कामीरिता शेर्पाले ३०औं पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् । सगरमाथा आधार शिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार उनी बुधवार बिहान ७ बजेर ४९ मिनेटमा चुचुरोमा पुगेका हुन् ।
“कामीरिता शेर्पाले सगरमाथा शिखरमा ३०औं पटक पाइला टेकेर नयाँ कीर्तिमान कायम गरेका छन्,” सगरमाथा आधार शिविरबाट कार्यालय प्रमुख गौतमले भने । वसन्त ऋतुको जारी आरोहणमा उनले यसअघि धेरैपटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै नाममा रहेको कीर्तिमान तोडेका छन् ।
फिल्ड कार्यालय प्रमुख गौतमका अनुसार आजसम्म आरोही र शेर्पा सहयोगी गरी ४६० भन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् ।
सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको थामेका ५४ वर्षीय कामीरिता कुशल पर्वतारोही पथप्रदर्शक हुन् । सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । सगरमाथा आरोहणका ७१ वर्षे इतिहासमा सर्वाधि आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही कामीरिता शेर्पा हुनुहुन्छ । अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका थियो ।
गत वैशाख २८ गतेदेखि यो वर्षको आरोहण शुरू भएको हो । आरोहणका लागि ४१ आरोही समूहका ७५ महिला र तीनसय ३९ पुरूषसहित चार सय १४ जनाले अनुमति लिएका छन् । अनुमति लिएकामध्ये ७५ प्रतिशतले सफल आरोहण गरेका जनाइएको छ ।
कलाकार छिरिङ शेर्पा सगरमाथाको चुचुरोमा
कलाकार छिरिङ शेर्पाले विश्वको सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छ । मोडल तथा कलाकार शेर्पाले आइतवार सगरमाथाको चुचुरोमा पुगी त्यहाँ आफ्नो आगामी चलचित्र ‘टासिदेलेक’को पहिलो पोष्टरसहित विभिन्न सङघसंस्थाका झण्डा पनि फहराउनुभएको थियो ।
सगरमाथाको सफल आरोहणपछि उहाँले जलवायु परिवर्तनबाट हिमाली भू–भागमा परेको असरलाई न्यूनीकरण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आवाज उठाउनुपर्ने बताउनुभयो । सामाजिक सञ्जालमार्पmत आरोहणको सन्देश दिँदै शेर्पाले राज्यले सगरमाथाको आरोहणबाट प्राप्त गरेको आम्दानीको केही हिस्सा हिमाली भेगको विकासका क्षेत्रमा लगाउँनुपर्नेमा जोड दिनुभयो ।
सो सन्देशमा उहाँले शेर्पा समुदायलाई हिमाल आरोहीका रूपमा मात्र व्याख्या नगरी उनीहरूलाई राज्यका हरेक संयन्त्रमा जोडिन सक्ने वातावरण सिर्जना गर्न पनि माग गर्नुभयो । शेर्पाले यसै पनि भौगोलिकरूपमा विकट मानिएको हिमाली क्षेत्रलाई राज्यले विशेष प्राथमिकतामा राखेर योजना बनाइनुपर्ने भन्दै हिमाल आरोहीलाई तत्काल आधुनिक सूचना प्राप्त गर्नसक्ने संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
सन्देशमा कलाकार शेर्पाले हिमाली क्षेत्रको भाषा, कला, संस्कृति, रीतिरिवाज र चाडपर्वलाई जगेर्ना गरी राष्ट्रियस्तरमा यसको प्रवद्र्धन गर्नुुपर्ने तथा सगरमाथा आरोहणमा देखिएका चुनौती र चापलाई व्यवस्थित र मर्यादित बनाउन पहल गर्नुपर्ने उल्लेख गर्नुभयो ।