प्रस, वीरगंज, २९ चैत/
वीरगंज महानगरपालिकाको आयोजनामा बिहीवारदेखि वीरगंज महानगर–१० आदर्शनगरमा तीन दिने रात्रि मेला शुरू भएको छ ।

महानगरपालिकाले गत वर्षदेखि शुरू गरेको रात्रिकालीन बजार यस वर्ष पनि नयाँ वर्षलाई लक्षित गरेर आयोजना गरेको मेला समितिका सल्लाहकार प्रकाश खेतानले बताए । उनले यो वर्ष १४० वटा स्टल राखिएका र बुधवार नै सबै स्टल बूकिङ भइसकेको बताए । विभिन्न परिकार रहने खाद्यान्नका स्टल, घरेलु उत्पादन, मार्बल, टायल्ससमेतका पसलहरूबाट स्टल बूकिङ भएको उनले जानकारी गराए ।

उनले वीरगंजको उद्योग–व्यापार प्रवद्र्धनका लागि आयोजना गरिएको रात्रिकालीन बजारमा वीरगंज उद्योग वाणिज्य सङ्घले एउटा पनि उद्योगको सहभागिता नगराएको भनी दुःखेसो पोखे । खेतानले सङ्घ र प्रदेशका मन्त्रीहरूको अगाडि वीरगंजको उद्योग– व्यापार खस्किएको भनेर रोदन गर्ने वीउवासङ्घले वीरगंजको उद्योग–व्यापार प्रवद्र्धनका लागि आयोजना गरेको रात्रिबजारमा सहभागिता नजनाउनु लापरवाही गरेको आरोप लगाए । खेतानले रात्रिबजारको आयोजना महानगरको साटो वीउवासङ्घले गर्नुपर्नेमा यसमा सहभागिता नजनाउनु नाम अनुसारको काम नगरेको दोष लगाए ।

उनले रात्रिबजारमा यसपटक पनि गत वर्ष सरह छिमकी देश भारत, छिमेकी जिल्लाहरू बारा, मकवानपुर र आफ्नै जिल्ला पर्साबाट ठूलो सङ्ख्यामा मानिसहरू सहभागी भएका बताए । उनले गत वर्ष नयाँ वर्ष २०८० लाई लक्षित गरेर पाँच दिने रात्रिबजार लगाइएकोमा रु सात करोडको कारोबार भएको बताए ।

यस वर्ष तीन दिनमा गत वर्षको लक्ष्य पूरा गर्ने प्रयास गरिने उनले बताए । यसपटक छिमेकी भारतको रक्सौलसमेत आसपासबाट मानिसहरू सहज आवतजावत गर्न राति १० बजेसम्म खुला हुने दुवैतर्फको भन्सार नाका अबेर राति १ बजेसम्मका लागि खुला गरिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here