पूर्णप्रसाद मिश्र

काठमाडौं, २ जेठ/रासस

ज्योतिष एवं इतिहासका विद्वान् नयराज पन्तले खोलेको पाठशालाका पहिलो चरणका शिष्यमध्ये थिए, इतिहासकार ज्ञानमणि नेपाल । पन्तले खोलेको पाठशालापछि संशोधनमण्डलमा परिणत भएको थियो । पन्तले भारतको बनारसबाट ज्योतिष विषयमा उच्च शिक्षा हासिल गरी फर्केपछि विसं १९९५ मा संस्कृत पाठशाला खोलेका थिए । यसैलाई पछि संशोधनमण्डल नामकरण गरिएको थियो ।

पन्तले स्थापना गरेका गुरुकुलीय पद्धतिको पाठशालामा अध्ययन गरेकाले इतिहासकार नेपालसँग कुनै शैक्षिक प्रमाणपत्र त थिएन । नयराज पन्तको गुरुकुलमा अध्ययन गर्ने शिष्यसँग औपचारिक प्रमाणपत्र नभए पनि अहिले विभिन्न क्षेत्रमा अब्बल भएर काम गरिरहेका भेटिन्छन् । गुरुकुलमा अध्ययन पूरा गरेपछि नेपालले पशुपति क्षेत्रस्थित मृगस्थलीमा योगी नरहरिनाथलगायतले स्थापना गरेका संस्कृत पाठशालामा पढाए ।

एक वर्षसम्म मृगस्थलीको गुरुकुलमा पढाएपछि नेपाल गृह जिल्ला भोजपुर फर्के । भोजपुरमा केही वर्ष काम गरेपछि उनी काठमाडौं फर्केर नेपाल तथा एशिया अध्ययन केन्द्र (सिनास)मा काम गर्न थाले । संस्कृत साहित्यमा नेपाल अब्बल थिए । यसले गर्दा प्राचीनकालमा संस्कृत भाषामा लेखिएका कागजातको अध्ययन गरी इतिहासलेखनमा उनलाई मदत पुग्यो । नयराज पन्तले ‘मेरो ज्योतिषको उत्तराधिकारी भोलानाथ हो, वाङ्मयपट्टि ज्ञानमणि हो’ भनेको सुन्नेहरू अहिले पनि छन् ।

उनका धेरै समकालीनले यो सम्झना सुनाउने गरेका छन् । नेपाल प्रमाण पुर्याएर इतिहास लेख्ने प्रतिभाशाली लेखकमा पर्छन् । उनीसँग नेपालको इतिहास र सांस्कृतिक विषयमा धेरै ज्ञान थियो । नेपालका नेपाल निरूपण, नेपाल निरूक्त र नेपालको पूर्वमध्यकालको इतिहासमा इतिहाससम्बन्धी धेरै विषयवस्तु समेटिएका छन् ।

यी उनका पढ्नैपर्ने पुस्तकमा पर्छन् । इतिहास विषय अध्ययन गर्ने विद्यार्थीको कमी भयो भन्ने चर्चा चलिरहेका बेला नेपालको लगनशीलताले आकर्षित गरेर उनीसँग अध्ययन गर्न जानेको सङ्ख्या पनि उल्लेख्य थियो ।

‘राज्यले उपयोग गर्न सकेन ज्ञानमणिको ज्ञान’

पछिल्लो समय नेपालसँग अध्ययन अनुसन्धानमा सक्रिय भएका हरिप्रसाद सोडारी उनमा भएको ज्ञान राज्यले उपयोग गर्न नसकेको बताउँछन् । इतिहास र संस्कृतिसम्बन्धी गहिरो ज्ञान भएका नेपालमा ऐतिहासिक सन्धिपत्रलगायत सामग्री अध्ययन गर्ने क्षमता थियो । उनीबाट यसको ज्ञान पुस्तान्तरण गराउन भने राज्य नै चुकेको उनी बताउँछन् ।

उनी नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य भएका बेला इतिहाससम्बन्धी धेरै काम भएको थियो । उनको बहुचर्चित पुस्तक ‘नेपालको महाभारत’ साझा प्रकाशनले प्रकाशित गरेको थियो । अहिले बजारमा पाइँदैन । यसको पुनः प्रकाशन नहुँदा धेरैले चाहेर पनि अध्ययन गर्न नपाएको सोडारी बताउँछन् । इतिहासकार नेपालले लेखेका पहिलो पुस्तक ‘ऐतिहासिक पत्रसङ्ग्रह भाग १’ हो । नेपाली इतिहासको अध्ययन अनुसन्धानका लागि यो महŒवपूर्ण पुस्तक मानिन्छ । २०१४ सालमा नै लेखिएको यस पुस्तकमा त्यस बेलासम्म नेपालमा प्रकाशमा नआएका विशेषगरी मध्य र शाहकालका ऐतिहासिक पत्रहरूको व्याख्या गरिएको छ । यसबाट त्यस समयको अध्ययन, अनुसन्धान गर्न चाहनेका लागि महत्वपूर्ण सन्दर्भ सामग्रीका रूपमा यो स्थापित भएको छ ।

पुस्तकमा लेखिएका प्रमाणको सक्कल कागजातको तस्बिर पनि छापिएको छ । धनबज्र बज्राचार्यसँगको सहलेखनमा यो पुस्तक तयार भएको हो । बज्राचार्य पनि नयराज पन्तकै शिष्य थिए । पन्तले बढी रुचाएका शिष्यमा बज्राचार्य र नेपाल थिए । नेपालको प्राचीन इतिहासका विषयमा नेपालले लामो समय कलम चलाए । उनले साहित्यिक कृति पनि उत्तिकै प्रकाशन गरे ।

सिनासबाट उनका धेरै पुस्तक प्रकाशन भएका छन् । ‘नेपालको पूर्वमध्यकालीन राजनीतिक इतिहास’ तिनैमध्येको पुस्तक हो । त्यस कालखण्डबारे एउटा लेख पनि नभएका बेला नेपालले नेपाली अनुसन्धाता र इतिहासका विद्यार्थीका लागि अध्ययन सामग्री उपलब्ध गराइदिएको सम्झन्छन्, इतिहासविद् त्रिरत्न मानन्धर । ‘नेपाल निरूक्त’ र ‘नेपाल निरूपण’ पनि उनका महŒवपूर्ण पुस्तक हुन् । यी पुस्तक उनका लेखका सङ्कलनका रूपमा रहेका छन् । ती सबै मौलिक स्रोतमा आधारित छन् । जसमा प्रमाणिक कुरा मात्र राखिएकाले अनुसन्धाताका लागि उपयोगी मानिन्छन् । हरेक पुस्तक आफैं अनुसन्धान गरेर लेख्ने उनको मौलिकशैली थियो । अन्यत्र प्रकाशित स्रोतमा उनी भर पथ्र्येनन् ।

आफैं खोजी गरेर पुष्टि भएपछि मात्र त्यसलाई पुस्तकको रूप दिने गथ्र्ये । नेपालले परराष्ट्र मन्त्रालयका कागजपत्र खोजेर तिनको व्याख्या गरी पुस्तक लेखेका छन् । उनले काठमाडौंको गुठीका बारेमा अनुसन्धान गरी लेखिएको लेख पनि चर्चित छ । नेपाल र भोटबीचको सांस्कृतिक सम्बन्धका विषयमा पनि उनले पुस्तक लेखेका छन् ।

नेपालको सबैभन्दा धेरै चर्चित, बढी पढिएको र धेरैले सन्दर्भसूचीका रूपमा उल्लेख गर्ने गरेको पुस्तक ‘नेपालको महाभारत’ भएको इतिहासविद् मानन्धर बताउँछन् । सो पुस्तकमा उनले शाहकालका विभिन्न षड्यन्त्रका विषयलाई समेटेका छन् । सिनासले प्रकाशन गर्ने जर्नल ‘कन्ट्रिब्यूशन टू नेप्लिज स्टडी’लगायत पत्रपत्रिकामा पनि उनका धेरै लेख छापिएका छन् ।

वैचारिक बहसमा सक्रियतापूर्वक सहभागी हुने निर्भीक समीक्षक पनि उनी थिए । इतिहासको खोज, अनुसन्धान गरी जीवनको अन्तिमसम्म पनि उनले लेखिरहे । रोगले थलिए पनि उनले अध्ययन, अनुसन्धान र लेखनलाई बिट मारेनन् । फलस्वरूप उनले आफ्नो नाम अनुसारको काम भनेझैं ज्ञानको मणि बनेर नेपाली इतिहासमा तीन दर्जनभन्दा बढी कृति दिएर गए ।

मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित नेपालको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरस्थित मनमोहन कार्डियोभास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा यही जेठ १ गते मध्याह्नमा निधन भएको थियो । इतिहासकार नेपालका दुई छोरा छन् । उनकी पत्नीको भने केही वर्षअघि नै निधन भइसकेको उनका भाइ एकमणि नेपालले जानकारी दिए ।

नेपाललाई एक सिद्धहस्त, नेपालको सांस्कृतिक इतिहासका ज्ञाता र खोजकर्ताको रूपमा चिनिन्छ । भोजपुरमा विसं १९८९ माघ शुक्लपञ्चमी अर्थात् श्रीपञ्चमीका दिनमा जन्मिएर खोटाङमा कार्यक्षेत्र बनाइ कौमुदी, चण्डीबाट शिक्षाआर्जन गर्न शुरू गरेका थिए । काठमाडौंमा आई इतिहासप्रति अभिरुचि राखेर नेपालले अध्ययन गरी इतिहाससम्बन्धी अनेकौं कृति प्रकाशन गरेका छन् । जसमा ‘नेपाल निरूपण’, ‘नेपाल निरूक्त’, ‘नेपालको महाभारत’, ‘पशुपतिनाथको दर्शन, स्पर्शन, पूजन’, ‘पुराना कविता’लगायत करीब तीन दर्जन कृति प्रकाशित भएका लेखक एवं साहित्यकार सोडारीले जानकारी दिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य रहिसकेका नेपाललाई नेपालको इतिहासमा एक अन्वेषक इतिहासकारका रूपमा स्मरण गरिनेछ । इतिहास कसैलाई खुशी बनाउन भन्दा पनि वास्तविकता जे हो, त्यही जनसमक्ष ल्याउने विषय हो भन्ने नेपालको मूलमन्त्र थियो । यही मन्त्रबाट प्रेरित भएर उनले नेपालको ऐतिहासिक अध्ययन र लेखन गरेर बिदा भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here