पूर्वपाकिस्तानी क्रिकेट एवं त्यहाँका पूर्वप्रधानमन्त्री इमरान खान अहिले पाकिस्तानको अदिमाला कारागारमा बन्दी जीवन बिताइरहेका छन् । उनी पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआईका) नेता र सर्वेसर्वा हुन् । जोसुकै प्रधानमन्त्री अथवा राष्ट्रपति भएपनि पाकिस्तानमा अन्तिम बोलकबोल गर्ने निर्णायक सेना नै हो । पाकिस्तानमा निर्वाचन त्यहाँको सेनाको रेखदेख र खटनपटन सम्पन्न हुने गर्छ । पाकिस्तानको राजनीतिमा सेना हाबी रहन्छ र हस्तक्षेप गरिरहन्छ । प्रधानसेनापति जियाउल हक अथवा जनरल मुसर्रफ जोसुकै हुन्, तिनीहरूले जनमतबाट सत्तामा आएको सरकारलाई अपदस्थ गर्दै शासनको बागडोर आप्mनो हातमा लिए ।

यस अघि निर्वासनमा रहेका पूर्वप्रधानमन्त्री नवाज शरीफप्रति सेना नरम भएपछि उनी र उनको दल निर्धक्क निर्वाचनमा होमिएको थियो । सेनाकै सहयोगमा उनका भाइ प्रधानमन्त्री र छोरी अहिले मुख्यमन्त्रीको ओहदामा काबिज हुन सफल भए । यस अघिको निर्वाचनमा इमरान खानप्रति फिदा सेनाले खानलाई प्रधानमन्त्रीसमेत बनायो र अनबन भएपछि इमरानलाई जेलमा कोचेर निर्वाचन गरायो । तर पाकिस्तानमा लोकप्रियता हासिल गरिसकेका खानको दलले उल्लेखनीय सफलता हासिल ग-यो । पार्टी प्रतिबन्धित भएकोले खानको पार्टीका उम्मेदवारहरूले स्वतन्त्ररूपमा निर्वाचन लडे, ९४ सिट जितेर सेनाको नाकमा दम गरिदिए, सेनालाई चकित बनाइदिए । खान अझै जेलमा छन्, सेनाले उनीसँग बार्गेनिङ गर्दैछ । उनको कैदी नम्बर ८०४ हो । निर्वाचनमा सेनाको हस्तक्षेपका बावजूद खानको दलले तगडा प्रतिरोध गर्दै भरमार सांसद जिताएपछि त्यहाँको सेना उनको प्रभावबाट केही हदसम्म दच्किएको र नरम भएको आभास गरिंदैछ । कैदीबाट खानलाई नेताको दर्जा दिन सेना विवश बन्यो ।

उता सेना (जियाउल हक)बाट झुन्ड्याइएका पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोका पिता जुल्फीकार अलि भुट्टोको दल अहिले बेनजीरका पुत्र बिलावल भुट्टो र पति आसिफ अलि जर्दारीको नेतृत्वमा छ । सेनासँग गिलासिकवा बिर्सेर सेनासित गले मिलेकाले पुरस्कारस्वरूप बेनजीर पति राष्ट्रपति र छोरा मन्त्री बनेका छन् । पाकिस्तानमा अहिले नवाज शरीफ र जर्दारीको मिलीजुली सरकार छ, जसमा सेनाको महत्वपूर्ण भूमिका थियो । सेनासँग यिनको मितेरी साइनो कतिन्जेल टिक्छ भन्न गा-हो छैन । किनकि अहिले तलबितल पर्ने बित्तिकै सेनाले त्यहाँको शक्तिशाली र एकलौटी सरकारलाई समेत छुमन्तर गरेर पाखा लगाउन सक्छ । मिलीजुली सरकारको सेनाका अगाडि औकात नै के ? जुल्फीकार अलि भुट्टोकी छोरी बेनजीर भुट्टोको समेत सेनाकै इसारामा एउटा आमसभामा गोली हानी हत्या गरिएको आरोप रद्दीको टोकरीमा फालिसकिएको छ ।

बेनजीर परिवारका थुप्रै अन्य सदस्यहरूको समेत क्रमशः हत्या भएको थियो । यस्ता तीतामीठा कुराहरूलाई बिर्सिएर बेनजीर पति र पुत्र अहिले सेनाको काखामा बसेर सत्ताको सुखभोग गर्दैछन् । सन् १९४७ मा जिन्नाको सक्रियता र महात्मा गाँधीको सहजतामा भारतको विभाजन भई पाकिस्तानको उदय भएको हो । त्यो समयदेखि अहिलेसम्म काश्मीरलाई लिएर भारत र पाकिस्तानबीच तूतूमैमै भइरहन्छ ।

पटकपटक नाकमा दम गरेपछि पाकिस्तानलाई कमजोर पार्न तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गाँधीले नागरिक भेषमा भारतीय सैनिक प्रवेश गराइ बङ्गलादेश जन्माएकी थिइन् । तर ‘आइरन लेडी’ भनिने इन्दिरा गाँधीपछि भारतमा उनको स्तरको कूटनीति गर्ने प्रधानमन्त्री नजन्मिएकोले पाकिस्तानले अझैसम्म पनि भारतलाई चुनौती दिने, आँखा देखाउने काम र हर्कत गरेको सरेआम महसूस गरिन्छ । करीब १० वर्षदेखि भारतको केन्द्रसत्तामा हालीमुहाली चलाउँदै आएको नरेन्द्र मोदी र भाजपालाई पाकिस्तानमा कागजी बाघको संज्ञा दिइन्छ ।

भारतका छिमेकी पाकिस्तान, मालद्वीप्स, श्रीलङ्का क्रमशः चीनको नजीक हुन थालेकाले भारत चिन्तित देखिन्छ । तर भारतको असफल विदेश नीति, छिमेक नीतिका चलते पडोसीहरू चीनतर्पm लुटपुटिन थालेका छन् ।

अहिले पाकिस्तानी सुरक्ष्Fाकर्मीमा आतङ्कवादी हमला बढेको छ । भारतले आतङ्कवादीको आरोप लगाएका र पाकिस्तानमा शरण लिएर बसेका नामचिन आतङ्कवादी डनहरूसमेत अचेल अज्ञात नकाबधारी समूहको निशानामा परेको र हत्या भएको छ । केही समयअघि पाकिस्तानको रेखदेखमा रहेका भारतको जानी दुश्मन दाउद इब्राहिमसमेतको हत्याको चर्चा भारतमा व्याप्त थियो । तर पछि यो घटना असत्य साबित भयो ।

चर्चित पुलवामा हमलामा भारतका थुप्रै सैनिक हताहत भएपछि मोदी सरकारले पाकिस्तानमा एयर स्ट्राइक गरेको चर्चासमेत थियो । अहिले पनि पाकिस्तानबाट हुने अवैध प्रवेश रोकिएको छैन । १५ अगस्त, २६ जनवरी, महत्वपूर्ण धार्मिक आयोजना र निर्वाचनका बखत पाकिस्तानबाट हुन सक्ने हानिनोक्सानी रोक्न भारतले सुरक्षाको मुस्तैदी बढाउने गरेको छ । निकट भविष्यमा हुने निर्वाचनमा त भारतले काश्मीर, लद्दाख, अरुणाचल प्रदेशलाई त छाउनीमा परिणत गरेको चर्चा छ । कमोवेश थर्काउने काम भाजपाले विपक्षी दलप्रति समेत लक्षित गरेको देखिन्छ ।

स्थापनाकालदेखि नै पाकिस्तानमा राजनीतिक अस्थिरता देखिएको हो, जहाँ सैन्य शक्तिका सामु राजनीतिक शक्ति परास्त हुँदै आएको छ । निरीह राजनीतिक दलहरू सत्ताको केन्द्रमा आउन सेनाको खटनपटनमा रहन बाध्य छन् । तर पिटिआईका इमरान खानले जेलबाटै सेनाको चलखेल र सक्रियताविरुद्ध सङ्घर्षको बिगुल फुक्दै आएका छन् । हेरौं, जेलभित्रको उनको शङ्खनाद र बाहिर उनका नेता, कार्यकर्ताहरूको सङ्घर्षले कुन हदसम्म सेनाको मनोबल गिराउन र सेनालाई ब्यारेकमा फिर्ता गर्न सफल हुन्छ ।

लामिछाने–लामिछाने भेट भयो, घ्याम्पाजस्तो पेट भयो
नेपालमा अहिले दुईजना लामिछानेको कुख्याती शिखरमा छ । यीमध्ये एउटा राजनीतिज्ञ हुन् र अर्का क्रिकेटका महारथी । राष्ट्रिय स्वतन्त्र पार्टीका सर्वेसर्वा रवि लामिछाने सहकारीकाण्डमा र सन्दीप लामिछाने जबरजस्ती करणीका आरोपी हुन् । दसी प्रमाणले दोषी देखाए पनि राजनीतिक साथ पाएपछि निर्दोष साबित गर्ने हाम्रो पुरानै परम्परा छ । राणा हुन् अथवा राजा, प्रजातन्त्र होस् वा गणतन्त्र, मन परेकालाई धोइपखाली गधाबाट गाई बनाइन्छ । अहिले गृहमन्त्री रविको मामिलामा यही फर्मुला लागू देखिन्छ ।

रविलाई दोषी साबित गरी कारबाई गर्नासाथ प्रचण्ड–ओली संयुक्त सरकार बालुवाको घरझैं ग-ल्यामगुर्लुम्म भुइँमा पछारिन्छ । त्यसैले रविलाई जोगाउनु भनेकै यिनको सरकारलाई जोगाउनु हो । गठबन्धनका माधव नेपाल बिच्किनाले त्यसै पनि यो सरकारको दिन गन्ती शुरू भइसकेको छ । ‘मरता क्या नहीं करता’को अवस्थामा पुगेको सरकारलाई रविलाई चोख्याउनुपर्ने धर्मसङ्कट नै छ । नेपालको चर्चित दैनिक पत्रिकाले त दसीप्रमाणसहित गृहमन्त्री दोषी भएको प्रमाणित गर्दै आएको छ भने काङ्ग्रेसका तेज तर्रार नेता विश्वप्रकाश शर्मा र गगन थापाले समेत भ्रष्टाचारको सम्पूर्ण प्रमाण भएको दाबी गर्दै आएपछि निस्सासिएको सरकारले सदन नै बन्द गरेर मूतको न्यानो खोजेको देखिन्छ । कतिपय मामिलामा गलत भएपनि रविको मामिलामा काङ्ग्रेस इमानदार र न्यायप्रेमी देखिएको छ ।

तर रविको दायाँबायाँ राहुकेतुझैं प्रचण्ड र ओली उभिनाले रवि पानीमाथिको ओभानो देखिएका छन् । देर आए दुरुस्त आएको हैसियतमा देखिएको काङ्ग्रेसले समेत रविको राजीनामा जीवनमरणको सवाल बनाएकोले उम्किने चान्स देखिंदैन । त्यस्तै छोटो समयमा नेपालको क्रिकेटमा उदाएका सन्दीप लामिछानेको अवस्थासमेत अस्ताउँदो सूर्यझैं बनेको छ । बलात्कारको आरोप लागेका यी क्रिकेटरको क्रिकेट जीवनमा खिया लागिसकेको छ । यिनको मुद्दा अदालतमा चलिरहेको छ । आगो नलागी धूवाँ निस्कँदैन । अदालतमा विचाराधीन रहेको मुद्दामा ‘आ बैल मुझे मार’ भन्दै मनमा लागेको कुरा लेख्न पाइँदैन । तर घटनाको चौतर्फी वातावरण, यिनको गतिविधि र साक्ष्य प्रमाण र पीडिताको कुरा सुन्दा सन्दीप सो-है आना दोषी देखिन्छन् । सम्मानीय अदालतको पैmसला राजादेखि रङ्क सबैले मान्नुपर्छ । तर नेपालभरि चर्चा छ, ‘लामिछाने–लामिछाने भेट भयो घ्याम्पा जत्रो पेट भयो ।’ अब यसको अर्थ मैले पाठकहरूलाई बताइरहनुपर्दैन होला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here