प्रस, पोखरिया, ३० चैत/
जगरनाथपुर गाउँपालिका–२ लक्ष्मीपुर निवासी अमिर मियाँलाई शुक्रवार बिहान वडाध्यक्ष नेपालीप्रसाद कुशवाहाले रूखमा बाँधेर कुटेको आरोप लागेको छ । मियाँ आज बिहान वडाध्यक्ष कुशवाहाको घरमा सडक तोडफोडको क्रममा आफ्नो मात्र घर तोडिएको भनेर गुनासो गर्न गएका र सो क्रममा भनाभन भएर विवाद बढेपछि वडाध्यक्ष कुशवाहा र उनी पक्षका केही मानिसहरू मिलेर मियाँलाई रूखमा बाँधेर कुटपिट गरेको आरोप लागेको प्रहरीले जनाएको छ । वडाध्यक्ष पक्षका मानिसहरूले भने मियाँले वडाध्यक्ष कुशवाहालाई तथानाम गाली गरेका र कठालो समातेपछि उनलाई रूखमा बाँधेर प्रहरीलाई खबर गरेको बताए ।
मियाँले आफूलाई रूखमा बाँधेर कुटपिट गरेको भन्दै वडाध्यक्षसहित आठजनाविरुद्ध इलाका प्रहरी कार्यालय, जानकीटोलामा लिखित उजूरी गरेका छन् ।
मियाँको उजूरीको आधारमा इलाका प्रहरी कार्यालय, पोखरियाले जानकीटोला प्रहरीमार्फत दुवै पक्षलाई झिकाएर जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाएको प्रहरी निरीक्षक मोहनविक्रम केसीले बताए ।
पर्सा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले दुवै पक्षलाई राखेर सहमतिको प्रयास गरिएको र सहमति नबने कानून बमोजिम कारबाही प्रक्रिया अघि बढ्ने बताए ।