काठमाडौं, ५ वैशाख/रासस
एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई छ विकेटले पराजित गरेको छ । जीतसँगै नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
ओमानको अल अमेरत खेलमैदानमा भएको आजको खेल वर्षाले प्रभावित भएपछि २० ओभरबाट आठ ओभरमा झारिएको थियो । पहिला ब्याटिङ गरेको साउदी अरेबियाले नेपाल सामु जीतका लागि ७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
सो लक्ष्य नेपालले सात दशमलव दुर्ई ओभरमा चार विकेटको क्षतिमा पूरा ग-यो । नेपालका लागि गुलशन झाले अविजित ३२ रन बनाए । उनले १९ बल खेल्ने क्रममा दुर्ई छक्का र दुर्ई चौका प्रहार गरे । साथै दीपेन्द्र सिंह ऐरीले १७ र कप्तान रोहित पौडेलले १६ रन बनाए भने अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
साउदी अरेबियाका लागि इस्तिक अहमदले दुर्ई विकेट लिए भने उस्मान नाजीव र वाजी उल हसनले एक/एक विकेट लिए ।
टस हारेर पहिला ब्याटिङ गरेको साउदी अरेबियाले निर्धारित आठ ओभरमा सात विकेटको क्षतिमा ७३ रन बनाएको थियो । उसका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए । उनले १६ बल खेल्ने क्रममा तीन छक्का र तीन चौका प्रहार गरे । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
नेपालका लागि करण केसी र अविनाश बोहोराले दुई/दुई विकेट लिए भने प्रतीश जिसी र ललित राजवंशीले एक/एक विकेट लिए ।
समूह ‘ए’मा रहेको नेपालले पहिलो खेलमा मलेशियालाई पाँच विकेट, दोस्रो खेलमा कतारलाई ३२ रन र तेस्रो खेलमा हड्ढङलाई आठ विकेटले पराजित गरेको थियो ।