नेपालमा सयौं होइन हजारौं लोकछन्द प्रचलनमा रहेका छन् । तिनीहरूको पहिचानबारे लोकसाहित्य तथा लोकजीवनका बारेमा रुचि लिनेहरूले समयमैं पहिचान गर्नु र उचित संरक्षणका लागि कदम चाल्नु जरुरी छ ।

गाउँसमाजमा अहिले पनि धेरै लोकगीत रहेका छन् । ती लोकगीतहरूको आफ्नै गाउने तरीका छ । गाउने तरीकालाई यदि लेखाङ्कन गर्ने हो भने सबै लोकगीतको एउटा छन्द बन्छ । यही छन्दलाई लोकछन्द भन्ने गरिएको छ । उदाहरणको लागि केही नमूनाहरूलाई लिन सकिन्छ ।
हिमाली क्षेत्रमा प्रचलित रहेको एउटा लोकछन्द हो– झ्याउरे । झ्याउरे छन्दलाई तीन स्वरूपमा लिइन्छ । पहिलो स्वरूपमा १५ अक्षर हुन्छन् । दोस्रोमा १६ अक्षर हुन्छन् । तेस्रोमा १७ अक्षर हुन्छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाले मुनामदन खण्डकाव्य यस लोकधुनमा अर्थात् लोकछन्दमा लेखेर यसको प्रतिष्ठा बढाएका हुन् । नेपाली साहित्यमा सबैभन्दा बढी यसै छन्दमा मानिसले लेख्न थालेका छन् र अहिले पनि यसमा लेखिरहेका छन् । हुनत यो काव्यात्मक वा गीति शैली हो तर पनि यसै छन्दमा संस्मरण, नियात्रा तथा महाकाव्यसम्म लेखिएका पाइन्छन् । यसले गर्दा यो छन्द नेपालमा सबैभन्दा बढी लोकप्रिय रहेको छ । लोकछन्द भएकोले यो नेपालको मौलिक छन्द पनि हो र यस छन्दले नेपाली साहित्यको मान र प्रतिष्ठालाई बढाउने काम गरेको छ । यस छन्दको विस्तार अन्य भाषासम्म पनि भएको छ र अन्यको आकर्षण पनि बढेको छ ।

अलिकति सम्बन्ध मसित पनि जोडिएको छ, नेपाली लोकछन्द झ्याउरेको । सबैभन्दा पहिले त मैले महाकवि देवकोटाको मुनामदन खण्डकाव्यलाई बज्जिका भाषामा अनुवाद गरेको छु । मैले पनि केही कविता यस छन्दमा लेखेको छु । झ्याउरे छन्दमा मैले नेपाली र बज्जिका दुवै भाषामा कविता वा गीतहरू लेखेको छु । मलाई यो झ्याउरे छन्द निकै राम्रो लाग्छ, यो व्यक्तिगत कुरो भो । अनि यसमा मैले महाकाव्य पनि लेखेको छु । नेपाली भाषामा अत्यधिक प्रचलित झ्याउरे छन्दमा मैले बज्जिका भाषामा महाकाव्य लेखेको छु, जुन प्रकाशनको तयारीमा छ । सबै कुरा ठीकठाक रहे यही वैशाख महीनाको शुक्ल पूर्णिमा अर्थात् बुद्ध जयन्तीको दिन मेरो महाकाव्य लोकार्पण हुनेछ । मेरो महाकाव्य भगवान् बुद्धको जीवनीमा आधारित रहेको छ । मैले नेपाली लोकछन्दलाई बज्जिका भाषामा प्रयोग गर्दा केही नयाँ अनुभवहरू पनि प्राप्त गरेको छु ।

लोकछन्दको विषयमा कुरो गर्दा विवाहको गीतलाई बिर्सन सकिन्न । विवाहको गीतको शैलीमा आधुनिक रचना निकै कम भएका छन् । वास्तवमा विवाहको गीतको शैली वा गायनको तरीका भन्नु पनि एक प्रकारको लोकछन्द नै हो । विवाहमा हुने विधिन्न विधि व्यवहारका परम्परागत गीतहरू प्रचलनमा रहेका छन् । अब विवाहका गीतहरू पनि लोप हुन थालेका छन् । गीत गाउनेहरू नै भन्छन्, अब विवाहको गीत लोप भएर जान थालेका छन् । लोप भएर जाने विवाहको गीतलाई बचाउन कसैले कुनै किसिमले सकारात्मक भूमिका खेलेको पाइन्न । विवाहको गीतको बोलसित मिल्ने आधुनिक गीत वा रचना गर्ने प्रचलन त झन् छँदैछैन । यसरी विवाहको गीति छन्दलाई बचाउनु तथा यस प्रकारका रचनालाई सोही लय र सुरमा पढ्न पाउनु आफैंमा विशिष्ट अनुभव हुन आउँछ ।

छठ पर्वको गीत निकै धेरै प्रचलित छ । छठ पर्वको लयमा अनेक आधुनिक गीतहरू रचिएका छन् । मौलिक गीतको लयमा पनि आधुनिक गीतहरू नरचिएका होइनन् । आधुनिक गीतहरू बजारमा खूब चल्छन् पनि । यसबाट यो स्पष्ट हुन आउँछ कि छठ पवनीको गीत हराउँदैन । अर्थात् छठ पर्वको गीतको जुन लय वा छन्द छ, त्यो सुरक्षित रहन्छ । छठ पर्वको लोक लयमा कुनै काव्य वा यस प्रकारका साहित्यिक कृतिहरू लेखिएको सुनिएको छैन । यस्तै हालत होलीको गीतको पनि रहेको छ । होलीको गीतको लय अर्थात् छन्द सितिमिति मर्ने देखिंदैन । होलीको लयमा अनेक आधुनिक गीतहरूको सिर्जना गरिएका छन् तर कुनै साहित्यिक काव्य वा कृतिको रचना गरिएको पाइएको छैन । यतातिर कसैको ध्यान जान सकेको छैन । तर जानुपर्ने देखिन्छ । यसैगरी, चैतावर छ । चैतावर त चैत महीनाको निकै लोकप्रिय गीत हो । यस महीनाको गीतमा जे आनन्द वा रस छ, त्यसलाई लोप हुन नदिनको लागि चैतावरको लयमा अन्य साहित्यिक रचना हुनु अनिवार्य देखिन्छ । चैतावर निकै पछाडि परिरहेको लोकछन्द हो ।

महीनाको दृष्टिकोणले विशेष छन्दयुक्तमा भदौको जरजटिन पनि हो । असोजको झिंझिया हो । कात्तिकको सामाचकवा पनि हो । यी लोकसांस्कृतिक सम्पदाहरूबारे समाज जानकार छ तर विडम्बना कहिलेकाहीं स्टेजहरूमा मनोरञ्जनको लागि मात्र देखाइने गरिन्छ तर वास्तवमा यस्ता लोकछन्दहरूको सुरमा सुर मिलाएर साहित्यिक सिर्जना गर्नेतिर कतैबाट कुनै किसिमको प्रोत्साहन नै भएको पाइँदैन । अहिले संस्कृति र समाजप्रति रुचि लिनेहरू धेरै देखिएका छन् तर प्राविधिक वा देखावटीरूपमा मात्रै । संरचना वा वास्तविकतातिर ध्यान जानै बाँकी रहेको छ । अहिले यदि समयमा ध्यान दिन सकिएन भने यस्ता लोकसांस्कृतिक छन्दहरूको संरक्षण गर्दा एक/दुई दशकपछि कतै ढिलो नभई हालोस् । तर सोच्ने वा विचार गर्ने कसले ? पहल कहाँबाट कसले गर्ने ? कुनै आर्थिक फाइदा वा तत्कालको लागि फेसबूके वाहवाही नपाइने यस्तो क्षेत्रमा समय, चिन्तन तथा मानसिकता लगानी गर्न, योजना बनाउन तथा अरूलाई पनि लाग्नुपर्छ भनेर किन कसैले विचार गरिदिने ?

लोकजीवन अझै पनि, थोरै मात्रामा भएपनि, प्रचलनमा रहेका बरमासाको आफ्नै लय छ, आफ्नै छन्द छ । आल्हाउदलको स्वरमा कुनै विरह गाउन सकिन्न । समधाओनको आफ्नै गाउने तरीका छ । चाँचर गाउनेले जुन शैली अपनाउँछन्, तिनमा अन्य कुनै लोकगीतको छन्द मेल खाँदैन । परातीको लयले पनि सन्देश दिएजस्तो अनुभूति हुन्छ । चेतना र स्फूर्ति दिने परातीको लयको संरक्षण कसरी गर्ने ? करीब लोप भइसकेको छ पराती । पहिले खेलिने झाराको मौलिक लय अब सायदै सुन्न पाइएला । लयमा कसले होला साहित्यिक रचना सिर्जन गर्न सिकाउने ? कहाँ होला यस प्रकारको सिकाइशाला ? कसरी सर्वसाधारणले यसलाई बचाएर राख्न सक्छन् ?

समाजमा अन्य विभिन्न किसिमका लोकसंस्कृति छन्, जसका आफ्नै गायनशैली छन् । तिनीहरूको पहिचान र गायनशैलीको आधारमा लेखनशैली तयार पार्नुपरेको छ । जसरी मुनामदन खण्डकाव्यले झ्याउरे लय वा छन्दलाई झन्डै अमरत्व प्रदान गरेको छ, त्यस्तै अन्य लोकलयमा पनि प्रयास नभएका होइनन् होला तर स्थापित हुन सकेको छैन । यसलाई नकारात्मकरूपमा लिनु नै भएन । वास्तवमा नेपालका विभिन्न भाषा तथा संस्कृतिमा प्रचलनमा रहेका अन्य लोकलय वा लोकछन्दलाई पहिचान गरेर तिनीहरूको कम्तीमा लेखाङ्कन गरिनु जरुरी छ । प्रज्ञा प्रतिष्ठान जस्ता संस्थाहरूले यस प्रकारको पहल गर्न सक्नुपर्छ । साहित्यिकार तथा लोकसाहित्यमा रुचि लिनेले यसबारेमा आफूले पनि सोचविचार गर्दै सम्भव भएसम्म अरूलाई पनि लेख्न प्रोत्साहित गर्नुपर्छ । लोकको सम्पदा भएकोले यसलाई जोगाउन सके भविष्यमा समाजलाई यसैमार्फत योगदान दिन सजिलो हुन्छ ।

लोकलयले केहीलाई पहिचान र सम्मान पनि दिएको छ तर यसको महŒव बुझ्न नसक्दा कतिपयले अनुत्पादक क्षेत्र पनि मानेको छ । लोकसिर्जनाहरूलाई अनुत्पादकभन्दा पनि सामाजिक र सांस्कृतिक सम्पदा मान्नुपर्छ । यसको मौलिकतालाई दीर्घकालसम्म बचाउन तिनको लयको आधारमा लेख्न सक्ने बनाउनु आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here