महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित एभरेष्ट सुगर मिलबाट उखु किसानले रु एक अर्ब ६१ करोड १० लाख ६३ हजार भुक्तानी लिएका छन्।
एभरेष्ट सुगर मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले १४,५०० किसानलाई उक्त रकम भुक्तानी दिएको बताए। उनले भने–“चालू आर्थिक वर्षको किसानको बक्यौता चुक्ता भएको छ।”
समयमैं भुक्तानी पाएपछि उत्साहित भएका उखु किसानले थप जमीनमा उखु रोप्ने बताएका छन्। गौशाला नगरपालिका–११ का किसान दिनेश कुशवाहाले थप जमीनमा खेती बढाउने बताए।
उक्त मिलले चालू आर्थिक वर्षमा महोत्तरी, धनुषा, सर्लाही र रौतहटका १४,४४४ जना किसानबाट २९ लाख चार हजार पाँच सय ११ क्विन्टल उखु खरीद गरेर कुल दुर्ई लाख ६४ हजार चार सय ९१ क्विन्टल चिनी उत्पादन गरेको महाप्रबन्धक ठाकुरले जानकारी दिए।