बाराको निजगढ नगरपालिका वडा नं ९ स्थित आदर्श सदाबहार सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रभित्र वन ऐन, कानूनविपरीत सञ्चालनमा रहेको अस्फाल्ट बेचिङ प्लान्ट सात दिनभित्र नहटाए जफत गर्ने सो वन समूहले जनाएको छ । गैरकानूनीरूपमा विगत चार वर्षदेखि वीरगंजको रञ्जन निर्माण सेवाले सो उद्योग सञ्चालन गरिरहेको छ ।
सो वन समूहको मङ्गलवारको बैठकले सात दिनभित्र सो अस्फाल्ट बेचिङ प्लान्ट नहटाए वनको ऐन, कानून अनुसार आवश्यक कारबाही गर्ने र त्यहाँ रहेका सम्पूर्ण मेशीन, गाडी, अन्य सरसामान जफत गर्ने जनाउँदै निजगढ नपा–९ का अध्यक्ष रामचन्द्र कटुवालको रोहबरमा वन समूहका अध्यक्ष रामप्रसाद पाण्डे, उपाध्यक्ष रामकुमार श्रेष्ठलगायतका पदाधिकारीहरूले त्यस उद्योगका प्रतिनिधि धर्मेन्द्र पटेललाई पत्र बुुझाएका छन् ।
“हाम्रो सामुदायिक वनभित्र कसले प्लान्ट चलाउन अनुुमति दियो ? हामीलाई थाहा छैन । यदि प्रमाण भए यथाशीघ्र वन समूहको कार्यालयमा लिखित जवाफसहित प्रमाण पेश गर्न सो उद्योगलाई पटकपटक पत्राचार र मौखिक जानकारी दिए पनि अहिलेसम्म कुनै जानकारी नआएकोले यो अन्तिमपटक पत्र दिइएको छ,” वन समूहका अध्यक्ष पाण्डेले बताए ।
प्लान्ट हटाउन अटेर गरे डिभिजन वन कार्यालय बारा र मातहतका वन कर्मचारी, स्थानीय प्रहरी प्रशासन, जनप्रतिनिधिलगायतको सहयोग लिई वन समूहको क्षेत्रभित्र रहेका मेशीन, गाडी लगायत अन्य सामानहरू नियन्त्रणमा लिई जफत गर्ने वन समूहका उपाध्यक्ष श्रेष्ठले बताए ।
वन समूहको क्षेत्रमा विनाइजाजत सञ्चालनमा रहँदै आएको सो प्लान्ट हटाउन पटकपटक वन समूहका पदाधिकारीहरूलाई मौखिक आग्रह र पत्राचारसमेत गरेको निजगढ सबडिभिजन कार्यालय, भमराका वन अधिकृत रघुनाथ दासले बताए ।
“हामीले मातहतका निकायलाई निर्देशन दिइसकेका छौं । अटेर गरे वा जबरजस्ती गरे वन ऐन, कानून अनुसार अविलम्ब कारबाही अघि बढाउन निर्देशन दिइसकेका छौं,” डिभिजन वन कार्यालय बाराका प्रमुख एवं डिएफओ विनोद सिंहले बताए ।