उत्पादनमूलक, सेवामूलक, रोजगारमूलक र नाफामूलक थुप्रै कल कारखाना र उद्योगहरू सरकारी उदासिनताका कारण बन्द भएका छन्। कबाडमा परिणत भएका छन्। वीरगंजमैं वीरगंज चिनी कारखाना, कृषि औजार कारखाना र जनकपुरधामको जनकपुर चुरोट कारखाना यसका जिताजागता प्रमाण हुन्। समय अनुसार नीति नियम नबनेकाले र सरकारले उपेक्षा गर्दै आएकाले उद्योगधन्दा बन्द गर्नुपर्ने स्थिति आइसक्यो भनेर स्थानीय उद्योगपति कराएकाकरायै छन् तर सरकार भने आँखा, मुख, कान बन्द गरेर बसेको छ। निजी क्षेत्रले त कतिपय ऐन नियमलाई काला कानूनको संज्ञासमेत दिएका छन्। कतिपय निजी कलकारखाना र उद्योगधन्दाहरू राजनीतिक भर्ती केन्द्रमा परिणत भएर मर्नु न बाँच्नुको दोसाँधमा घिटीघिटी भइसकेका छन्। अलिअलि सुधार गरेर चलनचल्तीमा आउन सक्ने उद्योगहरूलाई समेत सरकारले थिलथिलो पारेर अधमरा बनाउन खोजेको देखिन्छ। उद्योगधन्दा चलायमान हुन नसक्दा युवा शक्ति विदेश पलायन भइरहेको छ। दक्ष र अदक्ष दुवैखाले जनशक्ति मरुभूमिको तातोमा रोजगार खोज्दै भौंतारिइरहेका छन्। सङ्क्षेपमा भन्ने हो भने उद्योगी र जनशक्ति–श्रमशक्ति सबैका हालत ‘ये जीना भी क्या जीना है लल्लु’ जस्तै बनाइएको छ। अपराधीसरह बनाइएका सरकारी नीति नियमले गर्दा स्थानीय उद्योग व्यापारीहरू अब धान्न र टिक्न असमर्थ छौं भन्न थालेका छन्। कुनै बेला सरकारलाई तूँ डाल–डाल, मैं पात पात भन्ने व्यापारीहरू अहिले हाय बाप–माई बाप गर्दैछन्। बाँदरले आफ्नो घर पनि बनाउँदैन अर्काको पनि बाँकी राख्दैन भनेझैं सरकारले आफ्नो मातहतका सरकारी कलकारखाना, उद्योगधन्दा धराशायी गराएपछि अब निजीलाई समेत भद्रगोल बनाउँदैछ। आफै राँड देशै भाँड।
स्थानीय रैथाने स्वदेशीको अगाडि विदेशी पूँजी त नयाँ नौ दिन पुराना सौ दिन जस्तो होइन र ? तर पनि सरकारले तेस्रो लगानी सम्मेलन काठमाडौंमा भव्यताका साथ सम्पन्न ग–यो। युवा श्रमशक्ति विदेशमा, स्वदेशी उद्योगी निराश अनि नाजुक नेपाली अर्थतन्त्रबारे हामीभन्दा बढी भित्री चासो राख्ने र जानकार विदेशीहरूले कसरी नेपालमा लगानी गर्न पाउकष्ट गर्लान्। नेपालको अति अस्थिर छेपारे पाराको सरकारबारे पनि त सरोकारवाला विदेशी पूर्ण जानकार नै छन्। अनि मरणासन्न हालतमा पुगेको स्वदेशी उत्पादन र उद्योगलाई प्रत्यक्ष असर गर्ने लगानीको अर्थ नै के होला ? नेपालले त विदेशीलाई यहाँ लगानीको वातावरण छ भनेर विश्वासमा लिन सकेको पनि छैन। के कोही आफ्नो अन्तर्राष्ट्रिय ख्याति र मोटो पूँजी बालुवामा पानी हालेझै छर्न राजी होला र ? लगानीका अप्ठेरो ऐन कानूनलाई अध्यादेशमार्फत भए पनि संशोधन गरेर मार्ग प्रशस्त गर्न स्वदेशी व्यापारीहरू घाँटी सुकाउँदै कराएको करायै छन्। सरकारको कानमा बतास लागेको छैन। लगानीमैत्री वातावरणको सन्देश जब स्वदेशीले पाएका छैनन् भने विदेशी लगानीकर्ताको के कुरा ? नेपाल भित्रिने विदेशी लगानी अटोमेशन प्रणालीबाट भिœयाउने चर्चा छ, जबकि अहिलेसम्म नेपालमा अटोमेशन प्रणालीको कानूनको अत्तोपत्तो नै छैन। त्यस्तै अङ्ग्रेजी भाषाको यो अटोमेशन सिस्टमको नेपाली रूपान्तर धेरैले बुझेको देखिंदैन।
त्यस्तै पूर्वी नेपालबाट १६ ट्रक बङ्गलादेश पठाएको चियापत्ती भारतले मापदण्ड अनुसारको चेकजाँच भन्दै भारतमैं लावारिस बनाउँदै रोकेर राखेको छ। स्वदेशी चिया उद्यमीलाई तत्काल सहयोग गर्नुको सट्टा सरकार लाटोले केरा हे–याजस्तै व्यवहार गर्दैछ। धन्य, हात लाग्यो शून्य भएपनि सरकारले कतारका अमीर थानीलाई भालेपोथी दुर्ई थान हात्ती उपहार दिन भ्यायो। दुर्ईवटा सम्झौता र ६ वटा समझदारी गर्न भ्यायो। अतिथि देवो भवः भन्ने नेपालीले कतारका अमीरको तहे दिलले स्वागत गरे। अमीरले पनि कतारको विकासमा नेपाली मजदूरले ५० डिग्रीको तापक्रममा सेवा गरेर गुण लगाएको भन्न भ्याए। ईश्वर अल्लाह तेरो नाम, सबको सन्मति दे भगवान् १