वीरगंज महानगरपालिकाले यस क्षेत्रमैं एउटा नयाँ प्रयोग थाल्यो, रात्रिबजार सञ्चालन गर्ने । यद्यपि रात्रिबजार भनेको स्वतः र स्वभावगतरूपमा सञ्चालन हुनुपर्ने हो, तर जुन ठाउँमा त्यस्तो संस्कृति छैन, त्यहाँ सरकार, नभए कुनै सक्ष्Fम संस्था अघि सर्नैपर्छ । यस मामिलामा वीरगंज महानगरपालिकाले साहसी पाइला चालेको छ । समस्या के छ भने यस कार्यलाई सबैको सहयोग प्राप्त भइरहेको छैन । खासगरी प्रशासनले यस गतिविधिलाई अनुकूल देखिरहेको छैन । प्रशासनसँग सुरक्षाको समस्या छ, त्यो आफ्नो ठाउँमा छ । सुरक्षा चोर–बदमाशबाट मात्र होइन, दशकौंदेखि मद्य प्रतिबन्धित, अन्तर्राष्ट्रिय सीमाविहीन छिमेकी बिहार राज्यका मद्यप्रेमीहरू यसै बहानामा आएर जथाभावी गर्न सक्ने सम्भावना प्रशासनको प्राथमिकतामा छ । तर्क जायज हो, तर कुनै बाधा–व्यवधानको भयले नयाँ बाटो नै नपहिल्याउने मानसिकताले हामीलाई यथास्थितिवादी बनाइदिन्छ । यथास्थितिवादले उन्नतिको मार्ग प्रशस्त पार्नै सक्दैन । देशमा व्याप्त बेरोजगारले युवाहरू विदेश पलायन भइरहेको सन्दर्भमा उनीहरूलाई रोजगारको अवसर जुटाउने, सानै भए पनि यो एउटा अवसर त पक्कै हो ।

एक वर्ष पहिलेदेखि सञ्चालनमा आएको रात्रिबजार यसपालि लामो समयपछि नयाँ वर्षलाई ताक पारेर आयोजन गरियो । मात्र तीन दिन, त्यसमा पनि एक दिन त आँधी–बेहरीले सुस्त पार्दा पनि सालाखाला रु २ करोडको व्यापार भएको नगरपालिकासम्बद्ध संस्थाहरूको अनुमान छ । यसबाट केही मात्रामा भए पनि व्यापार फस्टाउने अवसर जु-यो । मनोरञ्जनको नाममा सिफर रहेको वीरगंजले मनोरञ्जनको अवसर पायो र आजको आर्थिक प्रतिस्पर्धाले अल्छी बन्न पुगेको बजारको गतिविधिलाई पनि बढाइदियो । मोबाइल र टिभीको लतले शिथिल र निष्क्रियप्रायः बनेको वीरगंजेली समाज केही मात्रामा भए पनि जीवन्त भएको देखियो । बजार राम्ररी जम्न पाइरहेको छैन, त्यो एउटा पक्ष हो, तर जम्न नपाउनुमा रात्रिबजारको अवधारणा गलत भएर होइन, अपितु महीनामा एकदुई दिन मात्र सञ्चालन हुँदा बेहोर्नुपर्ने सास्ती बढी भएर हो । नियमित, दिनदिनै नभए पनि, हप्ताको दुईचार दिन रात्रिबजार लगाउने मानसिकता हामीमा पलाउन सक्यो भने निश्चय नै यसले नगरको व्यापार, मनोरञ्जन, नागरिकको शारीरिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने कुरामा सन्देह गर्नुपर्ने कुनै आधार छैन ।

देखासिकी त नभनिहालौं, अहिले राजधानीमा पनि ठमेललगायत केही स्थान रातभरि खुला राख्ने अवधारणा आइरहेको छ । त्यसले अन्य नगरलाई पनि झकझक्याउने निश्चित छ । सङ्घदेखि प्रदेश सरकारको समेत प्राथमिकतामा पर्न नसकेको वीरगंज आफ्नो उन्नति र व्यापारिक गतिविधि बढाउन आफैं नजुर्मुराउने हो भने भोलि यसको हविगत मुर्दा शहर बन्नुबाहेक अरू केही हुने छैन । शहर नागरिकविहीन भएर मात्र मुर्दा बन्दैन, खाने–लाउनेबाहेक अन्य गतिविधिबाट वञ्चित नगर पनि मुर्दा हुन्छ । जहाँ हरियाली छैन, खेलकूद र मनोरञ्जनको विविध साधनको अभाव छ, भएको स्वीमिङ पुलमा माछा पालन गरे पनि आय हुने थियो तर त्यहाँ भ्यागुताको रजाइँ छ । शिक्षा र स्वास्थ्यको अवस्था व्यापारमुखी र व्यापार सेवामुखी बन्नु कुनै पनि शहर मुर्दामा परिणत हुनुको पर्याप्त आधार हो । नागरिक, प्रशासन, सुरक्षा बल सबै यस कुरामा सकारात्मक हुनु जरूरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here