पति र बुबा गुमाएर पनि अधिकार पाइनँ –किरण

राधेश्याम पटेल, परवानीपुर, ९ चैत/
पति गुमाएपछि नागरिकता बनाउने क्रममा बुबालाई समेत गुमाएकी चितवन, खैरहनी नगरपालिका–९ बैरहनी टोल घर भई हाल बारा, जीतपुर बजारमा डेरा गरी बस्दै आएकी ३० वर्षीया किरणकुमारी साहले अहिलेसम्म आफ्नो नागरिकता नबनेको दुःखेसो पोखेकी छन् ।

साहका पति श्रीराम साहको वैदेशिक रोजगारको सिलसिलामा करेन्ट लागेर २०७४ भदौ ३१ गते निधन भएको थियो । बारा, जीतपुरसिमरा–७ शान्तिटोल माइत भएकी किरण हाल शान्तिटोलनजीकै रहेको मगरटोलमा बस्छिन् ।

उनका ससुरा, सौतेनी सासू, नन्द र देवरको विवादको कारण पतिको शव साउदीको रियादबाट मृत्यु भएको तीन महीनापछि स्वदेश ल्याइएको थियो । घरपरिवारले कागजी प्रक्रिया समयमा पूरा नगर्दा पतिको शव ल्याउन तीन महीना ढिला भएको उनी बताउँछिन् । दुई छोराकी आमा किरणले २०७१ सालमा नागरिकताको लागि अनुसूची फाराम भर्ने क्रममा सौतेनी सासू सुमित्रादेवी श्रेष्ठले लालपुर्जा नदिएपछि प्रमाणको अभावमा आफ्नो नागरिकता नबनेको उनी बताउँछिन् ।

किरणको श्रीरामसँग धार्मिक रीतिरिवाज अनुसार २०६७ सालमा विवाह भएको थियो । २०६८ सालमा किरणले जेठो छोरा नवीन र २०७३ सालमा कान्छो छोरा अनमोललाई जन्म दिएकी थिइन् । कान्छो छोरा जन्मेपछि उनका पति तेस्रोपटक साउदी गएका थिए । गएको तीन महीना पछि उनको निधन भयो । किरणकी आफ्नी सासू उर्मिला देवीको श्रीराम दुई वर्षको छँदा २०४३ सालमा निधन भएको थियो । त्यसपछि किरणका ससुरा धर्मनाथ साह सोनारले सुमित्रासँग दोस्रो विवाह गरेका थिए । सौतेनी सासू, नन्द र देवरले मिलेर आफूलाई घर निकाला गरेको उनले बताइन् ।

नागरिकता पाउन किरणले सर्वोच्च अदालतसम्म मुद्दा लडेको बताउँछिन् । उनले नागरिकताका लागि पाँच वर्ष अदालत धाएको बताइन् । २०७४ सालमा पति गुमाएकी किरणका ससुराले नागरिकता बनाउन आनाकानी गर्नुको कारण उनलाई सम्पत्तिमा अंश नदिन हो । नागरिकता बनाएपछि अंश दिनुपर्छ भन्दै ससुरालगायतले दुःख दिएको र सोविरुद्ध उनले सर्वाेच्चमा रिट दिएकी थिइन् ।

२०८० असार १६ गते सर्वाेच्चले किरणको पक्षमा फैसला ग-यो । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले किरणकुमारी साहको नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय, चितवनको नाममा आदेश जारी गरेको थियो । सोही आदेशको आधारमा उनले जिल्ला प्रशासन कार्यालय, चितवनमा नागरिकताको लागि अनुसूची फाराम भरेकी थिइन् । यही चैत ७ गते बुधवार ससुरा धर्मनाथलाई प्रहरीमार्फत सनाखतको लागि सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको कार्यकक्षमा हाजिर गराइएको थियो ।

त्यही छलफल शुरू भयो । सो छलफलमा किरणका बुबा भगवानसाह सोनारकै अगाडि किरणको आचरणलाई लिएर ससुराले तथानाम गाली बेइज्जती गरेका थिए र छोरीमाथि लगाइएका आरोपहरू सहन गर्न नसक्दा सोही बेला किरणका पिता भगवानसाह सोनारलाई हृदयघात भयो । सप्रजिअको कक्षबाट उनलाई भरतपुर अस्पतालमा लगियो र त्यहाँ चिकित्सकले दिउँसो १ बजे मृत घोषणा गरे ।

घटनाबारे चितवनका सहायक प्रमुख जिल्ला अधिकारी शर्माले आफूले पनि सो दुःखद घटनाको बारेमा सुनेको तर कार्यकक्षमैं घटना भएको अस्वीकार गरे । उनले मृतक हृदयरोगी भएको र कार्यकक्षबाट बाहिर गएपछि उनलाई छातीमा समस्या भएर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको बताए । उनले किरणलाई नागरिकता दिन सर्वाेच्चको आदेश पालना भइरहेको र ससुरालाई सनाखतको लागि आफूहरूले सबै कानूनी प्रक्रिया अपनाएको बताए ।

किरणको नागरिकता सम्बन्धमा सौतेनी सासू सुमित्राले बुहारीको आरोपमा सत्यता नभएको दाबी गरिन् । उनले बुहारी किरणमाथि छोराको मृत्युपश्चात् क्रिया नबसेको र छोराको नामको बीमा रकम दुरुपयोग गरेको आरोप लगाइन् । उनले किरणको नागरिकता बन्नै नदिने चुनौती दिइन् ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्