ऋग्वेदमा ऋतु

आदि साहित्य भनेर वेदलाई नै मान्नेहरूको सङ्ख्या ठूलो छ । वेदलाई कतिपयले ब्रह्माले त कतिपयले ऋषिहरूले रचना गरेको मान्ने गरेका छन् । यसलाई देववाणी पनि भन्ने गरिएको पाइन्छ । जसले जे भने पनि वेदलाई पूर्वीय धर्म, दर्शन तथा अध्यात्मको आदि ग्रन्थ मान्नेहरू धेरै छन् ।

‘वेद’ शब्द ‘विद्’ धातुबाट निष्पन्न भएको हो । यसको अर्थ ‘ज्ञान, विचार, सत्ता एवं लाभ’ हुन्छ । यीमध्ये ‘ज्ञान’को अर्थमा वेदलाई सर्वत्र लिने गरिएको पाइन्छ । यसैले ‘वेद’लाई ‘ज्ञान’ पनि भनिएको वा मानिएको पाइन्छ । अनि ‘ज्ञान’को अर्को नाम नै वेद हो भन्ने पनि उल्लेख पाइन्छ । वेद त्यो ज्ञान हो, जुन ब्रह्माण्डको विषयमा सबै विचारको स्रोत हो, जुन सदैव अस्तित्वमा रहन्छ र जुन सबै कालमा मानिसका लागि उपयोगी वस्तुहरूको प्राप्ति र त्यसको उपयोगको उपाय बताउँछ । ‘वेद’लाई ‘जान्नु’को अर्थमा पनि लिइएको पाइन्छ । जहाँ ज्ञानको अपेक्षा चाहना वा आशा हुन्छ, त्यहाँ दार्शनिक वेदको उपस्थिति हुन्छ । यसरी निष्कर्षमा ‘वेद’ शब्दको अर्थ ‘आध्यात्मिक ज्ञान’ हुन जाने देखिन्छ किनभने वेदमा सबै ज्ञान छ तर सबैको मूलमा भने अध्यात्म नै रहेको छ ।

‘सुनिएको ज्ञान’ भनेर अर्थ लगाउनेहरूको सङ्ख्या पनि कम छैन । यस मतावलम्बीले ‘वेद’को अर्थ ‘श्रुति’ लगाउँँछन् । अर्थात् वेदलाई श्रुति मान्छन् । वेदको रचना वा सिर्जना कसैले गरेको नभई कैयौं शताब्दीमा मानवजीवनमा सुनिएका सारहरूलाई ऋषिहरूले सङ्कलन गरेका हुन् ।

अनि यो पनि भन्ने गरिन्छ कि वेद अनन्त छ र वेदको ज्ञानको आदि र अन्त्य नै छैन । वेदको ज्ञानलाई ऋषि वेदव्यासले चार भागमा विभाजन गरेका छन् । यही चार व्यवस्थित विभाजन चार वेदको रूपमा देखिएका हुन् । यसैले धेरैले वेदलाई महर्षि वेदव्यासको रचना मान्ने गर्छन् । वेदव्यासले ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी वेदलाई चार भागमा विभाजन गरेका छन् ।

वेदको रचना वा सङ्कलनको समयको विषयमा पनि विभिन्न मत रहेका छन् । वेदलाई कतिपयले अनादि सिर्जना मान्छन् त कतिपयले इसापूर्व १८ सय वर्षअघि रचना भएको मान्छन् । वेदको रचना वा सङ्कलनमा करीब आठ सय वर्ष लागेको पनि मानिन्छ तर कतिपयले यो पनि मानेका छन् कि यो निकै पछिको हो । जेहोस्, अनेक प्रकारले यसको विषयमा जुन चर्चा हुने गरेको छ, यसको महŒवलाई बढाउने काम पनि गरेको छ । तर सबैको मतैक्य यस कुरामा छ कि चार वेदमध्ये सबैभन्दा पुरानो ऋग्वेद हो ।

ऋग्वेदलाई आन्तरिकरूपमा मण्डल र सूक्तमा विभाजन गरिएको छ । मण्डल भनेको मुख्य खण्ड र सूक्त भनेको सहायक खण्ड हो । सूक्तलाई पनि विभिन्न श्लोकमा विभाजन गरिएको छ, जसलाई ऋचा भन्ने गरिन्छ । मुख्यतः संस्कृत भाषामा रहेकोले साधारण मानिसले वेदलाई पढेर बुझिहाल्न सजिलो छैन ।

ऋग्वेदमा विभिन्न देवदेवीका नाम छन् र तिनको महŒवको बारेमा चर्चा गरिएको छ । वास्तवमा शान्तचित्त ऋग्वेद पढ्दा, त्यो जमानामा कति धेरै कुरा लेख्न सकिएको रहेछ भनेर गर्वको अनुभूति हुन्छ । जीवन र जगत्को विशाल अध्ययन देखेर अचम्भित र विस्मित हुन पुग्छ मन । अग्नि तथा जलको महŒव अहिले हामीले बुझेको भन्दा त्यो जमानामा कम बुझिएको होइन रहेछ । समयको महŒवलाई अहिले यदि अर्थसित तुलना गरेर हेर्छौं भने यसबाहेकको सन्दर्भमा पहिले जति अहिले अझै बुझ्न बाँकी नै छ भन्ने जस्तो लाग्छ ।

वीरस्य नु स्वश्वयं नासः प्र नु वोचाम विदुरस्य देवाः। षोव्व्हा युक्ता पञ्चपञ्चा वहन्ति महद्देवानामसुरत्वमेकम् । (मण्डल ३, सूक्त ५५, ऋचा १८) यसमा समयको वर्णन गरिएको छ । देवताहरूलाई पनि शूर इन्द्रदेवको शोभन अश्वको बारेमा जानकारी छ । शोभन अश्व भनेको समयको विभाजन हो । दुई/दुई महीनाको एक ऋतु हुन्छ । यसरी ऋतु छवटा छन् । तर हेमन्त र शिशिर ऋतुलाई एक ठाउँमा मिलाउँदा पाँच ऋतु हुन्छन् ।

यहाँ गज्जबको तर्क त यो लाग्छ कि हेमन्त र शिशिरलाई एउटै ऋतु मान्न सकिने सङ्केत गरिएको छ । ऋतुको सङ्ख्या छवटा हुने त हामी सबैलाई थाहै छ । अहिलेसम्म हाम्रो समाजले वा मुख्य गरी साहित्यले छवटा ऋतुकै वर्णन गरिरहेका छन् । छवटा ऋतुको विशेषता वा विशिष्टतालाई मानिरहेका छन् ।

मानव कल्याण कामनाको महाग्रन्थ ऋग्वेदमा धेरै विषय छन् । पढेलेखेका हरेक व्यक्तिलाई मन शान्त भएको बेलामा अझ शान्तिको अनुभूति प्राप्त गर्न वेदको अध्ययन गर्नुपर्छ । सम्भव भएसम्म वेदान्त साहित्यको अध्ययन पनि गर्नुपर्छ । अभ्यन्तरमा ऊर्जा दिने वेद तथा वेदान्त साहित्यमा सम्पूर्ण मानवका साथै जीवजन्तु र वातावरणका साथै ब्रह्माण्ड कल्याणको कामना गरिएको छ, जुन सबैका लागि र सधैंका लागि पठन तथा मननयोग्य छन् ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्