुने गर्छन्।
सामाजिक पक्ष : अहिले सामाजिक परिवर्तन अति तीव्र गतिमा भइरहेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा जनसङ्ख्याको गतिशीलताले गर्दा परम्परागत सामाजिक मूल्य र मान्यतामा पुनर्विचार हुन थालेको छ। उत्पादन क्षेत्र र चिकित्साको क्षेत्रमा भएका विकासले मनुष्यको आयुलाई लामो बनाएको छ, जसले गर्दा वृद्धावस्थाका व्यक्तिहरूको सङ्ख्यामा वृद्धि भएको छ। परम्परागत सामाजिक व्यवस्थामा वृद्धावस्थाका मानिसहरूलाई अनुभवी ठानेर नीति निर्माण तथा सामाजिक निर्णयहरूमा प्रतिष्ठित स्थान प्रदान गरिएको हुन्थ्यो। तर अहिले युवा पीढीका शिक्षित र ज्ञानी वर्गका व्यक्तिहरूले यसलाई स्वीकार गरेका पाइँदैनन्। आधुनिक समाजमा राष्ट्रिय र राज्यको कानूनको समक्ष सामाजिक कानून र अनुशासन प्रायः समाप्त भइसकेको छ। यसले गर्दा समाजमा वृद्धावस्थाका व्यक्तिहरूको समन्वयको समस्या रहेको छ। यसरी वर्तमान औद्योगिक स्वरूपको समाजमा अनुत्पादक वर्गका मानिने वृद्धहरूको उपयोगिता कम हुने भएको समाजमा तिनीहरूको भूमिका परिवर्तित भएको हुन्छ।
पारिवारिक पक्ष : पहिले समाजमा संयुक्त परिवार प्रणाली थियो। यस प्रणालीमा परिवारका समस्त सामाजिक, आर्थिक र व्यावहारिक अधिकार वृद्धवृद्धालाई सुम्पेर अर्का सदस्यहरूले तिनका निर्देश अनुसार कार्य गर्नुपर्ने सामाजिक अनुशासन कायम गरिएको हुन्थ्यो। यस्तो व्यवस्थाले वृद्धहरूलाई सामाजिक, आर्थिक र भावनात्मक सुरक्षाको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। यसबाट वृद्धजन मानसिक तनावबाट टाढा रहेर आफ्ना अनुभवहरूबाट समाजलाई लाभान्वित गराइरहेका हुन्थे।
यस सन्दर्भमा के देखिन्छ भने अहिले समाजमा संयुक्त परिवार प्रणाली लगभग समाप्त भइसकेको छ। यदि परिवारमा २–४ दाजुभाइ छन् एवं वैधानिकरूपले भिन्न भइसकेका छैनन्, तथापि सबैको पारिवारिक परिस्थिति भिन्नभिन्न नै रहेको हुन्छ। परिवारको अवधारणामा पति, पत्नी तथा सन्तान मात्र मानिन थालिएको छ। त्यसमा पनि सन्तान वयस्क भइनसकेसम्म मात्र। वयस्क सन्तान आफ्नो निर्णय स्वयम् गर्न रुचाउँछन्। माता–पिता तथा वृद्ध–वृद्धाको अवस्था दिनानुदिन दयनीय हुँदै गइरहेको छ। पतिपत्नी पहिले एक सिक्काका दुर्ई पाटा भनिने गरिएकामा अहिले एक सिक्काका दुर्ई बेग्लाबेग्लै भाग मानिन थालिएका छन्। महिलावर्ग अहिले विशुद्ध गृहिणी नरही विद्यालय, महाविद्यालय र विश्वविद्यालयबाट शिक्षा प्राप्त गरी विभिन्न व्यवसाय/कार्यालयमा कामकाजी भइसकेका छन्। पारिवारिक अनुशासन समाप्तितिर अग्रसर रहेको छ। व्यक्ति स्वतन्त्ररूपले सबै कार्य गर्न चाहन्छ। ऊ आफ्नो कार्य व्यापारमा स्वयम् निर्णय लिन चाहन्छ। बालकबालिकाको विवाह अहिले अभिभावकको इच्छाभन्दा पनि सम्बन्धित वरवधूकै इच्छा अनुसार हुन थालिसकेको छ। वैवाहिक सम्बन्धको विषयमा परिवार, जाति, वंश, खानदान, संस्कारभन्दा पनि शिक्षा, आयआर्जन र सौन्दर्य आदि कुरा निर्णायक हुन थालिसकेका छन्। पतिपत्नी दुवैको कार्यव्यस्तता बढिसकेको छ। यहाँसम्म कि सन्तानोत्पत्तिको विषयमा समेत पतिपत्नी योजना बनाउने गर्छन्। सन्तानहरूको कार्य व्यापारले गर्दा परिवारहरू मूल स्थानबाट विस्थापित हुने बाध्यताका कारण परिवारका वृद्धवृद्धाको अवस्था सोचनीय भएको छ।
आर्थिक पक्ष : प्राच्य कालगणनाको सिद्धान्त अनुसार वर्तमान युगलाई कलियुग भनिन्छ। यसलाई अर्थप्रधान युग पनि भनिन्छ। अहिले प्रत्येक क्रियाकलापको मूल अथवा केन्द्रमा अर्थ अर्थात् धन नै रहेको देखिन्छ। मानिसका आवश्यकता बढिरहेका छन्। तिनको आपूर्तिमा धनको महत्वपूर्ण स्थान हुन्छ। अहिले प्रत्येक मनुष्य आफ्नो आर्थिक आम्दानी बढाउनेतिर ध्यान केन्द्रित गर्न बाध्य भएको छ। यसले गर्दा समाज, परिवार, नाता–कुटुम्बका साथै संस्कार र व्यवहार पनि प्रभावित भएका छन्। मानिसको प्रत्येक कार्यमा केही न केही प्राप्तितिर उन्मुख रहने प्रवृत्ति देखिनुका कारणले गर्दा ऊ कर्तव्यभन्दा पनि हकहित र अधिकारप्रति बढी सजग देखिएको छ।
यस सन्दर्भमा वृद्धावस्थाका आर्थिक पक्षतिर विचार गर्दा एउटा कुरो जनसाङ्ख्यिकी सङ्क्रमण पनि देखिन्छ। जनसाङ्ख्यिकी सङ्क्रमणको तात्पर्य त्यो प्रक्रिया हो, जसद्वारा कुनै पनि देश अथवा समाज आफ्नो उच्च जन्मदर र मृत्युदरबाट कसरी निम्न जन्मदर र मृत्युदरतिर अग्रसर हुन्छ। जनसङ्ख्यामा वृद्धवृद्धाहरूको अनुपातमा वृद्धि हुनु यसैको परिणाम हो, जुन आर्थिक विकास तथा आधुनिकीकरण जस्ता पक्षद्वारा निम्त्याइएको भनिन्छ। यसमा ध्यान दिनुपर्ने कुरो के हो भने जनसङ्ख्यामा वृद्धवृद्धाहरूको अनुपातमा वृद्धि, बढ्दो दीर्घायु अथवा जीवन सम्भाव्यताका कारण हुने हो भन्ने कुरा आंशिकरूपमा मात्र सत्य हो। वास्तवमा यसको अर्को कारण भनेको मानिसको जन्मदरमा भएको कमी पनि हो। जन्मदरमा परिवर्तन हुनु जनसाङ्ख्यिकी सङ्क्रमणको एउटा विषय हो। यसमा औद्योगिकीकरण र आधुनिकीकरणको महत्वपूर्ण भूमिका रहेको छ। यसबाट जनसाङ्ख्यिकी सङ्क्रमण त भएको छ नै, यसका अतिरिक्त यसले समाजको संस्थागत ढाँचामा आमूल परिवर्तन ल्याइदिएको छ। यसले गर्दा समाजमा वृद्धावस्थाका व्यक्तिहरूलाई तालमेल मिलाउन कठिन हुन पुगेको छ। एउटा वृद्ध वा वृद्धा व्यक्ति आफ्नो जैविक, मनोवैज्ञानिक तथा सामाजिक संसाधनहरूको कमीले गर्दा समाजमा आफ्नो स्थान तथा सुरक्षामा –हास भएको अनुभव गर्छ। पहिले परिवार भनेको उत्पादनको एउटा एकाइ हुन्थ्यो, तथा उत्पादनकारी शक्तिको नियन्त्रण परिवारका वरिष्ठ सदस्यहरूको हातमा हुन्थ्यो, जसले गर्दा व्यक्तिगत विशेषताहरूमा –हास आए तापनि उसको स्थान र प्रभावलाई कायम राख्ने गथ्र्यो। परन्तु अहिले परिवार आफ्नो उत्पादन कार्यबाट फरक हुन थालेको तथा परिवारका युवा वा कनिष्ठ सदस्य आआफ्नो परिवारलाई अझ बढी समृद्ध बनाउने उद्देश्यका साथ आफ्ना वरिष्ठ सदस्यगणदेखि आर्थिकरूपबाट स्वतन्त्र हुनका लागि अलग भइहाल्छन्। यसबाट परिवारको ढाँचा परिवर्तित हुन्छ। अहिलेको नवीन पारिवारिक ढाँचामा प्रायः वृद्धवृद्धालाई तिनीहरू स्वयंको भरोसामा छाडिदिने गरिन्छ, जबकि तिनीहरूको सामाजिक सामञ्जस्य बनाइराख्ने क्षमता पनि कम भइरहेको हुन्छ। अर्कोतिर आधुनिक आर्थिक तर्क–सङ्गतिको आधारमा वृद्धवृद्धालाई अनैच्छिकरूपमा लाभकारी रोजगारहरूबाट हटाइदिने गरिन्छ, जबकि तिनीहरूमा त्यस समयसम्म उत्पादनकारी योग्यता विद्यमान रहन्छ अथवा केही मात्रामा मात्र कम भएको हुन्छ। पहिले वृद्धवृद्धाहरू आफूले चाहेसम्म तथा सकेसम्म कार्य व्यापारमा सहभागी हुन्थे भने अहिले उमेरको कारण अनिवार्य कार्य–निवृत्त गरिदिने गरिन्छ। यसरी तिनीहरूको आर्थिक असुरक्षामा अझ वृद्धि हुने गर्छ। खासगरी महिलावर्ग वृद्धावस्थामा बढी असुरक्षित हुने गर्छन्। पुरुषको अपेक्षा महिलाको शैक्षिकस्तर सामान्यतः कम हुन्छ तथा लाभकारी योजनाहरूमा पनि सहभागिता कम हुने गर्छ। यसले गर्दा महिलाहरू प्रायः पुरुषसम्बन्धीहरूमाथि निर्भर हुने गर्छन्।
वृद्धावस्थाका समस्याहरूः यस अवस्थाको सबैभन्दा मुख्य समस्या भनेको शारीरिक कमजोरी हो। यस अवस्थामा शरीर शिथिल हुनु, आँखा कमजोर हुनु, कान नसुन्नु, हाडजोर्नीका समस्या, दाँत झर्नु, पाचनशक्तिमा कमी, रक्तसम्बन्धी विकार, श्वासप्रणालीसम्बन्धी समस्या, हिंड्डुल गर्न तथा नित्य क्रियाकर्म गर्नमा समस्या इत्यादि हुने गर्छन्। व्यक्तिको कार्यशक्तिमा –हास हुन्छ। शरीर कमजोर भएपछि रोग–प्रतिरोधक क्षमता पनि कम हुने भएकोले अन्य शारीरिक रोगहरूले आक्रमण गर्ने खतरा हुन्छ।