तरकारी किसानको लागि दिइएको तालीम प्रभावहीन

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, सेढवा, ३१ वैशाख/

पर्साका ग्रामीण किसानहरूलाई मौसमी तथा बेमौसमी तरकारी उत्पादनका लागि विभिन्न तालीमको आयोजना गर्दै आए पनि प्रभावकारी हुन सकेको छैन । किसानहरूको जीवनस्तर उकास्न विभिन्न पालिकाहरूले लाखौं रकम खर्च गरी विभिन्न तालीम कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् । तर तालीम कार्यक्रमबाट अहिलेसम्म कोही पनि व्यावसायिक तरकारी उत्पादन गर्ने सिपालु किसान बन्न सकेका छैनन् ।

जिल्लाका ठोरी, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका तथा पर्सागढी  नगरपालिकासहित अन्य पालिकाले सङ्घीयता लागू भएको करीब सात वर्षमा तालीम कार्यक्रमका लागि करोडौं रकम खर्चेका छन् । तर उपलब्धि भने शून्य देखिन्छ । अहिले पनि किसानहरू परम्परागत तरीकाले तरकारी उत्पादन गरिरहेका छन् । युवाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले जनप्रतिनिधिहरूले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्नको लागि तालीम दिलाएकाहरूले अहिलेसम्म केही गर्न सकेका छैनन् ।

लामो समयदेखि तरकारीखेती गर्दै आएका पटेर्वासुगौली गाउँपालिका वडा ४ दाप सुगौली निवासी जगतनारायण पञ्जियारका अनुसार पालिकाले बजेट सिध्याउन तथा कार्यकर्तालाई पाल्नका लागि मात्र तालीमको आयोजना हुने गरेको आरोप लगाए ।

तालीममा लक्षित वर्गलाई नसमेटी जनप्रतिनिधिहरूले आआफ्ना आसपासे तथा पार्टी कार्यकर्ताहरूलाई पठाउने गरेको पञ्जियारले जिकिर गरे । तालीममा सहभागीहरूले पनि भत्ता खानेबाहेक अरू कुनै पनि क्रियाकलाप नगर्दा पालिकाको लाखौं रकम स्वाहा भएको पञ्जियारले बताए । गाउँपालिकाकै योजना अन्तर्गत लाखौंको लगानीमा बेमौसमी तरकारी उत्पादनका लागि निर्माण गरिएका सेड प्रयोगविहीन रहेको उनले बताए ।

यसका साथै पालिकाहरूले  युवाहरूमा रोजगार सृजना गर्ने उद्देश्यले अन्य विभिन्न कार्यक्रममा वार्षिक लाखौं रुपियाँ खर्च गर्छन् । पालिकाहरूले अगरबत्ती, साबुन, अचार, मैनबती बनाउने तालीम, ब्यूटीशियन तालीम, मोबाइल बनाउने तालीम, इलेक्ट्रिसियन तालीम, अल्मुनियमसम्बन्धी तालीमदेखि लोकसेवा आयोगको तैयारी कक्षाको लागि पनि तालीम कार्यक्रम सञ्चालन गरेका छन् । तर यी तालीमहरूमा सहभागी कतिजना युवा आत्मनिर्भर बन्न सकेका छन् ? पञ्जियार प्रश्न गर्छन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस