दीर्घकालीन उपाय खोजौं

पर्साको जङ्गल क्षेत्रसँग जोडिएका ठोरी, पटेर्वासुगौली, जीराभवानी, जगरनाथपुर र पर्सागढी नगरपालिकामा बाघलगायतका जङ्गली जनावरहरूको आक्रमण नौलो होइन । ठोरी र पटेर्वासुगौली गापामा बाघ आक्रमणमा परेर केही व्यक्तिले ज्यान पनि गुमाएका छन् भने पर्सा, बारा र रौतहटमा बाघको आक्रमणबाट पशु चौपायाहरूको पनि क्षति भएको छ । वैशाख २९ गते शनिवार पर्सा जिल्लाको सखुवाप्रसौनी गापा–१ औराहामा बाघको आक्रमणमा परेर एकजना स्थानीय घाइते भए । पर्सा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय वन क्षेत्रसँग जोडिएको सखुवाप्रसौनीमा साँझ बाघ देखा परेको थियो । स्थानीय भीमबली महतो मकैखेतमा गएका थिए र उनले बाघ हेरेपछि धपाउने साहस देखाए । त्यत्तिखेर उनी एक्लो भएकाले बाघको आक्रमणको शिकार बने, घाइते भए । बाघले आक्रमण गरेको चाल पाएपछि स्थानीय सक्रिय भए र महतोलाई बाघको आक्रमणबाट जोगाउन बाघमाथि आक्रमण गरे अनि स्थानीयको आक्रमणले बाघको मृत्यु भयो ।

पर्सा र बारामा पर्ने पर्सा राष्ट्रिय निकुुञ्जको विस्तारित क्षेत्रमा बाघको आतङ्क केही महीनादेखि बढ्दो छ । निकुञ्ज विस्तार हुुनुुअघि १८ वटा बाघ थिए भने अहिले ४१ वटा पुुगेको सन् २०१८ को बाघ गणनाको तथ्याङ्कले देखाएको छ । बाघको आक्रमण बढेसँगै सुुरक्षित भई बस्न निकुञ्ज कार्यालयका कर्मचारीहरूले स्थानीयलाई सजग बनाउँदै केही स्थानमा क्यामेरा जडान गरेर बाघको गतिविधि निगरानी शुरू गरेका छन् । पहिले निकुञ्जको कुल क्षेत्रफल ४९९ वर्ग किलोमिटर थियो भने अहिले वन क्षेत्र थप गरिएपछि ६२७ वर्ग किलोमिटरमा निकुुञ्ज विस्तार भएको छ । निकुुञ्जको वन क्षेत्र बस्ती आसपास फैलिएसँगै बाघ, हात्ती, चितुुवा, भालुु जस्ता वन्यजन्तुुको आतङ्क पनि बढेको छ । वन क्षेत्रमा निकुञ्जले तारबार लगाएर जङ्गली जनावर मानवबस्ती र राजमार्गमा प्रवेश नगरून् भन्नेतर्फ प्रभावकारी पहल गरेको देखिन्न । बाराको अमलेखगंजदेखि पथलैयासम्म र पथलैयादेखि निजगढसम्मको वन क्षेत्र प्रायः खुला छ र यो क्षेत्रमा सवारीसाधनको ठक्करबाट जङ्गली जनावरहरू मर्ने र घाइते हुने गरेका छन् । यसैगरी, जङ्गली जनावरबाट पनि बेलाबखत आक्रमण हुँदै आएको छ । जङ्गली जनावरहरूको संरक्षणका साथै उनीहरू मानवबस्तीमा प्रवेश गरेर क्षति नगरून् भन्ने जिम्मेवारी पनि निकुञ्जकै हो ।

पर्सामा चितवन र पर्सा राष्ट्रिय निकुञ्जको वन क्षेत्र पर्छ । बारामा भने भर्खरै केही वर्षदेखि पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्र विस्तार भएको हो । चितवन राष्ट्रिय निकुञ्जले पर्सा जिल्लाका मानवबस्ती जङ्गली जनावरहरूको उपद्रोको शिकार नहोस् भनेर वन क्षेत्रसँग जोडिएका मानवबस्तीमा विद्युतीय तारबारको व्यवस्था गरेको छ भने केहीमा तारबार लगाएको छ । पर्सा राष्ट्रिय निकुञ्जले पनि आफ्नो क्षेत्रमा केही विद्युतीय तारबार लगाएको छ तर त्यसको बर्सेनि मर्मतसम्भार नभएर प्रयोगविहीन अवस्थामा छ । जङ्गली जनावरहरूबाट हुने क्षति न्यूनीकरणका लागि सामुदायिक वन उपभोक्ता समितिहरू, वन कार्यालय र निकुञ्जसमेतको पहलमा दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने देखिन्छ । स्थानीय पालिकाहरूले पनि तारबार नभएको जङ्गल क्षेत्रमा तारबारको व्यवस्था गर्ने, गर्न लगाउने हो भने केही वर्षमा यो समस्याबाट छुटकारा पाइन्थ्यो । तर अहिलेसम्म यस प्रकारको पहल नहुँदा बर्सेनि समस्यासँग जेलिनुपरेको छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्