श्रीमद्भागवत्मा एउटा यस्तो दिव्य सन्देश छ, जसको प्रत्येक श्लोकमा, प्रत्येक अध्यायमा जीवन समग्रताले जिउने सन्देश प्रदान गरिएको छ। गीताबाट निस्सृत भएका अगणित दिव्य सन्देशहरूमा सर्वाधिक महत्वको सन्देश कर्मफल सिद्धान्त र त्यसलाई ध्यानमा राखेर निष्कामभावले कर्म गर्ने सन्देश हो।
कर्मफलको सिद्धान्त यस्तो अविचल र शाश्वत छ कि त्यसलाई मान्ने वा नमान्ने प्रत्येकलाई, त्यस अनुरूप परिणाम प्राप्त गर्न तयार हुनुपर्छ। यस सृष्टिको निर्माण कसैको व्यक्तिगत शोख पूरा गर्नका लागि भएको होइन, वरन यसको सञ्चालनका लागि एउटा सुनियोजित व्यवस्थाका शृङ्खलाहरूको कडी हो र त्यस शाश्वत अनुशासनको उल्लङ्घन गर्ने छूट कसैलाई पनि छैन।
कर्मफलको सिद्धान्त, एउटा यस्तै सिद्धान्त हो–जस अनुसार परिणाम पाउनका लागि, प्रत्येक प्राणी विवश हुनै पर्छ। हामीले अतीतमा गरेका कर्मले हाम्रो वर्तमान बनाउँछ र वर्तमानमा गरिएका कर्मले हाम्रो भविष्यको आधारशिला तयार गर्छ।
जस्तो बीउ रोपिन्छ, फल पनि त्यस्तै प्राप्त हुन्छ–यसमा कुनै कुतूहल वा आश्चर्यको सम्भावना नै कहाँ छ ? यदि विगत समयमा हामीबाट कुनै अनर्गल, अशुभ कर्म भएका छन् भने त्यसको परिणामलाई आज, त्यसै रूपमा स्वीकार गर्न हामी तत्पर हुनुपर्छ। वर्तमानको जुन पनि स्वरूप छ, त्यो त्यस्तो निर्माण हुनुको पछाडि हाम्रा पूर्वकृत कर्महरूकै भूमिका हो।
केही कर्मले तुरन्त फल दिन्छन् भने केही कर्मको परिणाम समय–साध्य हुन्छ। पढाइ शुरू गर्ने बालक, एकै दिनमा विश्वविद्यालयको प्रोफेसर बन्दैन। व्यायाम गर्ने युवक, घण्टापछि नै प्रख्यात बडी–बिल्डर बन्दैन। यसविपरीत आगोमा हात हाल्दा तुरन्त प्रतिक्रिया प्राप्त हुन्छ।
केही कार्य यस्ता हुन्छन्–जसले तुरन्त फल दिन्छन् भने केहीको परिणाम, प्रतीक्षा गरेपछि मात्र प्राप्त हुन्छ। जुन कर्मको परिणाम तत्काल प्राप्त हुन्छ –त्यो देखेर अनेक व्यक्ति कर्मफल सिद्धान्तमा अविश्वास व्यक्त गर्छन्। राम्रो काम गर्ने मानिस सोच्न थाल्छन् कि मैले गरेको असल कामको फल किन प्राप्त भइरहेको छैन ? तर नराम्रो काम गर्नेहरू, आप्mनो कर्मको तत्काल नराम्रो परिणाम नपाउँदा–यस्तो सोच्न थाल्छन् कि मेरो कसैले केही बिगार्न सक्दैन।
तत्काल फल नपाउने व्यवस्थाको पछाडि भगवान्ले बनाएको दूरदर्शिता र विवेकशीलताको व्यवस्था हो। यदि असत्य बोल्नेबित्तिकै मुख चिरिन्थ्यो, चोरी गर्दा हात भाँचिन्थ्यो भने मानिसलाई आत्मप्रेरणाको आधारमा जीवन परिवर्तनको मौका नै प्राप्त हुने थिएन र फेरि नराम्रो कामको मात्र किन–असल काम गर्दा तात्कालिक लाभ प्राप्त हुन्थ्यो भने सारा पुण्य, क्षणमैं समाप्त हुन्थ्यो र शेष जीवन, मात्र दण्ड भोग्दै बित्ने थियो।
मानिसको दूरदर्शिता विकसित गर्ने एवं सही–गलत सोच राख्नुको पछाडि परमात्माको आशय यत्ति मात्र थियो कि मानिस यो देखी–सुनी, सोचविचार गरेर समझदारीका साथ जीवन बाँचोस्, अनैतिक क्रियाकलापहरूबाट जोगियोस्, दुष्प्रवृत्तिहरूसँग जुझ्ने सत्साहस आफूभित्र पैदा गरोस् र यस सङ्ग्राममा जुन चुनौति–परेशानीहरू आउँछन्, तिनलाई अँगाल्ने, धैर्यपूर्वक सहन गर्ने भावना आपूmभित्र विकसित गरोस्।
कर्म फलित हुनुमा, त्यो परिपाक हुनुमा समय लाग्छ। यसको जरा अन्तरंगको गहिराइमा हुन्छ, त्यसैले तिनका शुभ वा अशुभ प्रतिफल, ढिलोगरी प्राप्त हुन्छ तर लामो समयसम्म रहन्छ। यही कारण हो कि कहिले–कहिले यिनको परिणाम प्राप्त हुन जन्म–जन्मान्तरको समय पनि लाग्न सक्छ।
कर्मको बीउ, मानिसको अन्तःकरणमा स्थित रहन्छ। भगवान्ले मानिसको अन्तःकरणलाई नैसर्गिकरूपले दिव्य तत्वहरूले सुशोभित गरेर पठाएका छन्स स्नेह, सौजन्य, दया, करुणा, मानवताजस्ता गुण र सत्प्रवृत्तिहरूले नै मानवीय अन्तःकरणको सामान्य संरचना विनिर्मित गर्दछन्। यदि यस क्षेत्रमा दुष्प्रवृत्ति वा निकृष्टताले पहुँच बनाउने चेष्टा गर्दछ भने हाम्रो आत्मा विद्रोह गर्न थाल्छ।
जसरी–रगतमा विजातीय तत्वका ब्याक्टेरिया, भाइरस प्रवेश हुनेबित्तिकै–हाम्रो प्रतिरोधक क्षमता तिनलाई धपाउन सक्रिय हुन्छ–त्यसैगरी, अन्तःकरणको दैवी चेतनाले पनि यी आसुरी दुष्प्रवृत्तिहरूलाई मानवीय व्यक्तित्वमा जरा गाड्ने छूट दिन चाहँदैन। फलस्वरूप एउटा देवासुर सङ्ग्राम शुरू हुन्छ–यसैलाई अन्तद्र्वन्द्व भन्न सकिन्छ। यही अन्तद्र्वन्द्व मनोवैज्ञानिकहरूको भाषामा छरिएको व्यक्तित्वको कारण बन्दछ।
एउटा दापमा दुईवटा तरबार एकैसाथ राख्न सकिन्न। आगो र पानी सँगसँगै रहन सक्दैन। त्यसैगरी असल र खराब एकसाथ रहन सक्दैनन्। आत्मा, दुष्प्रवृत्तिहरूलाई एक छिन पनि स्वीकार गर्न सक्दैन। त्यसैले गलत गर्दा ग्लानि हुन्छ, आँखा तल निहुरिन्छ, मुटु हल्लिन्छ र हात–खुट्टा काम्न थाल्छ।
यो एक किसिमले अन्तरात्माको हाम्रो लागि सन्देश हो कि पापको परिणामबाट कोही पनि जोगिन सक्दैन। दुष्कर्म गरेर कोही शासकीय दण्ड व्यवस्थाबाट भलै जोगियोस्, मानसिक सन्ताप र शारीरिक रोगबाट उसलाई कसले जोगाउन सक्छ ? त्यसैले जो आध्यात्मिक प्रगतिका इच्छुक हुन्छन्, तिनले यी दुष्प्रवृत्ति र दुष्कर्महरूको पहिले नै सफाया गर्छन्।
कर्मफल विधान अटल छ। जबसम्म अन्तःकरणमा, कुकर्महरूको छाया रहन्छ, तबसम्म हामीलाई दिव्यसत्ताको सूर्य देखिंदैन। सबभन्दा पहिले ती कुकर्मका कालिमाबाट बाहिर निस्कनु आवश्यक हुन्छ। त्यसैले आजको हाम्रो दुःखद परिस्थितिहरूको मूल्याङ्कन हाम्रो अतीतका भूलहरूमा दृष्टिपातका साथ हुनुपर्छ, जसले तिनलाई धैर्यपूर्वक सहन गर्ने, स्वीकार गर्ने क्षमता, हामीभित्र विकसित हुन सकोस्। यसै प्रकार राम्रो घटित हुँदा धुरी चढ्नुको साटो–पूर्वकृत शुभ कर्महरूलाई धन्यवाद दिंदै जीवनमा सदा असल गर्ने सोच राख्नुपर्छ। यस मार्गको पालन गर्नेहरू जीवनको प्रत्येक क्षेत्रमा उन्नति र उत्कर्षका प्राप्तकर्ता बन्दछन्।