कन्सल्टेन्सीविरुद्ध प्रहरीमा उजूरी

प्रस, परवानीपुर, चैत/
जिल्ला प्रशासन कार्यालय, पर्सामा वीरगंज र कलैयामा सञ्चालित केही कन्सल्टेन्सीले ठगेको उजूरी परेको छ । पर्सा र बाराका आठजना विद्यार्थीले जिल्ला प्रशासन कार्यालय पर्सामा उजूरी गरेका र सो उजूरी उपर कारबाहीका लागि जिल्ला प्रहरीमा पठाइएको छ । बारा, विश्रामपुर गापा–१ छतवा घर भई हाल वीरगंज महनगरपालिका–८ पानीटङ्की बस्ने आदित्यकुमार कुशवाहाले आफूलाई तीन वर्षे एचए कोर्ष पढ्न वीरगंजको नेसेन्ट कन्सल्टेन्सीले गुजरातको पारुल विश्वविद्यालयमा पठाएको तर सो विश्वविद्यालयले एक महीनाभित्रै घर फर्किने बाध्यात्मक अवस्था सिर्जना गरेपछि आफू फर्किन बाध्य भएको दुःखेसो पोखे ।

उनले एचएमा भर्ना लिएर सिएमए कोर्स पढाउने, खाना राम्रो नभएको, ल्यापटप चोरी भएको, न्यायको लागि गुहार गर्न खोज्दा बाउन्सर लगाएर कुटपिटसमेत गरिएका कारण आफू फिर्ता आएको बताए । उनले नेपाली विद्यार्थीहरूलाई भारतका विभिन्न कलेज तथा विश्वविद्यालयमा कमिशन लिएर पठाउने कन्सल्टेन्सीहरूले सो कुराको जिम्मेवारी वहन नगर्दा आफूहरूले न्यायको लागि प्रशासनको सहारा मागेको बताए ।

यसैगरी, जिप्रकामा ग्रेट माउन्टेन र जिएसइसी कन्सल्टेन्सीविरुद्ध केही विद्यार्थीहरूले ठगी गरेको उजूरी गरेका छन् । तीन वर्षे कोर्सको लागि अढाईदेखि तीन लाख रुपैयाँ खर्च लाग्ने र पहिलो किस्ताबापत कन्सल्टेन्सीले डेढ लाख लिएको विद्यार्थी आदित्य कुशवाहाले बताए । उनले आठजना विद्यFर्थीबाट करीब रु १५ लाख असुल गरिएको र कन्सल्टेन्सीले अहिलेसम्म फिर्ता नगरेको आरोप लगाएका छन् । प्रहरीले भोलि मङ्गलवार दुवै पक्षलाई छलफलका लागि बोलाएको उनले बताए ।

नेसेन्ट कन्सल्टेन्सीका अजित चौरसियाले चालू आवमा आफूले २२० जना विद्यार्थी भारत पठाइएकोमा केही विद्यार्थीहरू त्यहाँको हावापानी र खाना नरुचेपछि फिर्ता आएका र उनीहरूले रकम फिर्ता गर्न माग गर्दा विवाद भएको बताए । उनले विवादलाई छलफलको माध्यमबाट समाधान गरिने बताए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्