पेरिस, ३ वैशाख/एएफपी/रासस
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले सुरक्षा खतराको अवस्थामा पेरिस ओलम्पिकको उद्घाटन समारोह सिन नदीबाट राष्ट्रिय रङ्गशालामा सार्न सकिने सोमवार बताएका छन् ।
बिएफएमटिभी र आरएमसीसँगको अन्तर्वार्तामा उनले टोलीहरूलाई सिन नदीमा नौकाविहार गराउनुको सट्टा उद्घाटन समारोहलाई एफिल टावरबाट नदी पारि ‘ट्रोकाडेरो’ भवनसम्म सीमित गर्न सकिने र स्टेड डि फ्रान्समा पनि स्थानान्तरण गर्न सकिने बताए ।
मुख्य रङ्गशालामा खेलहरू उद्घाटन गर्ने परम्परा तोड्दै पेरिसका आयोजकहरूले ओलम्पिक इतिहासमा अभूतपूर्व समारोहको आयोजना बनाएका छन् । यद्यपि युक्रेन र गाजामा युद्ध शुरू भएपछि आयोजकहरूले जुलाई २६ मा हुने उद्घाटन समारोहलाई लक्षित गरी कुनै भिन्नै स्थानमा सार्न सकिने भन्ने कुरालाई अहिलेसम्म अस्वीकार गरेका छन् ।
“यो उद्घाटन समारोह विश्वमा सबैभन्दा पहिलो हो, हामी यो गर्न सक्छौं र गर्न गइरहेका छौं”–राष्ट्रपति म्याक्रोंले भने–“तर प्लान बी र प्लान सी छ, जसमा समारोहलाई पेरिसको उत्तरमा स्टेड डि फ्रान्समा सार्ने सम्भावना छ, हामी वास्तविक समयमा यसको विश्लेषण गर्नेछौं ।”
उनले खेलका क्रममा ओलम्पिक– युद्धविरामका लागि ‘हरसम्भव प्रयास’ गर्ने बताए । युद्धविराम, ओलम्पिकको समयमा शान्ति कायम गर्ने ऐतिहासिक परम्परा हो । “हामी ओलम्पिक युद्धविरामको दिशामा काम गर्न चाहन्छौं र यो मेरालागि हाम्रा साझेदारहरूसँग संलग्न हुने अवसर भएको मलाई लागेको छ ।” रासस