संसारले विश्व सम्पदा दिवस मनाइरहँदा हामीले हाम्रो वरपरका सम्पदाबारे जानकारी लिनु उचित हुन्छ । अझ सम्पदाको संरक्षणको लागि केही प्रयास भए वा नभएकोबारे पनि बुझ्नु उचित हुन्छ । यस्ता सम्पदाबारे कम्तिमा सामाजिक सञ्जालमा केही जानकारी शेयर गर्नु उचित हुन्छ । वर्षको कुनै दिन यस प्रकारका सम्पदाहरूबारे आप्mनो परिवारमा चर्चा गर्नुपर्छ वा सम्भव भएसम्म विभिन्न धार्मिक, सांस्कृतिक वा पर्यटकीयस्थलको भ्रमण गर्न जाँदा चर्चित सम्पदा–स्थलहरू पनि समावेश गर्नुपर्छ । अझ आपूmलाई वरपरका सम्पदाबारे जानकारी छ भने आफ्नो घरपरिवारमा शेयर गर्नुपर्छ । अहिले सम्पदाहरू बिरानो हुँदै गएको अवस्थामा समाजलाई जानकारी गराउनु आवश्यक छ । थोरै मात्र ध्यान दिने हो भने हाम्रो वरपर अनेक सम्पदा रहेका छन् । उदाहरणको लागि मधेस प्रदेशका आठवटा जिल्लाका विशिष्ट सम्पदाबारे जानकरी राख्न सक्छौं, चासो अभिव्यक्त गर्न सक्छौं ।

पर्सा जिल्लाको नामकरण कसरी भयो ? यसलाई पनि विचार गर्ने हो भने अहिले पर्साको नामकरण भएको भनिएको पारसनाथ मन्दिर ओझेलमा परेको छ । कतिपयले भन्ने गरेका छन् कि नेपालमा पशुपतिनाथ, मुक्तिनाथ र पारसनाथ समान धार्मिक महत्वका तीर्थस्थल हुन् । पशुपतिनाथ र मुक्तिनाथको परिचर्चा विश्वव्यापी भइरहेको सन्दर्भमा पर्साको पारसनाथ भने आप्mनै पालिकामा उपेक्षाको शिकार हुुनु उदेकलाग्दो कुरा हो । पर्साले आपूmलाई देशको आर्थिक राजधानीको रूपमा चिनाइरहँदा पारसनाथजस्ता धार्मिक तथा ऐतिहासिक स्थानको खोजी गरी तिनको संरक्षण र प्रचार गर्नुपर्ने हो । पर्सामा अझ धेरै ऐतिहासिक स्थान छन् । त्यहाँको ऐतिहासिकताको खोजी र जानकारी शेयर गर्नुपर्छ । अहिले यस प्रकारका जानकारीहरू निरन्तर शेयर भइरहने हो भने आशा जीवित रहन्छ र मानिसको चासो बढेर ध्यान तानिन्छस सम्बन्धित व्यक्ति तथा निकायको ।

बारा जिल्लालाई नै लिउँ । बारा जिल्लाको नामकरण भएको बारागढी पूरै ओझेलमा छ । बाराका ऐतिहासिक सम्पदाको खोजी जब गरिन्छ तब सोझै मानिसहरूको ध्यान सिम्रौनगढतिर जान्छ । सिमरौनगढमा जब कोही पुग्छ, त्यहाँ इतिहासको संरक्षण हुन नसकेको देखेर चित्त दुखाएर फर्कन्छ । यद्यपि अब इतिहासको संरक्षणको लागि केही प्रयासहरू भइरहेका छन् । तर पनि कुन पोखरीको महत्व कस्तो छ, कुन मन्दिरको निर्माण कहिले भएको थियो, कुन भवनको निर्माण कहिले भएको र कुन परिस्थितिमा भएको थियो भन्ने जानकारी कतै सार्वजनिकरूपमा दिने गरेको पाइँदैन । यस किसिमका जानकारी सार्वजनिक स्थलमा लेखेर राख्दा बटुवाको ध्यान तानिन्छ र घुम्ने उद्देश्यले मात्र गएको मानिस सही जानकारी लिएर फर्कन्छ र प्रचारप्रसारको माध्यम बन्छ । यसैगरी सिम्रौनगढबाट कुन ऐतिहासिक तथा धार्मिकस्थल नजीक छ, कति किलोमिटर र कतातिर अवस्थित छ भन्ने जानकारी दिने बोर्ड पनि ठाउँठाउँमा राख्नु उचित हुन्छ । भारतमा यसरी गरिएको पाइन्छ तर हामीकहाँ यस्तो जानकारी नहुँदा ऐतिहासिक तथा पुरातात्विक र धार्मिक सम्पदाको खासै प्रचार हुन नसकेर पर्यटक तान्न सहयोग पुगेको पाइँदैन । बारागढी, जसको नामबाट जिल्लाको नामकरण भएको छ, खोइ परिचित हुन सकेको ? बारा जिल्लाकै धार्मिक गौरवको रूपमा रहेको महागढीमाई नगरपालिकाको गढीमाई मन्दिरले बाराको धार्मिक पहिचानलाई उचाइमा पु-याएको छ । उत्तरी क्षेत्रका सांस्कृतिक तथा धार्मिक सम्पदाहरूबारे खासै जानकारी प्राप्त हुन सकेको छैन ।

रौतहट ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको दृष्टिकोणले सम्पन्न छ तर रौतहट नामकरण कसरी भयो धेरैलाई जानकारी छैन । अहिले रौतहटको जहाँसम्म सिमाना छ, त्यो सम्पूर्ण क्षेत्र नै नामकरणको दृष्टिकोणले, जतिखेर रौतहट भनियो, त्यसबारे धेरै शिक्षितले पनि बुझ्न सकेको देखिएको छैन । पहिले रौतहटको सदरमुकाम कहाँ थियो ? के भनिन्छ भने रौतहट त हिउँदे राजधानी पनि थियो अर्थात् राणाशासनको समयमा स्वयं श्री ३ महाराजको मुकाम रौतहट हुने गरेको र यहींबाट देशको शासन चल्ने गरेको थियो । यसबारे धेरै मानिस अनभिज्ञ छन् । यसबारे खासै जानकारी नै छैन । रौतहटको पुरानो सदरमुकाम रहेको ठाउँमा अहिले बागमतीको बगर छ । मौलापुरमा पुरातात्विक सम्पदा जमीनमुनि भेटिने क्रम जारी छ । शिवनगर यहाँको सबैभन्दा ठूलो धार्मिकस्थल हो । यहाँको इतिहासबारे हाम्रा ऐतिहासिक सामग्रीहरू मौन छन् । पहाडको भित्तामा पुरातात्विक अवशेष भेटिन्छन् । एघारौं शताब्दीमा स्थापना भएको ईशनाथ महादेव चर्चाको दृष्टिकोणले बिरानो बनेको छ । स्वयं सदरमुकाम गौरको इतिहासमाथि उज्यालो परेको देखिंदैन । गौरको इतिहास प्राचीनकालदेखि जारी मानिन्छ । छठ पर्वको उद्भव भएको ठाउँ, महाभारतकालसित सम्बन्धित अन्य ठाउँहरू, भगवान् श्रीकृष्ण पुगेको ठाउँ, नुनथर महादेवजस्ता ऐतिहासिक, धार्मिक र सांस्कृति ठाउँबारे सर्वसाधारणलाई खासै जानकारी छैन भने प्रचारप्रसार गर्ने विषयमा खासै सोचिएको पाइँदैन । अन्य ऐतिहासिक तथा सांस्कृतिक सम्पदा पनि ओझेलमा परेका छन् ।

सर्लाही, जुन ठाउँको नाउँबाट जिल्लाको नामकरण भएको छ, बिल्कुलै बिरानो बनेको छ । सर्लाही नाम कसरी रहन गयो भन्ने कुरा सोध्ने हो भने धेरैलाई थाहा छैन । सर्लाहीमाई मन्दिरसम्म पुग्ने बाटो पनि बन्न सकेको छैन । मानिस खेत भएर वा बाली लागेको समयमा आली भएर जानुपर्ने हुन्छ । सदरमुकाम मलङ्गवाको मलङबाबा दुई देश, नेपाल र भारतका साथै हिन्दू र मुस्लिम दुवै धर्मावलम्बीका साझा आस्थाका प्रतीक हुन् तर खासै प्रचार हुन सकेको छैन । सर्लाहीको शिवनगर पनि ओझेलमैं परेको छ । सर्लाहीमा महाभारतकालीन कतिपय ठाउँ रहेका छन् । मूर्तियाको इतिहासबारे खासै जानकारी प्राप्त हुन सकेको छैन । सर्लाहीको उत्तरी क्षेत्रमा चुरे पहाडका भित्ताहरूमा ऐतिहासिक तथा पुरातात्विक दृष्टिकोणले निकै महत्वपूर्ण सामग्री रहेका छन् । तिनीहरूको उत्खनन हुन बाँकी छ । पूर्वी सर्लाहीमा पनि महाभारतकालकै शिव मन्दिर रहेको छ जुन प्रचारको अभावमा ओझेलमा परेको छ ।

महोत्तरी ऐतिहासिक, सांस्कृतिक तथा शैक्षिक दृष्टिकोणले कसैले बिर्सन नहुने जिल्ला हो । महोत्तरी एउटा पालिका पनि हो र जिल्ला पनि । महोत्तरीको नामकरणबारे महोत्तरीवासीलाई नै खासै जानकारी छैन । देशमा, सम्भवतः धेरै देशमा, औपचारिक शिक्षाको शुरूआत हुनु अघि यहाँ औपचारिक र व्यवस्थित शिक्षाको शुरूआत भइसकेको थियो । बत्तीमुनि अँध्यारो भनेजस्तै देशको सबैभन्दा निरक्षर जिल्लामा रौतहट पछि महोत्तरीको नाम आउँछ । यहाँको पहिलो शैक्षिक संस्थाको गरिमाबारे धेरैलाई जानकारी छैन । जलेश्वरनाथ महादेव यहाँको प्राचीन तथा प्रसिद्ध तीर्थस्थल हो । यहाँको इतिहास आफैंमा समृद्ध छ । विकासको क्षेत्रमा दिन दुई गुना र रात चौगुना अगाडि बढेको जिल्ला महोत्तरी हो । यदि प्रदेशको राजधानीको हैसियत धनुषालाई प्राप्त नहुँदो त मधेस प्रदेशमा सबैभन्दा तीव्र गतिमा विकास हुने जिल्लाको रूपमा महोत्तरी नै हुने देखिन्छ ।

धनुषा मधेस प्रदेशको राजधानी हो । धनुषा जिल्ला नामकरण भएको ठाउँ प्रसिद्ध तीर्थस्थल हो । धनुषाधाम पालिका पनि छ । मधेस प्रदेशमा नामकरणको दृष्टिकोणले, सबैभन्दा परिचित जिल्लाको रूपमा धनुषा रहेको छ । यहाFको जानकी मन्दिर हिन्दूहरूका लागि सुपरिचित धार्मिक तीर्थस्थल हो । जनकपुरमा रहेका अन्य धार्मिकस्थलहरू पनि चर्चित छन् । मुख्यतः जनकपुर नै यस प्रदेशको प्रमुख आकर्षण हो । मिथिला परिक्रमा पनि चर्चाको दृष्टिकोणले महत्वपूर्ण छ । यद्यपि धनुषाधाम र जनकपुरबाहेक यहाँका अन्य ऐतिहासिक तथा सांस्कृतिकस्थलहरू ओझेलमा परेका छन् । सिराहा र सप्तरीबारे खासै जानकारी प्राप्त छैन ।

प्रदेशका सम्पदाको सम्बन्धमा चर्चा गर्नुपर्दा भाषा, साहित्य, कला र संस्कृतिबारे पनि विचार गर्नुपर्छ । यी सम्पदाहरू हाम्रा सम्पदा हुन् । कतिपय भौतिक सम्पदाबारे स्थानीयलाई नै जानकारी छैन । अमूर्त सम्पदा पनि बिस्तारै ओझेलमा पर्दै हराउँदै गइरहेको अवस्था छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा अन्य सम्पदाबारे समयमैं सचेत हुनु अहिलेको आवश्यकता हो । सचेत हुन सकेनौं भने इतिहास पनि मौन बसिदिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here