प्रस, निजगढ, २ जेठ/

कोल्हवी नगरपालिकास्थित बकैया खोलाबाट नदीजन्य पदार्थ उत्खनन गरी ओसारपोसार गर्ने चारवटा टिपरलाई बुधवार सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन सुरक्षा बेस निजगढले नियन्त्रणमा लिई कोल्हवी नपालाई कारबाही गर्न जिम्मा लगाएको छ ।

निजगढस्थित तामागढीबाट बा.प्र.०३–००१ ख १२३९, ना.८ख ३१५१, ना.७ख २९६९, प्रदेश २–०३–००१ क १८१८ नम्बरका नदीजन्य पदार्थ लोड टिपर नियन्त्रणमा लिइएको हो ।

जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्रकुमार साहको नेतृत्वमा हिजो मङ्गलवार खोलाको स्थलगत अनुगमन गरी कोल्हवी र निजगढ नगरपालिकास्थित बकैया खोलामा तत्कालै नदीजन्य पदार्थ उत्खनन कार्य रोक्न ती दुई स्थानीय तहलाई कडा निर्देशन दिए पनि कोल्हवीमा खोला ठेक्का सकार गर्ने सुवेदी निर्माण सेवाले अटेर गरेर नदीजन्य पदार्थ ओसारपोसार गरेपछि तामागढीबाट ती टिपरलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन सुरक्षा बेस निजगढका प्रमुख एवं सशस्त्र प्रहरी नायब उपरीक्षक श्रीराम कँुुवरले बताए ।

जिल्ला प्रशासन कार्यालय र सशस्त्र प्रहरी बल नेपाल बाराको आदेश अनुुसार अर्को आदेश नआएसम्म खोलामा कडाइका साथ निगरानी राख्न र जो कोहीले पनि निर्देशन अटेर गरेको पाइए तत्कालै पक्राउ गर्न आदेश आएको सप्रनाउ कुँवरले बताए ।

नियन्त्रणमा लिइएका टिपरहरू कोल्हवी नपाको निगरानीमा रहेको र ठेकेदार कम्पनीलाई कारबाही गरिने कोल्हवी नपाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुुइँटेलले प्रतिक्रिया दिए ।

सम्बन्धित खोलाको नदीजन्य पदार्थ उत्खननसम्बन्धी वातावरणीय परीक्षण प्रतिवेदनले तोकेको मापदण्डविपरीत उत्खनन कार्य भएपछि कोल्हवी र निजगढ नपास्थित बकैया खोलामा पूर्णरूपमा उत्खनन बन्द गरिएको बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here