• राजेन्द्रप्रसाद कोइराला

राष्ट्र निर्माणको प्रक्रियामा शिक्षाले महŒवपूर्ण भूमिका खेल्छ । यसलाई मौलिक मानव अधिकार र व्यक्तिगत, सामाजिक र आर्थिक विकासका लागि आवश्यक उपकरणको रूपमा व्यापक रूपमा मान्यता दिइएको छ । राष्ट्र निर्माणमा शिक्षाको व्यापक अपरिहार्यता छ ।

शिक्षाले मानव पूँजी विकास, सामाजिक एकता र समावेशीकरणको प्रवद्र्धन गर्दै, आर्थिक वृद्धि र विकासलाई अगाडि बढाउन, सुशासन र लोकतन्त्रको अभिवृद्धि, वातावरणीय दिगोपन सुनिश्चित गर्न र स्वास्थ्य र कल्याणमा सुधार गरी राष्ट्र निर्माणको आधारशिलाको रूपमा काम गर्दछ । त्यस कारण, बढ्दो जटिल र अन्तरसम्बन्धित संसारमा फस्टाउन सक्ने समृद्ध, समावेशी र दिगो समाज निर्माण गर्न शिक्षामा लगानी महŒवपूर्ण छ ।

राम्रो शिक्षा दिनको लागि अब्बल शिक्षक आवश्यक हुन्छ । हाम्रो देशमा २०४६ सालपछिका विभिन्न राजनीतिक परिवर्तनसँगै केही परिवर्तन नभएको होइन तर शिक्षा क्षेत्र दिनानुदिन खस्कँदै गएको अवस्थालाई हामी सबैले लाचार भएर हेरिगरिरहनुपर्ने अवस्था छ ।

भनिन्छ शिक्षकहरू जब यो दल र त्यो दलमा विभाजित हुन्छन् त्यो देशको शिक्षा प्रणाली ध्वस्त नै हुन्छ ।

अब कुरा गरौ यस पेशाको उन्नयन कसरी होला ? शिक्षा पूर्वाधारको पनि पूर्वाधार, विकास एवं समृद्धिको आधार र आर्थिक सामाजिक रूपान्तरणको माध्यम हो । किनकि विकास र समृद्धि ज्ञान र सीपयुक्त दक्ष मानव संसाधनविना सम्भव छैन । मानव संसाधन विकासको आधारशिला विद्यालय हो । शिक्षक यसका मुख्य कर्ता हुन् । विषयवस्तुको ज्ञान र शिक्षण कौशलमा पोख्त, कामप्रति उत्प्रेरित, सिर्जनशील र पेशाप्रति उत्तरदायी शिक्षकविना विद्यालय शिक्षाले समाजको माग पूरा गर्न सक्दैन । यसका लागि शिक्षण पेशामा उच्च शिक्षाका मेधावी र अब्बल उत्पादन भिœयाउनु पर्छ । शिक्षण पेशामा अब्बल र उम्दा जनशक्ति भिœयाउन यसलाई मर्यादित र थप आकर्षक बनाउनुपर्छ, अर्थात् शिक्षण पेशाको उन्नयन र यसको गरिमाको पुनरोत्थान जरूरी छ ।

प्रथमतः शैक्षिक जनशक्ति योजना निर्माण गरेर शिक्षक तयारीबाटै योजनाबद्ध प्रयास हुनु आवश्यक छ । हाल विश्वविद्यालयहरू स्नातक (बिएड) र स्नातकोत्तर (एमएड) तहको उच्च शिक्षाका माध्यमबाट शिक्षक तयारी गरिरहेका छन् । शिक्षक तयारी कोर्समा सैद्धान्तिकका साथै व्यावहारिक अभ्यास पनि उत्तिकै आवश्यक छ तर सो अनुरूप हुन सकिरहेको छैन । शिक्षण कौशल, शैक्षिक सामग्रीको पहिचान, निर्माण र प्रयोग, कक्षा व्यवस्थापन, विद्यार्थीको विविधता र सिकाइ आवश्यकताको पहिचान र सो अनुरूप सिकाइ वातावरण निर्माणजस्ता विषयमा पर्याप्त प्रयोगात्मक अभ्यास हुनेगरी वर्तमान पाठ्यक्रममा परिमार्जन गर्नुपर्छ ।

शिक्षक भर्नाका लागि हालसम्म परम्परागत नकारात्मक भर्ना प्रणाली अवलम्बन हुँदै आएको छ । यसबाट मात्र पूर्णरूपमा उत्कृष्ट जनशक्ति आकर्षित गर्न सकिन्न । अब आवश्यकता अनुसार विश्वविद्यालयसँग सहकार्य गरेर उत्कृष्ट प्रतिभा सोझै भिœयाउने खालको व्यवस्था गर्नुपर्छ । शिक्षक छनोटका लागि हाल अवलम्बन गरिंदै आएको लिखित परीक्षाले ज्ञानको सैद्धान्तिक पक्षको मात्र मापन गर्ने, तर शिक्षण–कौशलको पर्याप्त मापन गर्न सक्दैन । शिक्षक सेवा आयोग नियमावलीमा प्रयोगात्मक परीक्षा लिन सकिने व्यवस्था रहे पनि यसको अवलम्बन हुन सकेको छैन । अब प्रयोगात्मक परीक्षालाई शिक्षक छनोटमा वस्तुनिष्ट मापदण्डसहित अनिवार्य अवलम्बन गरिनुपर्छ । साथै पाठ्यक्रममा सामयिक परिमार्जन र सूचना तथा सञ्चार प्रविधि पनि यथोचित समावेश गरिनुपर्छ ।

शिक्षकलाई शिक्षण सिकाइका क्षेत्रमा आएका नवीनतम अवधारणा, ज्ञान, सीप र प्रविधिसँग अद्यावधिक गराइराख्न निरन्तर पेशागत सहयोग र क्षमता विकास आवश्यक हुन्छ । यसका लागि सेवा प्रवेश, सेवाकालमा छोटो अवधिका विभिन्न तालीम, कार्यशाला, अन्तक्र्रिया, अवलोकन भ्रमण आदिको पर्याप्त अवसर प्रदान तथा स्वाध्ययनका लागि प्रोत्साहन दिनुपर्छ । शिक्षक सञ्जाल, मेन्टरिङजस्ता उपाय अवलम्बन गर्नुपर्छ । वैदेशिक अध्ययन र भ्रमणबाट सिक्ने मौका प्रदान गर्नुपर्छ । यसबाट शिक्षकमा दक्षता अधिवृद्धि भई पेशागत गौरव अनुभूत हुन जान्छ ।

शिक्षकमा अन्तरनिहित प्रतिभा र सम्भावनाको शिक्षण–सिकाइमा पूर्ण उपयोग गर्न विद्यालयको वातावरण शिक्षकमैत्री हुनुपर्छ । यसका लागि विद्यालयमा आवश्यक न्यूनतम साधन र स्रोतको व्यवस्था हुनुपर्छ । शिक्षण सिकाइलाई समयानुकूल बनाउन सूचना र सञ्चार प्रविधिमा शिक्षकको सहज पहुँच र यससम्बन्धी तालीमको व्यवस्था मिलाउनुपर्छ । विद्यालय सञ्चालन शिक्षण सिकाइका लागि समुदाय र अभिभावकको सहयोगी भूमिका हुनुपर्छ । शिक्षक र अभिभावकबीच निरन्तर समन्वय र अन्तक्र्रिया आवश्यक छ । शिक्षकलाई राजनीतिक वा अन्य ढङ्गले आपूm अनुकूल उपयोग गर्न खोज्ने वर्तमान राजनीतिक र सामाजिक प्रवृत्तिमा सुधार हुन आवश्यक छ ।

शिक्षण पेशालाई आकर्षक बनाउन, यसमा प्रतिभा भिœयाउन र टिकाइराख्न शिक्षकलाई अन्य पेशाका समान योग्यतावालाभन्दा बढी सुविधा दिने व्यवस्था गर्नुपर्छ । यस्तो कुरा बेलाबखत नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा उल्लेख पनि हुने गरेको छ तर लागू गरिएको पाइँदैन । तलबभत्ता निजामती सेवाका कर्मचारीसरह भए पनि अन्य सुविधा नरहेको शिक्षकहरूको गुनासो पाइन्छ । शिक्षक सरुवा व्यवस्थित, अनुमानयोग्य र स्वचालित हुन सकेको देखिंदैन । बाल विकास र माध्यमिक तह (कक्षा ११–१२) मा कार्यरत सबै शिक्षक अस्थायी छन् । सेवाको स्थायित्व नभएको हुँदा उनीहरूको भविष्यबारे अन्योल देखिन्छ ।

प्रतिभावानलाई आकर्षित गर्न र टिकाइराख्न सकिएको छैन । सेवाको स्थायित्व र वृत्ति विकास सुनिश्चित नहुँदा उनीहरूलाई पेशागत भविष्यप्रति ढुक्क र कार्यप्रति उत्प्रेरित गराउन सकिएको छैन । जसले शिक्षण पेशा प्रतिभावान् र उम्दा व्यक्तिको रोजाइमा पर्न सकेको छैन ।

शिक्षकका लागि वित्तीय तथा गैरवित्तीय सुविधा वृद्धि र वृत्ति विकास सुनिश्चित गर्नुपर्छ । न्यूनतम तलब सुविधाका अतिरिक्त कार्य सम्पादनमा आधारित थप सुविधा व्यवस्था गर्न सकिन्छ । त्यस्तै शिक्षक र परिवारको उपचारका लागि अस्पतालको व्यवस्था वा सरकारी खर्चबाटै स्वास्थ्य बीमाको व्यवस्था र शिक्षकका छोराछोरीका लागि छात्रवृत्तिको व्यवस्था गर्नुपर्छ । ग्रामीण, विकट र दुर्गम क्षेत्रमा अध्यापन गर्ने शिक्षकका लागि थप आकर्षक सुविधा र निश्चित समय सेवा गरेपछि सुगम क्षेत्रमा सरुवा हुने स्वचालित प्रणाली विकसित गर्नुपर्छ । शिक्षा क्षेत्रमा निजी लगानीबाट सञ्चालित विद्यालयको पनि महŒवपूर्ण स्थान रहेको छ । यस्ता विद्यालयमा कार्यरत शिक्षकलाई पनि सार्वजनिक विद्यालयका शिक्षकसरह न्यूनतम सुविधा दिनुपर्ने कानूनी व्यवस्था रहे पनि यसको कार्यान्वयन पक्ष कमजोर रहेको छ । ती विद्यालयले शिक्षकलाई दिने सुविधामा एकरूपता र पारदर्शिता छैन । साथै सेवाको स्थायित्व पनि छैन । वृत्ति विकास र सामाजिक सुरक्षाको पनि निश्चितता छैन । यस्ता विद्यालयमा कार्यरत शिक्षकको न्यूनतम पारिश्रमिक, सुविधा र सामाजिक सुरक्षा सुनिश्चित गर्न सकिए निजी लगानीका विद्यालयमा पनि अब्बल र उम्दा नवप्रतिभालाई आकर्षित गर्न र टिकाउन सकिन्छ ।

शिक्षकको कार्यसम्पादनको उचित एवं वस्तुनिष्ट मूल्याङ्कन र यसलाई सुविधा तथा वृत्ति विकाससँग आबद्ध गर्नुपर्छ । राम्रो काम गर्नेलाई नगद पुरस्कार, कदरपत्र, तलब वृद्धि थपजस्ता माध्यमबाट पुरस्कृत गर्ने व्यवस्था गर्नुपर्छ । यसका लागि प्रत्येक स्थानीय तहले शिक्षक कार्यसम्पादन प्रोत्साहन कोषको व्यवस्था गर्नुपर्छ । शिक्षकलाई पर्याप्त सुविधा, मर्यादा र वृत्ति विकास सुनिश्चित गरेर पेशाप्रति जवाफदेही र उत्तरदायी बनाउन पनि उत्तिकै आवश्यक छ । यसका लागि शिक्षककै सहभागितामा आचारसंहिता निर्माण र सोको पूर्ण पालना गर्ने व्यवस्था हुनु आवश्यक छ । वर्तमान शिक्षा नियमावलीमा शिक्षक आचारसंहिता भए पनि, पर्याप्त छैन । यसको पालनाको निरन्तर अनुगमन गर्ने भरपर्दो व्यवस्था पनि छैन । सङ्घीय प्रणाली अनुरूप निर्माण हुने शिक्षासम्बन्धी ऐन नियममा यसलाई व्यवस्थित गर्नुपर्छ । आचारसंहिता परिपालना अनुगमनको भरपर्दो संयन्त्र व्यवस्था गरी शिक्षकलाई प्रशासनिक रूपमा विद्यालय व्यवस्थापन र शैक्षिक रूपमा विद्यार्थीप्रति उत्तरदायी बनाउनुपर्छ ।

शिक्षण सिकाइका क्रममा आइपर्ने विविध समस्याको पहिचान र समाधान, विद्यार्थीका विविधताको सम्बोधनस ज्ञान, विज्ञान र प्रविधिको क्षेत्रमा आएका नवीनतासँग निरन्तर परिचित हुन तथा आपूmमा अन्तर्निहित प्रतिभा र सम्भावना प्रस्फुटनमार्फत कक्षा कोठाको शिक्षण सिकाइमा सोको उपयोग गर्न शिक्षकलाई निरन्तर अध्ययन, अनुसन्धान र नवप्रवर्तनका लागि प्रोत्साहन गर्नुपर्छ । यसका लागि स्वदेश तथा विदेशमा अध्ययन, अनुसन्धान र अवलोकन भ्रमणको अवसर दिन सक्नुपर्छ । शिक्षकले देखाएको सिर्जनात्मकता र नवप्रवर्तनको यथोचित कदर र प्रोत्साहन गर्नुपर्छ ।

अन्त्यमा जब समाजले शिक्षकहरूको अमूल्य योगदानलाई मान्यता दिन्छ र शिक्षकहरूको लागि सहयोगी र इनामदायी वातावरण सिर्जना गर्न लगानी गर्दछ, शिक्षण पेशाको आकर्षण अवश्य बढने छ । गुणस्तरीय शिक्षाका माध्यमबाट सीपयुक्त र दक्ष जनशक्तिको उत्पादन, स्वदेशमैं रोजगार र स्वरोजगार सिर्जना र आर्थिक–सामाजिक रूपान्तरणका माध्यमबाट विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न शिक्षण पेशामा मेधावी र प्रतिभावान् जनशक्ति आकर्षित गर्न आवश्यक छ । यसका निम्ति शिक्षण पेशालाई व्यावसायिकता र सुविधाका दृष्टिले आकर्षक बनाउन र यसको गरिमा पुनरुत्थान अपरिहार्य छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here