तनहुँ, ३ वैशाख/रासस
तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडाका १२ वर्षीय बालक निश्चल रिमालले विद्युतीय स्कूटर बनाएका छन् । स्थानीय नेपाल पुलिस स्कूलमा कक्षा ५ मा अध्ययनरत रिमालले रु ७५ हजारमा एक सातामैं विद्युतीय स्कूटर बनाएर सफल परीक्षण गरेका हुन् ।

महँगो इन्धनको विकल्पमा विद्युतीय स्कूटर बनाउने इच्छा जागेकाले सात दिनमैं सफल भएको रिमालले बताए । आफ्नो योजनामा बुबा नारायण रिमालले साथ दिएकाले सम्भव भएको उनको भनाइ छ । एकपटक पूर्णरूपमा चार्ज गर्न करीब डेढ घण्टा लाग्ने र करीब १० किलोमिटर यात्रा तय गर्न सकिने स्कूटर बनाएको निश्चलको भनाइ छ ।

“विद्युतीय स्कूटर बनाउन सात दिन लाग्यो,” निश्चलले भने, “मानिस आएर हौसला दिनुभएको छ । झनै आत्मबल बढेको छ, अब विद्युतीय कार बनाउने योजनामा छु,” निश्चलले स्कूटरमा मोटर, चार्जर, स्कूटरको पाङ्ग्रालगायत उपकरण जडान गरेका छन् ।

छोराले सानै उमेरदेखि पढाइको अलावा बिग्रिएका पङ्खा, घडी, मोबाइल मर्मत गर्दै आएको बुबा नारायणले जानकारी दिए । छोराले आवश्यक सामग्री अनलाइनमार्पmत खरीद गर्न माग गरेकाले आफूले सोही अनुसार सहयोग गरेको उनको भनाइ छ । छोराले विद्युतीय कार बनाउने इच्छा व्यक्त गरेको र आफूले सकारात्मक प्रतिक्रिया दिएको उनले बताए । “छोराले अब विद्युतीय कार बनाउँछु भनेको छ,” नारायणले भने, “अब कार बनाउन पनि सकेको सहयोग गर्छु ।”

नेपाल पुलिस स्कूलका प्रधानाध्यापक पुष्प रायक्षेत्रीले विद्यालयका अतिरिक्त क्रियाकलापमा विद्युतीय उपकरण बनाउन निश्चल अग्रसर रहने गरेको बताए । निश्चलको क्षमतालाई बढावा दिन विद्यालयले सृजनात्मक वातावरण तयार गर्ने गरेको प्रधानाध्यापक रायक्षेत्रीको भनाइ छ ।

“पाँच कक्षा पढ्ने १२ वर्षीय बालकले बनाएको विद्युतीय स्कूटर देखेपछि हामी पनि छक्क परेका छौं,” प्रधानाध्यापक रायक्षेत्रीले भने, “उसको क्षमतालाई अझै कसरी प्रस्फुटन गर्न सकिन्छ भन्नेमा हामी अग्रसर रहनेछौं ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here