प्रस, वीरगंज, ९ जेठ/

श्रीसिया नदी प्रदूषणमा उद्योगहरूका साथै वीरगंज महानगरपालिका पनि जिम्मेवार देखिएको छ । वीरगंज महानगरपालिका अन्तर्गत एशियाली विकास बैंकको सहयोगमा निर्मित ढलहरूको प्रदूषित पानी पनि श्रीसिया नदीमा विसर्जन गर्ने गरिएको छ ।

नाला र घरका शौचालयबाट निस्किने फोहर पानी एडिबीले वीरगंज महानगर अन्तर्गतको तीन ठाउँबाट श्रीसिया नदीमा सीधैं विसर्जन गरेको देखिन्छ । रानीघाट, रामगढवानजीकको श्रीसिया पुल, ठाकुर राम बहुमुखी क्याम्पसपछाडिको श्रीसियामा शहरबाट निस्किने नाला तथा शौचालयको प्रदूषित पानी सीधैं विसर्जन गरिएको छ ।

यी क्षेत्रबाट श्रीसियामा विसर्जन भएको पानीको लागि एडिबीले वीरगंज महानगर–१ छपकैयामा पानी प्रशोधन केन्द्र निर्माण गरेको छ । श्रीसियाको पानी प्रशोधन गरेर श्रीसियामा बगाउने योजना रहे पनि त्यो देखाउनको लागि मात्र भएको छ । करीब आधा दशकअघि निर्माण भएको पानी प्रशोधन केन्द्र अहिलेसम्म सञ्चालनमा आएको छैन ।

पाँच वर्षसम्म क्षमता अनुसारको पानीको जगेडा नहुँदा यन्त्रहरू नबिग्रियोस् भनेर अहिलेसम्म परीक्षणमंै सञ्चालन भइरहेको छ । पानी प्रशोधन केन्द्र अहिले त्यत्तिकै बन्द छ । त्यहाँ कुनै चौकीदार पनि छैनन् । हप्ता, दुई हप्तामा एकपटक यन्त्रहरू नबिग्रियोस् भनेर सञ्चालनमा ल्याउने गरिएको छ ।

नगरप्रमुखका योजना सल्लाहकार प्रकाशमान सिंह अमात्यले पानी प्रशोधन केन्द्र सञ्चालनमा नरहेको बताए । उनले प्रशोधन केन्द्रलाई आवश्यक पानीको व्यवस्था नहुँदा सञ्चालनमा ल्याउन नसकिएको बताए । आधा दशकअघि नाला निर्माण गर्ने क्रममा केही प्रFविधिक त्रुटि भएको र अब त्यसलाई सच्याउने काम भइरहेको भन्दै उनले सहायक नालाहरूबाट मूल नालामा प्रदूषित पानी एकीकृत गर्ने र त्यहाँबाट पानी प्रशोधन केन्द्रमा पु¥याएर प्रशोधित पानी श्रीसियामा खसाल्ने योजना रहेको बताए ।

यता, श्रीसिया नदी प्रदूषणको विषयलाई लिएर सरकारीस्तरबाट पनि अनुसन्धान थालिएको छ । ललितपुरमा अध्ययनरत विद्यार्थीहरूको टोलीलाई श्रीसिया नदी प्रदूषणबारे अनुसन्धानको लागि खटाइएको छ । प्रारम्भिक अनुसन्धानमा विद्यार्थीहरूले श्रीसिया नदीमा प्रदूषित पानी विसर्जन गर्ने उद्योगहरूले पानी प्रशोधन गरेर मात्र विसर्जन गर्नुपर्ने सुझाव दिएका छन् । उनीहरूले उद्योगहरूबाट निस्किने प्रदूषित पानीलाई एकीकृत गरी प्रशोधन गरेर श्रीसियामा विसर्जन गर्नेतर्पm पनि अध्ययन गरिरहेका छन् । उनीहरूको यो प्रयास तत्काल लागू नहुने तर आगामी दिनमा सो कामलाई मूर्तरूप दिन सकिने वीरगंज महानगरका एकजना प्राविधिकले बताए ।

वीरगंज महानगर, जीतपुरसिमरा उपमहानगरपालिका र परवानीपुर गाउँपालिका गरी श्रीसिया नदीसँग जोडिएर ६३ वटा उद्योग सञ्चालनमा छन् ।

तीमध्ये १५ वटा उद्योगले मात्र पानी प्रशोधन केन्द्र जडान गरेका छन् । तर ती केन्द्रबाट पनि प्रशोधित पानी विसर्जन गर्ने कार्य भएको छैन । केही उद्योगहरूले मात्र पानी प्रशोधन गरेर श्रीसियामा विसर्जन गर्दै आएका छन् । धेरैजसो उद्योगले अहिले खाल्डो खनेर प्रदूषित पानी सञ्चय गर्ने गरेका छन् ।

यसरी खाल्डो खन्ने र प्राकृतिक तरीकाले पानी प्रशोधन गर्ने उद्योगहरूले साता, महीनामा भण्डारण गरिएको पानीलाई श्रीसियामा विसर्जन गर्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here