राधेश्याम पटेल, परवानीपुर, २१ चैत/
अनलाइनमार्फत ठगी गर्ने चिनियाँ नागरिक संलग्न मुद्दामा पर्सा प्रहरीको अनुसन्धान जारी छ । दोभाषे बोलाएर सामान्य सोधपूछ भएको पर्सा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताएका छन् । प्रहरीले थप अनुसन्धानलाई तीव्रता दिएको छ, विभिन्न कोणबाट घटनाको सूक्ष्म अनुसन्धान भइरहेको उनले बताए ।
प्रहरीले चिनियाँ गिरोहका अन्य सदस्यका बारेमा पनि खोजतलाश जारी राखेको प्रवक्ता थापाको दाबी छ । तीनजना चिनियाँ नागरिक पक्राउ परेको यस ठगी घटनामा वीरगंजमा आपराधिक गतिविधि सञ्चालन गर्न सहयोग गर्न प्रत्यक्ष संलग्न देखिएका दुईजना नेपाली नागरिकको खोजी भइरहेको छ ।
वीरगंज महानगरपालिका–१५ लक्ष्मणवामा घर भाडामा लिने मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिका–१० की ३२ वर्षीया श्रद्धा जोशी र घर खोज्ने एवं चिनियाँ नागरिकसँग चालकको भूमिकामा काम गर्ने वीरगंज महानगरपालिका–१७ अलौंका राजेश गुप्तालाई पर्सा प्रहरीले खोजतलाश गरिरहेको बुझिन आएको छ । प्रहरी अनुसन्धानमा हाल यी दुईजना भने फरार देखिएका छन् ।
वीरगंज–१५ लक्ष्मणवाका नन्दु पटेलकी पत्नी शिवदेवी पटेलसँग हेटौंडाकी जोशीले गरेको घरभाडा सम्झौतामा नन्दुको तर्फबाट वीरगंज–१७ अलौंका सञ्जय गुप्ता र जोशीको तर्फबाट राजेश गुप्ताले साक्षीमा हस्ताक्षर गरेका छन् ।
पटेलको घरमा ब्रेडा इन्टरनेशनल सर्भिस कम्पनी प्रालिले चिनियाँ भाषा पढाउने इन्स्टिच्युट स्थापनाको लागि घर भाडामा लिएको सम्झौतापत्रमा उल्लेख छ । मासिक १० हजार रुपैयाँमा अढाई तले घरका आठवटा कोठा गत माघ १४ गते सम्झौता गर्दै भाडामा लिइएको थियो । घरभाडा सम्झौता गर्ने बेला पेश्कीबापत चार महीनाको घरभाडा रु ४० हजार चिनियाँ नागरिकले घरधनीलाई दिएको सम्झौतापत्रमा उल्लेख छ ।
घर भाडामा लिएपछि रातिपख मात्र गाडीमा सामान ल्याएर घरभित्र राख्ने गरेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।
त्यसपछिका गतिविधिहरू झनै शङ्कास्पद हुँदै गएको स्थानीयहरू बताउँछन् । स्वयम् घरधनीलाई पनि साँझको समयमा पूजा गर्न रोक लगाउने, बाहिरका मानिसहरूलाई घरभित्र आउन नदिने जस्ता शङ्कास्पद गतिविधि हुन थालेपछि स्थानीयको मनमा चीसो पसेको थियो । बिहान ९ देखि साँझ ६ बजेसम्म दैनिक १५–२० जना कर्मचारी सो घरमा काम गर्न आउने गरेको टोलवासी बताउँछन् ।
यो कार्यमा भारतीय युवकहरूमार्फत सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई लक्षित गर्दै ठग्ने कार्य भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । चिनियाँ नागरिकहरूलाई यो अनलाइन ठगीकाण्डमा भारतीय प्राविधिक गिरोहले सघाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । यसबारेमा प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी गराएको थियो भने अहिले अनुसन्धान जारी रहेको भनेर सबै कुरा बताउन चाहेको छैन ।
सामाजिक सञ्जाल फेसबूक, मेसेन्जर, ह्वाट्सएप, ट्विटर, इन्स्टाग्राम तथा टेलिफोनमार्फत पनि चिठा परेको, पुरस्कार परेको भन्दै नेपाली, भारतीय, पाकिस्तानी नागरिकलाई झुक्याएर भारतीय बैंकको खातामा पैसा जम्मा गर्न लगाएर ठगीधन्दा चलाएको प्रहरीको दाबी छ ।
प्रहरीले जबसम्म हेटौंडाकी श्रद्धा जोशी र वीरगंज, अलौंका राजेश गुप्ता पक्राउ पर्दैनन्, तबसम्म अनुसन्धान पूरा नहुने बताएको छ ।
पर्सा प्रहरीले अहिले पक्राउ परेका तीनजना चिनियाँ नागरिकविरुद्ध अभद्र व्यवहार, साइबर अपराध, सङ्गठित अपराधलगायतका मुद्दा प्रभावित हुनेगरी अनुसन्धान अगाडि बढाएको छ । तर यो घटनामा विदेशी शक्तिबाट दबाब सिर्जना भइरहेको पनि स्रोतले जनाएको छ । यसअघिका यस्ता घटनामा विदेशी शक्तिको दबाबमा आपराधिक गतिविधिमा संलग्न चिनियाँहरू छाडिएका घटना ताजै छन् । राजधानीमा एटिएम लुट प्रकरण त्यसको उदाहरण हो ।
प्रहरीले लक्ष्मणवामा छापा मारी ठूलो परिमाणमा सूचना प्रविधिका सामानहरू बरामद गरेसँगै एकजना चिनियाँ नागरिकलाई वीरगंज–५ स्थित वृन्दावन होटलबाट र दुईजना चिनियाँ नागरिकलाई वीरगंज–१६ नगवाबाट पक्राउ गरेको थियो ।
यस ठगीधन्धामा लियु गियु काइ, वाङ बोहान र झ्याङ झियो गरी तीनजना चिनियाँ नागरिक पक्राउ परेका छन् । यसै घटनामा अनुसन्धानको क्रममा प्रहरीले पक्राउ गरेका दुईजना नेपाली नागरिकलाई भने सोधपूछ गरी हाजिरी जमानीमा छाडेको छ ।