भिस्वामा घरेलुको अनुगमन

0
53

प्रस, परवानीपुर, २० चैत/
पर्सा जिल्लाको ग्रामीण बजार भिस्वामा सञ्चालित मसला कुट्ने उद्योग सञ्चालनको विषयमा विवाद सिर्जना भएपछि घरेलु तथा साना उद्योग कार्यालय वीरगंजले अनुगमन गरेको छ ।

उद्योगको वास्तविक साँधसधियार यकीन गरी छलफलबाट समस्या समाधानको लागि कार्यालयले छिपहरमाई गाउँपालिकाको न्यायिक समितिमा पत्राचार गरेको घरेलु तथा साना उद्योग कार्यालय, वीरगंजका प्रमुख धनञ्जयकुमार सिंहले बताए ।

स्थानीय प्रमोदप्रसाद रौनियार र श्यामबाबू रौनियारले सञ्चालन गर्दै आएको मसला उद्योग इजाजत नलिई सञ्चालन गरिएको र सो उद्योगका कारण वातावरणमा प्रतिकूल असर परेको भन्दै स्थानीय मुकेशकुमार गुप्ताले गत फागुन ९ गते जिल्ला प्रशासन कार्यालय, पर्सामा उजूरी दर्ता गराएका थिए । जिप्रकाले उजूरीबारेमा घरेलुलाई पत्रचार गरेको र सोही विषयमा चैत १८ गते कार्यालय प्रमुख सिंहको नेतृत्वमा अनुगमन गरिएको थियो । स्थानीयको स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै निवेदकले उद्योग ठाउँसारी गरी कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेको तर सो उद्योग विधिवत्रूपमा दर्ता रहेको पाइएको कार्यालय प्रमुख सिंहले जानकारी गराएका छन् ।

उनले उद्योग दर्ताका लागि गत माघ २६ गते निवेदन दर्ता गरेको र फागुन २३ गते उद्योग सञ्चालनका लागि प्रमाणपत्र जारी भएको पाइएको बताए । उनले उद्योग विधिवत् दर्ता रहेको तर उद्योगबाट वातावरणमा प्रत्यक्ष असर परेको सम्बन्धमा भने गापाको न्यायिक समितिलाई वास्तविक सँधियारहरूको सही सनाखतबारेमा जाँचबुझ गर्न आग्रह गरेको बताए ।

उद्योग दर्ता भएको देखिन्छ र दर्ताको क्रममा सँधियारको मन्जुरी पनि लिने गरिएको बताउँदै सर्जमिनको क्रममा सँधियारहरूले सही सनाखत गरे /नगरे बारे यकीन गर्न गापाको न्यायिक समितिलाई छानबीन गर्न आग्रह गरिएको बताए । उजूरीकर्ताले भने आफूले सो उद्योगविरुद्ध उजूरी गरेपछि पुरानो मितिमा उद्योग दर्ता गरिएको आरोप लगाएका छन् । कार्यालय प्रमुख सिंहले सो आरोपमा सत्यता नभएको र कार्यालयको दैनिक दर्ता, चलानीबाट पुष्टि गर्न सकिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here