पर्सा र बाराका तारे होटलहरूमा सञ्चालित क्यासिनोहरू नेपाली ग्राहकको आडमा चलिरहेका छन् । यो कुनै आरोप होइन, अहिलेको यथार्थ कुरा हो । नेपालमा सञ्चालित क्यासिनोहरूमा नेपाली नागरिकलाई कामदारबाहेक जुवा खेल्नका लागि पूर्णरूपमा प्रवेश निषेध गरिएको छ । राजधानी काठमाडौंको कुरा छाडौ तर बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको पाँचतारे होटल इच्छामा सञ्चालित स्माइल कलेक्सन प्रालि होस अथवा पर्सा जिल्लाको वीरगंज महानगरमा रहेका क्लार्क रिसोर्ट, लड्र्स दियालोको किङ्स कलेक्सन प्रालि, सुरज होटलको एक इन्टरनेशनल र होटल भिस्वाको सिएमजी क्लब क्यासिनोमा अहिले ८० प्रतिशत जुवा खेल्ने नेपाली छन् । पर्सा र बारामा क्यासिनो सञ्चालनको मुख्य उद्देश्य भारतीय नागरिक हुन् । किनभने भारतीय सीमा क्षेत्रबाट वीरगंज भएर अन्य विदेशी नागरिकहरूको आवागमन एकदमै न्यून छ र उनीहरू एकदमै कठिन परिस्थितिमा मात्र रक्सौल, वीरगंजमा रात बिताउँछन् । हैन भने यहाँबाट उनीहरूको सीधा रवाना गन्तव्यतर्फ सौराहा, पोखरा, काठमाडौंलगायतका पर्यटकीय क्षेत्र हुने गर्छ । नेपालका क्यासिनोमा भारतीयलगायत विदेशीहरूले पहिचानपत्रसहित प्रवेश गर्न पाउने व्यवस्था छ ।

क्यासिनो चलाउनेहरूले नेपालीहरूलाई निर्बाध प्रवेश गराएर आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका छन् । पर्सा र बाराका क्यासिनोहरूमा नेपालीहरूको निर्बाध प्रवेश यहाँका प्रहरी प्रशासनसँग लुकेको छैन । किनभने क्यासिनोपीडितहरू पुग्ने भनेकै स्थानीय प्रहरी प्रशासनसमक्ष हो । प्रहरी प्रशासनले कडाइ नगर्दा सञ्चारमाध्यममा समाचार आउने हो । नियम कानूनको पालना राज्य संयन्त्रले नगराउँदा त्यसको भागी आप्mनै नागरिक हुनुपर्छ । अहिले सामाजिक सञ्जाल निकै सक्रिय भएको छ । मानिसहरू यसको माध्यमबाट पनि आफ्ना पीडाहरू व्यक्त गर्छन् । पीडा व्यक्त गर्ने क्रममा पनि पर्सा र बाराका क्यासिनोहरूबाट लाखौं, करोडौंको हारजीत हुने गरेको र त्यसमा नेपालीहरूको ठूलो सहभागिता हुने गरेको तथ्य पनि बाहिरिएको छ । सबै खाले विकृतिविरुद्ध कानूनी कारबाही गर्ने निकाय स्थानीय प्रहरी प्रशासन हो । वर्तमान गृहमन्त्री रवि लामिछानेले पनि कानूनी विकृति रोक्न र सोविरुद्ध कारबाही गर्न गृहमन्त्रीको आदेश कुर्न नपर्ने भनिरहेका छन् । बैंककर्मी, बीमाकर्मी र विभिन्न व्यापार–व्यवसायमा रहेका व्यक्तिहरूका साथै सरकारी कर्मचारीहरू र सर्वसाधारणहरूको अहिले क्यासिनोमा जुवा खेल्नु दैनिकी बनेको छ । क्यासिनोमा नेपालीहरूलाई प्रवेश नगराउन सम्बन्धित क्यासिनो सञ्चालकहरू जिम्मेवार हुनुपर्नेमा उनीहरूले नेपालीहरूलाई नै मुख्य ग्राहक बनाएका छन् ।

पर्सा प्रहरीका प्रमुख कुमोध ढुङ्गेलले पनि आफ्नो पहिलो पत्रकार सम्मेलनमा क्यासिनोमा सुधार गरिने, नेपालीको प्रवेशमा पूर्ण रोक लगाउने बताएका थिए । तर सोही दिन राति होटल भिस्वाको सिएमजी क्लब क्यासिनामा पर्सा प्रहरीलाई त्यहाँका बाउन्सरहरूले प्रवेश गर्न नदिंदा चारजना कामदारलाई पक्राउ गरेर रिस शान्त पार्नेबाहेक क्यासिनोबाट नेपालीलाई मुक्त गर्ने अभियान सञ्चालन गर्न सकेका छैनन् । जसको परिणाम अहिलेसम्म पर्सा र बाराका क्यासिनोहरूमा नेपालीहरूको प्रवेश रोकिएको छैन । क्यासिनोहरूमा जुवा खेली धेरै नेपाली घरबारविहीन भएका छन् । लाखौं, करोडौं रुपैयाँ हारी थुप्रै नेपाली बिल्लबाठ भएका मौखिक उजूरीको प्रहरीमा चाङ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here