दिनेशकुमार मिश्र, वीरगंज, १६ जेठ/

जीतपुरसिमरा उपमहानगरपालिका छातापिपरास्थित अनवर पेट्रोल पम्पमा कोठा भाडामा लिएर बस्ने एकजना युवक बुधवार मृत अवस्थामा फेला परेका छन्। मृतक रौतहट जिल्ला माधवनारायण नगरपालिका माधोपुर निवासी हुन्। मृतक युवक अशोक साह करीब २७ वर्षका थिए।

उनी अनवर पेट्रोल पम्पको उत्तरपट्टि टाँसिएको हरि इन्जिनीयरिङ वक्र्स प्रालिमा ग्याँस सिलिन्डरको रेगुलेटर बनाउने काम गर्थे। आज बिहान मृतक युवकको साथी रामबाबू यादव कोठामा जाँदा अशोकलाई मृत अवस्थामा देखेर हल्ला गरेका थिए। मृतक युवकको शव शल्यपरीक्षणको लागि जिल्ला अस्पताल कलैया पठाइएको छ। घटनास्थलमा मृतक युवकको घाँटीमा मच्छरजाली बेरिएको र बसेको अवस्थामा रहेको तथा दुवै खुट्टामा रगत लागेको अवस्थामा भेटिएको थियो।

पतिको हत्या भएको मृतककी पत्नी सीता कुमारी बताएकी छन्। मङ्गलवार साँझ पति अशोकले २२ हजार तलब पाएको बताउँदै घर आएपछि नागरिकता बनाइदिने भनेर कुराकानी भएको तीन महीनाकी गर्भवती सीताले बताइन्। मृतक अशोकको शल्यपरीक्षणपश्चात् निजको घर माधोपुरमा दाहसंस्कार गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here