निजगढ नगरपालिका–१२ रामथलीमा एकजना पुरुष सोमवार राति खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन्।
घाइते हुनेमा ३८ वर्षीय भीमलाल गोले रहेको इलाका प्रहरी कार्यालय, निजगढले जनाएको छ। घाइते गोले एक्लै आफ्नै घरको झ्यालनजीकै खाटमा सुतिरहेको अवस्थामा राति करीब १२ बजे अज्ञात व्यक्तिले खुकुरी प्रहार गर्दा घाँटी, टाउको र हातमा गहिरो चोट लागेपछि उनले चिच्याउँदै गुहार मागेपछि घटनामा संलग्न व्यक्ति तत्कालै भाग्दा उनको ज्यान जोगिन पुगेको स्थानीयहरूले बताएका छन्।
उनले चिच्याएर गुहार मागेसँगै आसपासका छिमेकीहरू घटनास्थलमा पुगेका र रगताम्य भएका उनलाई राति नै उपचारको लागि हेटौंडास्थित चुरे हिल अस्पतालमा पु–याइ उपचार भइरहेको वडाध्यक्ष ज्ञानबहादुर गोलेले बताए। घटनाको जानकारी हुनासाथ रतनपुर अस्थायी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय, निजगढमा आफूले खबर गरेपछि राति नै प्रहरी टोली घटनास्थलमा आएर अनुसन्धान शुरू गरेको वडाध्यक्ष गोलेले बताए।
सो घटनामा संलग्न भएको आशङ्कामा इप्रका, निजगढले उनका छिमेकी एक पुरुषलाई मङ्गलवार बिहान नियन्त्रणमा लिई सोधपूछ गरेपछि घाइते गोलेमाथि खुकुरी प्रहार गर्ने व्यक्तिको पहिचान खुलेको र निजको खोजी कार्यमा प्रहरी जुटिसकेको प्रहरी निरीक्ष्Fक सुमित कुशवाहाले जानकारी दिए। घटनास्थलबाट करीब तीन सय मिटर आसपासमा रहेको एक विद्यालयको मैदानमा ग.२४प ७०४६ नम्बरको मोटरसाइकल, टोपी, तीन थान मोबाइल बरामद भएको प्रनि कुशवाहाले बताए।
घटनामा संलग्न भनिएको सो व्यक्तिको घर रौतहटस्थित जङ्गलसैयामा रहेको र उनी तीन/चार वर्ष पहिलेदेखि नै गाउँघरमा सिरक, डसना बनाउने र पछिल्लो समय मोटरसाइकलमा कपडा बिक्री गर्दै आइरहेका स्थानीय स्रोतले जनाएको छ। घाइते गोलेको घरनजीकैको एक स्थानीयसँग घटनामा संलग्न सो व्यक्तिले मितको साइनो लगाइ बास बस्दै आएको बुझिएको छ। घाइतेको अवस्था अहिले खतरामुक्त रहेको इप्रका, निजगढले जनाएको छ।