बरहथवा (सर्लाही), १५ चैत/रासस
सर्लाहीबाट माध्यमिक शिक्षा परीक्षा (एसइई)का १० परीक्षा निरीक्षक निष्कासनका परेका छन् ।

बिहीवारदेखि शुरू भएको परीक्षामा मर्यादा कायम नगरेको आरोपमा १० जना परीक्षा निरीक्षकलाई कारबाई गरिएको हो । कारबाईस्वरूप उनीहरूलाई जारी एसइईमा निरीक्षकका रूपमा बस्न नदिने गरी निष्कासन गरिएको शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख रामवृक्ष महतोले जानकारी दिए ।

कारबाईमा पर्ने निरीक्षक जिल्लाका दक्षिणी क्षेत्रका परीक्षा केन्द्रका रहेका जनाइएको छ । गोडैता नगरपालिकास्थित बेणीभोला माध्यमिक विद्यालय, जनता नमूना माध्यमिक विद्यालय, जनता मावि रामवन र बलरा नगरपालिकास्थित रामसखी मोहित सिंह मावि, जनता मावि, नेपाल राष्ट्रिय रामचन्द्र शिवचन्द्र मावि परीक्षा केन्द्रका निरीक्षकलाई कारबाई गरिएको जिल्लास्तरीय परीक्षा समन्वय समिति अध्यक्ष प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।

यसैबीच, जिल्लामा छिटपुटबाहेक पहिलो दिनको एसइई शान्तिपूर्णरूपमा सम्पन्न भएको जिल्लास्तरीय परीक्षा समन्वय समितिका अध्यक्ष प्रजिअ धमलाले जानकारी दिए । “परीक्षा विगतको तुलनामा निकै मर्यादित बनेको छ,” उनले भने, “हामीले सुरक्षा तथा अनुगमनलाई निकै चुस्त बनाएका छौं ।”

यस वर्ष सर्लाहीबाट एसइईमा १० हजार ८९६ परीक्षार्थी सहभागी भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार छ हजार ७८३ छात्रा र चार हजार ११३ छात्रले परीक्षा दिइरहेका छन् । १५८ जनाले ग्रेडवृद्धिका लागि परीक्षा दिन लागेका छन् । जिल्लाका १०५ सामुदायिक र ४५ संस्थागत विद्यालयका छात्रछात्राले एसइईमा सहभागिता जनाएका छन् ।

एकाइका अनुसार सामुदायिक विद्यालयबाट नौ हजार ५६२ र संस्थागततर्पmबाट एक हजार ३३४ छात्रछात्रा एसइईमा सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख महतोले जानकारी दिए ।

यस्तै, जिल्लामा यस वर्ष ३८ परीक्षा केन्द्र तोकिएका छन् । गत वर्ष ३७ परीक्षा केन्द्र तोकिएकामा यस वर्ष हरिपुर नगरपालिका–१ लक्ष्मीपुरस्थित रामऔतार लक्ष्मीनिया मावि हजारबिघा थपिएर ३८ पुगेको समन्वय एकाइका प्राविधिक सहायक सुनील कुशवाहाले जानकारी दिए ।

कुशवाहाका अनुसार यस वर्ष परीक्षा सञ्चालनका लागि यहाँ ३८ केन्द्राध्यक्ष, ७३ सहायक केन्द्राध्यक्ष, ५४४ निरीक्षक, १०३ परीक्षा सहायक र अन्य गरी एक हजार १६ जनशक्ति परिचालन गरिएको छ । परीक्षालाई अनुशासित र मर्यादित बनाउन सबैसँग समन्वय गरिएको उनले बताए ।
एक छात्रले प्रहरी हिरासतबाटै परीक्षा दिए यस्तै, सर्लाहीमा एक छात्रले प्रहरी हिरासतबाटै एसइई दिएका छन् । बाग्मती नगरपालिका–२ निवासी एक छात्रले इलाका प्रहरी कार्यालय हरिवनको हिरासतबाटै परीक्षा दिएको इप्रका हरिवनका प्रमुख अनिलराज गिरीले जानकारी दिए ।

आफ्नै आमाको आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका उनका लागि हिरासतमैं परीक्षाको व्यवस्था मिलाइएको प्रमुख गिरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here