-विश्वराज अधिकारी

गत मङ्गलवार (१५ जेठ २०८१) अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० अर्ब ३० करोड रुपियाँ विनियोजन गरिएको बजेट पेश गरेका छन्। अहिलेको लागि महत्वपूर्ण विषय बजेटमाथिको चर्चा नै हो। तर नेपालमा ऋण प्रवाह र सङ्कलन पनि अति नै महत्वपूर्ण विषय हुन पुगेको छ। आउने दिनहरूमा हालै पेश गरिएको बजेटमाथि चर्चा गर्ने उद्देश्य राख्दै अहिलेलाई ऋण प्रवाह र सङ्कलन विषयमा चर्चा गर्ने प्रयास गरिएको छ।

नेपालमा ऋण प्रवाह र सङ्कलन अहिलेसम्म पनि सजिलो हुन सकेको छैन। यो स्थितिले गर्दा अनेक संस्थाहरूबाट ऋण वा पैंचौ पाउन सजिलो छैन। अर्कोतिर ऋण, पैंचौ वा उधारो दिने ब्यक्ति वा संस्थालाई आपूmले प्रवाह गरेको ऋण उठाउन कठिन छ। कुनै सम्पत्ति धितो नराखेर ऋण पाउन नेपालमा लगभग असम्भव नै छ। यसैगरी बढी मूल्य पर्ने वस्तुहरू उधारो खरीद गर्न पनि कठिन छ। केही सीमित व्यक्तिहरूको लागि ऋण लिन वा उधारोमा सामान खरिद गर्न सजिलो भए तापनि बहुसङ्ख्यक व्यक्तिका लागि यी दुवै कार्य ज्यादै कठिन छ। यो आधुनिक वित्तीय युगमा पनि सुगम ऋण प्राप्ति सुविधा बहुसङ्ख्यक व्यक्तिको पहुँचभन्दा निकै पर छ।

नेपालमा ऋण प्रवाह र सङ्कलन कार्य व्यवस्थित हुन नसकेको हुनाले ऋण प्रवाह र सङ्कलन उच्च जोखिमपूर्ण कार्य हुन पुगेको छ। धेरै लगानीकर्ताको लगानी डुबेको छ। अनेक सहकारी एवं वित्तीय संस्थाहरू डुबेका छन्। तर प्रभावकारी व्यवस्थापनको माध्यम र आवश्यक नियम एवं कानूनहरू निर्माण गरेर ऋण प्रवाह र सङ्कलन कार्य प्रभावकारी पार्न सकिन्छ, सजिलो बनाउन सकिन्छ। कोषको आवश्यकता परेका व्यक्तिलाई सजिलै कोष (ऋण) उपलब्ध गराउन सकिन्छ।

आम्दानीको हिसाबले व्यक्तिलाई तीन वर्गमा विभाजन गर्न सकिन्छ। पहिलो वर्गमा पर्ने व्यक्ति यस्ता हुन्छन् जसको आम्दानी उनले गर्ने खर्चभन्दा ज्यादै बढी हुन्छ। यस्ता व्यक्तिलाई ऋण आवश्यक पर्दैन। तर यस्ता व्यक्तिको सङ्ख्या, कुनै पनि समाज वा देशमा ज्यादै न्यून हुन्छ।

दोस्रो वर्गमा पर्ने व्यक्ति यस्ता हुन्छन् जसको आम्दानी उनले गर्ने खर्चको बराबर हुन्छ। यस्ता व्यक्तिलाई पनि ऋण आवश्यक पर्दैन। तर यस्ता व्यक्तिहरूसँग बचत नहुने हुँदा ठूलो रकम खर्च गरेर कुनै सामान खरीद गर्नुपरे वा कुनै सामाजिक कार्य (विवाह, जन्म–मृत्यु संस्कार) गर्नुपरे वा शैक्षिक क्रियाकलापका लागि ऋण आवश्यक पर्छ। यस्ता व्यक्तिको सङ्ख्या पनि उच्च नै हुन्छ।

तेस्रो वर्गमा पर्ने व्यक्तिको स्थिति सर्वथा विपरीत हुन्छ। उनीहरूको खर्च भन्दा आम्दानी कम हुन्छ। यस्ता व्यक्तिलाई प्रत्येक समय, प्रत्येक दिन, प्रत्येक महीना ऋण वा उधारो लिनुपर्ने हुन्छ। यस्ता व्यक्तिको सङ्ख्या पनि ज्यादै उच्च हुन्छ। अब प्रश्न उठ्छ जसको आम्दानी खर्चभन्दा कम छ, त्यस्ता व्यक्तिलाई ऋण दिने कि नदिने ? यसैगरी यस्ता व्यक्तिहरूलाई उधारोमा सामान बिक्री गर्ने कि नगर्ने ?

आम्दानीभन्दा खर्च बढी हुने व्यक्तिलाई पनि ऋण दिन सकिन्छ। उनीहरूलाई उधारोमा पनि समानहरू बिक्री गर्न सकिन्छ। किन र कसरी ?

आम्दानीभन्दा खर्च बढी हुने व्यक्तिहरूको स्थिति विशेष किसिमको हुन्छ। वर्तमानमा आम्दानी खर्चभन्दा कम भए तापनि भविष्यमा आम्दानी, खर्चभन्दा बढी हुने सम्भावना रहन्छ। र उनीहरूसँग रहने यो सम्भावनाले गर्दा नै उनीलाई ऋण प्रदान गर्न सकिन्छ। उधारोमा सामान बिक्री गर्न सकिन्छ। भविष्य, जहिले पनि अनेक सम्भावना र अवसरहरूले युक्त हुन्छ। वर्तमानभन्दा भविष्यमा कुनै पनि व्यक्तिले राम्रो आम्दानी गर्न सक्ने सम्भावनालाई अस्वीकार्न सकिंदैन। यस कारणले गर्दा पनि त्यस किसिमको स्थिति रहेका ब्यक्तिहरूलाई पनि ऋण प्रदान गर्न सकिन्छ। उधारोमा सामान बिक्री गर्न सकिन्छ।

‘क्रेडिट कार्ड’ को व्यवस्था गरेर नेपालमा ऋण प्रवाह र उधारोमा सामान बिक्री गर्ने कार्य व्यवस्थित गर्न सकिन्छ। सरल किसिमले क्रेडिट कार्य प्राप्त गर्ने व्यवस्था भएमा कम आम्दानी हुनेले, आम्दानीभन्दा खर्च बढी हुनेहरूले वा वर्तमानमा आम्दानी कम भए तापनि भविष्यमा राम्रो आम्दानी हुन सक्ने सम्भावना हुनेहरूले सहजै ऋण प्राप्त गर्न सक्छन्। सहजै उधारो सामान खरीद गर्न सक्छन्। क्रेडिट कार्ड प्रयोगद्वारा ऋण प्रवाह र सङ्कलन दुवै काम सजिलो एवं प्रभावकारी बनाउन सकिन्छ।

नेपालमा तत्काल निजी क्षेत्रबाट क्रेडिट कार्ड कम्पनी (क्रेडिट कार्ड जारी गर्न संस्था) स्थापना हुने सम्भावना देखिंदैन। त्यसकारण पछि निजी क्षेत्रलाई हस्तान्तरण गर्नेगरी अहिले सरकारी स्वामित्वमा क्रेडिट कार्ड कम्पनी स्थापना हुन आवश्यक देखिन्छ। हालै आव २०८१–२०८२ को लागि प्रस्तुत गरिएको बजेटमा क्रेडिट कार्ड कम्पनी स्थापनाका लागि नीति, नियम निर्माण गरेको भए राम्रो हुने थियो।

ऋण प्रवाह र सङ्कलन कार्य प्रभावकारी बनाउन क्रेडिट कार्ड कम्पनी स्थापना गर्न जति आवश्यक छ, त्यतिकै आवश्यक ऋण लिने व्यक्तिहरूको ‘ऋण भुक्तानी विश्वसनीयता अनुगमन’ गर्ने संस्था स्थापना हुनु आवश्यक छ। ऋण भुक्तानी विश्वसनीयता अनुगमन गर्ने संस्थाले कुनै पनि ऋण वा उधारो लिने व्यक्तिको आर्थिक कारोबार वा ऋण फिर्ता गर्ने व्यवहारको अनुगमन गर्दछ। कुनै व्यक्तिले, आपूmले लिएको ऋण वा उधारो समयमा चुक्ता गरेको छ भने ऋण भुक्तानी विश्वसनीयता अनुगमन गर्ने संस्थाले उक्त व्यक्तिको सो असल आर्थिक व्यवहारको अभिलेख राख्दछ र उसलाई असल ऋणीको दर्जा दिन्छ। असल ऋणीको दर्जा पाएको व्यक्तिलाई ऋण लिन समस्या पर्दैन। त्यस्तो व्यक्तिले सजिलै, जहाँबाट पनि ऋण पाउन सक्छ। उधारोमा सामान खरीद गर्न सक्छ। यसविपरीत, यदि कुनै व्यक्तिले ऋण समयमा चुक्ता गरेको छैन, उसको आर्थिक व्यवहार पनि विश्वसनीय छैन भने सो कम्पनीले उसलाई शङ्कास्पद ऋणीको दर्जा दिन्छ। शङ्कास्पद ऋणीको दर्जा पाएको व्यक्तिलाई ऋण पाउन र उधारोमा सामान खरीद गर्न कठिन हुन्छ। यसरी ऋण भुक्तानी विश्वसनीयता अनुगमन गर्ने संस्थाले कुन ऋणी विश्वसनीय र कुन अविश्वसनीय भनी छुट्याइदिने हुनाले ऋण प्रवाह र सङ्कलन कार्य सजिलो र प्रभावकारी हुन पुग्दछ।

ऋण भुक्तानी विश्वसनीयता अनुगमन गर्ने संस्थाले ऋण लिन खोज्नेहरूको भीडबाट कुन व्यक्ति असल ऋणी हो र कुन व्यक्ति शङ्कास्पद भनी सजिलै छुट्याइदिन्छ। ऋण प्रभाव र सङ्कलन कार्यलाई सजिलो पारिदिन्छ।

ऋण भुक्तानी विश्वसनीयता अनुगमन गर्ने संस्थाले कुनै पनि व्यक्तिको आर्थिक कारोबारको विश्वसनीय अनुगमन गर्ने हुनाले ऋण लिने वा आर्थिक कारोबार गर्ने व्यक्ति जहिले पनि, समयमा ऋण भुक्तान गर्न तत्पर हुन्छ। वा त्यस किसिमको व्यवस्थाले गर्दा समयमा नै ऋण चुक्ता गर्न बाध्य हुन्छ।

ऋण भुक्तानी विश्वसनीयता अनुगमन गर्ने संस्था र क्रेडिट कार्ड कम्पनीको स्थापना गरेर नेपालमा ऋण प्रवाह र सङ्कलन कार्य प्रभावकारी बनाउन सकिन्छ। यो कार्यलाई सजिलो पार्न सकिन्छ। अहिलेजस्तो ऋण दिने संस्थाहरू डुब्ने समस्या धेरै हदसम्म कम पार्न सकिन्छ।

ऋण भुक्तानी विश्वसनीयता अनुगमन गर्ने संस्था र क्रेडिट कार्ड कम्पनीहरू स्थापना गर्ने हो भने ‘मिटर ब्याजी’, सहकारी ऋण मुद्दा, वित्तीय कम्पनीहरूमा मनोमानीजस्ता समस्या समाधान गर्न सकिन्छ।

क्रेडिट कार्डको व्यवस्था र प्रयोगले व्यक्तिको क्रयशक्ति पनि वृद्धि हुन्छ। कुनै व्यक्तिसँग तत्काल पैसा नरहेको तर भविष्यमा हुन सक्ने स्थिति देखिएको अवस्थामा क्रेडिट कार्ड प्रयोग गरेर उक्त व्यक्तिले सामान खरीद गर्न सक्छ। अथवा आप्mनो क्रयशक्ति बढाउन सक्छ।

क्रेडिट कार्डले उपरोक्त किसिमले व्यक्तिको क्रयशक्ति पनि वृद्धि गरिदिंदा बजारमा थप बिक्री हुने अवसर सृजना हुन्छ। अर्थात् बजारमा पनि सकारात्मक असर पर्छ। क्रेडिट कार्डले गर्दा बिक्रेताहरू थप बिक्री गरेर राम्रो आम्दानी प्राप्त गर्न सक्ने अवसर सृजना हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here