वीरगंज महानगर–३१ कोनियास्थित लक्ष्मीदेवी बाबूलाल हंसवाहिनी माविमा विद्यालय भवन निर्माणको विषयलाई लिएर शुरू भएको विवाद अहिले कुटाकुटको अवस्थामा परिणत भएको छ।
प्रदेश सरकारबाट रु ५० लाख विद्यालयमा चार कोठे भवन निर्माणको लागि विनियोजित भएको र सो भवन निर्माणका लागि प्रदेश सरकारले विद्यालय व्यवस्थापन समितिको अध्यक्षको अध्यक्ष्Fतामा पाँच सदस्यीय उपभोक्ता समिति निर्माण गर्न आदेश दिएको थियो। शुरूमा उपभोक्ता समितिमा बस्न केही व्यक्तिहरूले विवाद गरेका थिए। पछि प्रदेश सरकारले नै विद्यालय व्यवस्थापन समितिका अध्यक्षको अध्यक्षतामा उपभोक्ता समिति बनाउने निर्णय गरेको थाहा पाएपछि यससम्बन्धी विवाद मत्थर भएको थियो।
भवन निर्माणको लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्षको अध्यक्षतामा बनेको उपभोक्ता समितिमा प्रअ दिनेश चौरसिया सदस्यसचिव र तीनजना अभिभावक सदस्य छन्। अहिले भवन निर्माणको लागि बजेट विनियोजन मात्र भएको र काम शुरू भएपछि बजेटको २० प्रतिशत रकम आउने प्रअ चौरसियाले बताए।
उनले यसै विषयलाई लिएर पछिल्लो समयदेखि विवाद बढाइएको र हिजो एकजना पत्रकार विद्यालयमा आएर सोधपूछ गरेको र सो क्रममा दुईजना गाउँलेले सहायक प्रअ दीप्ति यादवलाई लक्षित गरेर अपशब्द प्रयोग गरेपछि सप्रअ यादवले ती दुईजनालाई इँटा उचालेर कुट्न खोजेकी थिइन्। सोही विषयलाई अहिले पत्रकारलाई कुट्न खोजिएको भनेर आइतवारको घटना सोमवार सामाजिक सञ्जालहरूमा भाइरल भएको छ। प्रअ चौरसियाले सप्रअ यादवले पत्रकारलाई लक्षित गरेर इँटा नउठाएको बताए। उनले घटनाको भोलिपल्ट अतिरञ्जित तरीकाले समाचार प्रस्तुत भएको आरोप लगाए।