सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगंजले चालू आर्थिक वर्षको १० महीनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ। उक्त कार्यालयले आर्थिक मन्दीको कारण बजार सुस्ताएको समयमा पनि लक्ष्यको ६०.७२ प्रतिशत राजस्व सङ्कलन गरेको जनाएको छ।
सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख डा रामप्रसाद मैनालीले चालू आर्थिक वर्षमा समग्र बजार सुस्ताएकोले अपेक्षाकृत राजस्व सङ्कलन हुन नसकेको बताए। “अहिले समग्र मुलुकको बजार सुस्ताएको छ”–उनले भने–“माग कम भएपछि आयात पनि स्वतः घट्ने भयो।” भन्सार विभागले कार्यालयलाई चालू आवको १० महीनाको अवधिमा रु ५४ अर्ब २७ करोड २१ लख ३५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो भने कार्यालयले १० महीनाको अवधिमा भने रु ४० अर्ब तीन करोड सङ्कलन गरेको छ।
प्रमुख भन्सार अधिकृत मैनालीका अनुसार सुक्खा बन्दरगाहमा सबै सामान कार्गाे रेलबाट ढुवानी हुने गरेको छ। विगतमा दैनिक तीनवटा कार्गाे रेलबाट मालसमान आउने गरेकामा हाल दुर्ई वटाबाट आउने गरेको छ। कार्गाे रेलले एकपटकमा ६० वटा कन्टेनर ल्याउने गरेको छ।
भन्सार विभागले कार्यालयलाई चालू आवमा रु ६५ अर्ब ९४ करोड एक लाख २२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य तोकिदिएको भए तापनि कार्यालयले भने चालू आवमा लक्ष्यको ७० प्रतिशतको हाराहारीमा मात्रै राजस्व सङ्कलन हुने जनाएको छ। प्रमुख भन्सार अधिकृत मैनालीले चालू आवमा आइरन ब्लेड र मदिराजन्य पदार्थको आयात कम भएकोले पनि राजस्व सङ्कलन घटेको बताए। “यहाँ विशेषगरी औद्योगिक कच्चा पदार्थ आयात हुने गर्छ तर विगतको तुलनामा यो वर्ष औद्योगिक कच्चा पदार्थ आयात भएको छैन”–उनले भने–“गर्मी याम शुरू हुँदा पनि एसी र छाताजस्ता सामानको आयात बढेको छैन, विगतमा यो सिजनमा एसी र छाताको आयात धेरै हुने गथ्र्याे यो वर्ष एसी र छाताको पनि आयात बढ्न सकेको छैन।”
कार्यालयले चालू आवको साउन महीनामा रु चार अर्ब सात करोड राजस्व सङ्कलन ग–यो। भदौ महीनामा रु चार अर्ब ५७ करोड र असोज महीनामा रु चार अर्ब ४६ करोड राजस्व सङ्कलन गरेको थियो। उक्त कार्यालयले कात्तिक महीनामा रु तीन अर्ब ६३ करोड, मङ्सिर महीनामा रु चार अर्ब २८ करोड, पुस महीनामा रु तीन अर्ब ७५ करोड राजस्व सङ्कलन ग–यो। कार्यालयले माघ महीनामा रु तीन अर्ब ७४ करोड, फागुनमा रु तीन अर्ब ६२ करोड, चैतमा चार अर्ब २८ करोड र वैशाखमा रु तीन अर्ब ५८ करोड राजस्व सङ्कलन गरेको जनाएको छ।
भन्सार विभागले कार्यालयलाई गत आवमा रु ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो तर उक्त कार्यालयले रु ४२ अर्ब ४० करोड २२ लाख ९३ हजार मात्र सङ्कलन गरेको थियो।