जनकपुरधाम, २ जेठ/रासस

सिंचाइका लागि महोत्तरी र धनुषाका किसानले जडान गरेका आठवटा डीप ट्युवेलका ट्रान्सफर्मर चोरी भएका छन् । ट्रान्सफर्मर चोरी भएपछि सिंचाइ गर्न नपाएको उनीहरूले बताएका छन् ।

मधेस प्रदेश भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय महोतरीद्वारा महोत्तरी तथा धनुषाका विभिन्न ग्रामीण क्षेत्रमा जडान गरिएको डीप ट्युवेलका ट्रान्सफर्मर चोरी भएको सो कार्यालयले जनाएको छ ।

                दुवै जिल्लाका डीप ट्युवेलवाट चोरी भएका ट्रान्सफर्मर खोजी गर्न प्रहरी प्रशासनलाई पटकपटक लिखित एवं मौखिक जानकारी गराए पनि कुनै पहल नभएको सिंचाइ विकास कार्यालयका अधिकारीले गुनासो गरेका छन् ।

चालू आर्थिक वर्षमा पाँचवटा तथा गत आवमा तीनवटा ट्रान्सफर्मर चोरी भएका हुन् । कार्यालयका इन्जिनीयर अमलेश यादवका अनुसार चालू आवमा औरही गाउँपालिका–२, देउरीपरवाहा धनुषा, नगराईन नपा फूलगामा धनुषा, मटिहानी नगरपालिका–२ धीरापुर महोत्तरी, भङ्गाहा नगरपालिका–४ पशुपतिनगर महोत्तरी, बलवा नपा–९ अध्ययनपुर महोत्तरीमा जडान गरिएका डीप ट्युवेलका ट्रान्सफर्मर चोरिएका हुन् ।

त्यसैगरी, गत आवमा धनुषाधाम नपा–४ धनुषा, हंसपुर नपा–५ सुुगानिकास धनुषा तथा नगराईन नपा फूलगामा जडान भएका ट्रान्सफर्मर हराएका थिए । एउटा ट्रान्सफर्मर जडान गर्न रु पाँच लाख खर्च लाग्ने गरेको छ । धनुषा र महोत्तरीमा ४१ वटा डीप ट्युवेल जडान गरेर सिंचाइ भइरहेको छ । एउटा डीप ट्युवेलबाट ४० हेक्टर जमीनमा सिंचाइ हुने गरेको छ । एउटा डीप ट्युवेलको निर्माण तथा सञ्चालनमा रु ७० देखि ९० लाखसम्म खर्च हुने गरेको छ ।

उक्त कार्यालयबाट जडान भएका ८० वटा पावर ड्रिल ट्युवेल प्रयोग गरी सिंचाइको व्यवस्था भएको छ । एउटा ड्रिल ट्युवेलबाट तीन हेक्टर जमीन सिंचाइ गर्न सकिन्छ । त्यसको लागत रु १५ लाख छ । यहाँका किसानले डीप ट्युवेल जडानका निम्ति अनुरोध गर्दै आएका कार्यालय प्रमुख नयन पोखरेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here