दिन नजीकिंदै जाँदा फागु पर्वको उत्साह बढ्दो छ । हाटबजारहरूमा फागुका गीतहरू हप्तौंदेखि गुञ्जायमान छन् । भौतिक परिवेशसँगै सामाजिक सञ्जालहरू फागु पर्वको शुभकामना सन्देशले भरिभराउ छन् ।
विगतभन्दा भिन्दै होलिका दहन कार्यक्रमको युवाहरूले आयोजना गरे । कस्तो थियो यस वर्षको होलिका दहन ? युवाहरूले यो अवसरमा के स्वीकार गरे ? सत्य र असत्य छुट्याउने कस्तो युक्ति लगाए ? युवाहरूले समाजलाई के सन्देश दिन खोजिरहेका थिए ? लगायतका युवा जमातको जिज्ञासाहरू प्रस्तुत छन् ।
आधुनिक युगका युवाहरूले एउटा समूह गठन गरे । अनेक विधामा पारङ्गत तर पनि बेरोजगार तथा खाडी मुलुकमा जान बाध्य युवाहरू उक्त समूहमा आबद्ध थिए । उनीहरूले होलीको शुभ अवसरमा यस्तो सन्देश प्रवाह गर्न चाहन्थे, जुन समाजलाई गहिरो र प्रेरणादायी सन्देश दिन सकोस् । उनीहरूले समूहका सदस्यहरूबाहेक अरूलाई थाहा नहुने गरी रहस्ययुक्त योजना बनाए । कार्यक्रमका हरेक पक्षबारे उनीहरूबीच छलफल भयो । उनीहरूले कार्यक्रमको तालिका बनाए । तालिकामा होलिका दहनको लागि सामग्रीको प्रबन्ध, मञ्चको निर्माण, लोकगायक, राजनीतिक दलका निर्वाचित तथा पराजित नेता र जनसमुदायलाई आमन्त्रण आदि । यद्यपि कार्यक्रमको गूढ विषय केवल उनीहरूलाई मात्रै थाहा थियो, जुन सार्वजनिक नगर्ने कुरामा उनीहरू एकढिका थिए ।
फागु पर्व केही दिन मात्र बाँकी थियो । उनीहरू कार्यक्रमको तयारीमा जुटे । फागु पर्वको पूर्वसन्ध्यामा मनाइने होलिका दहनको तयारी शुरू भयो । मिति, समय र स्थानसहित प्रचारप्रसार गर्न थाले । सामाजिक सञ्जालहरूमा साझा गरे । उनीहरूको गूढ विषयमा समुदाय अनभिज्ञ थियो । होलिका दहनको चर्चा एक कान दुई कान हुँदै पालिकाभरि फैलियो ।
सो अवसरमा निर्वाचित, पराजित, प्रतिस्पर्धी सांसद, विधायक र नेताहरूसँगै सरकारी कर्मचारी, कृषक, शिक्षक तथा विद्यार्थीलगायत सम्पूर्ण जनमानसमा निर्धारित मिति, समय र स्थानमा उपस्थितिको लागि अपील गरिएको थियो । सामाजिक सञ्जालमा पोस्ट गरी सञ्जालमा पहुँच नभएका सामान्य नागरिकलाई थाहा पाएका मानिसहरूले जानकारी गराइदिनुहुनका लागि समेत अनुरोध गरिएको थियो ।
संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरणसँगै युवाहरूको समूहले सामाजिक रूपान्तरणको थालनी होलिका दहनदेखि शुभारम्भ गर्ने उत्साहमा थिए । युवाहरूको जमात भएकोले उनीहरू नयाँ प्रविधिको प्रयोग गरी बढीभन्दा बढी मानिसहरूसमक्ष कार्यक्रमबारे जानकारी पु-याउन चाहन्थे ।
आज फागु पर्वको पूर्वसन्ध्या अर्थात् होलिका दहनको दिन र गोधूलिको समय थियो । पालिकाको सिमानामा होलिका दहनका सबै प्रबन्ध मिलाइएको थियो । दाउरा, खर, चिपरी, गुइँठा र गोहरा आदि आवश्यक उपक्रम एकत्रित गरे ।
त्यसैगरी, कार्यक्रम गर्ने मञ्च पालिकाको केन्द्रमा बनाइएको थियो । दुलहीझैं मञ्च सजाइएको थियो । ढोलक, हारमुनियम र झाल आदि वाद्ययन्त्रसहित लोकगायकहरू पनि उपस्थित भइसकेका थिए । माहोल उत्साहपूर्ण थियो ।
कार्यक्रमस्थलमा बिस्तारै मानिसहरूको आगमन शुरू भयो । सामूहिक कार्यक्रम भएको हुनाले त्यस पालिका र उक्त पालिकामा पर्ने संसदीय क्षेत्रका नेताहरू यो अवसर छुटाउन नहुने खालको थियो । त्यस कारण सांसद, विधायक तथा पालिकाका जनप्रतिनिधिहरूको कार्यक्रमस्थलमा आउने क्रम जारी थियो । त्यसैगरी, निर्वाचनको बेला प्रतिस्पर्धामा भाग लिएका तर निर्वाचनको परिणामपछि प्रायःजसो लुप्त भइसकेका पराजित नेताहरूसमेत आउन थालेका थिए । मतदाता र नेताहरूको एकथलोमा भएको भेला वास्तवमा रोमाञ्चकारी थियो ।
केही घण्टामैं मानिसहरूको भीड जम्मा भयो । कार्यक्रमको शुभारम्भ भयो । युवाहरूमध्येका एकजनाले कार्यक्रमको सञ्चालन गरे । बाँकी युवाहरू कार्यक्रमस्थलको देखरेख गरिरहेका थिए । सांसद र विधायकदेखि नेता, कार्यकर्तालगायत पालिकाका समस्त जनप्रतिनिधिहरूलाई पदको मर्यादाक्रम अनुसार आसन ग्रहण गराइयो ।
मञ्चमा विराजमान लोकगायकहरू ढोलक, हारमुनियम, झाल, कटझाल आदि वाद्ययन्त्रको तालमा होलीको गीत घन्काउन थाले । प्रत्येक दुई गीतको बीचमा एकजना नेताले फागु पर्वको बारेमा भाषण गर्ने मौका पाइरहेका थिए । फागु पर्व किन मनाइन्छ ? यसको धार्मिक महत्व के हो ? आदि विषयहरूमा नेताहरूले भ्याएसम्म आआफ्नो धारणा व्यक्त गरिरहेका थिए ।
नेताहरूले बाल्यकालदेखि सुन्दै/हेर्दै आइरहेको होलीको कथा भाषणको क्रममा सुनाइरहेका थिए । उनीहरूले एक नगरमा हिरण्यकशिपु नामक एक दानव राजा रहेको भन्दै उक्त राजाले आफ्नो पूजा गर्न प्रजाहरूलाई आदेश दिएको मार्मिक प्रसङ्ग जनतासमक्ष प्रस्तुत गरे । त्यो दानवका छोरा प्रह्लाद श्रीहरिको परमभक्त रहेको कुरा अवगत गराए । दानव हिरण्यकशिपुले छोरा प्रह्लादसँग हरिनाम सुमिरन नगर्ने आदेश गरे । प्रतिउत्तरमा भक्त प्रह्लादले स्पष्टसँग भने– “हत्या, हिंसा, पाप, लोभ र मोह आदि असत्यको मार्गमा हिंड्ने व्यक्ति भगवान् हुन सक्दैन । हे पिताश्री हजुर पनि हरिको नामको जाप गर्नुहोस् । मानव जातिको मुक्तिको श्रेयस्कर मार्ग हरि नामको जाप गर्नु हो । श्रीहरि कणकणमा विराजमान हुनुहुन्छ । साधना र तपस्या गरी मानिसले ईश्वरबाट प्राप्त गरेको शक्ति मानवकल्याणमा खपत गर्नुपर्छ, न कि ईश्वरभन्दा श्रेष्ठ हुनका लागि । मानव भगवान्भन्दा श्रेष्ठ हुन सक्दैन ।”
भाषणको क्रममा नेताहरूले भक्त प्रह्लाद सत्यमार्गी भएकै कारणले अग्नि देवताले उनको रक्षा गरेको र होलिकालाई निलेको कुरा इतिहास स्मरण गराए । यावत् प्रसङ्ग माइक नै भाँच्ने गरी उफ्रीउफ्री प्रवाह गरिरहेका थिए । जनताको प्रतिनिधित्व गर्ने त्यस क्षेत्रका सांसद, विधायक तथा पालिकाका जनप्रतिनिधिहरूले आफूहरू जनताको हितमा काम गरिरहेको बताउँदै भ्रष्टाचार र झूटको खेतीपाती नगरेको तथा कहिल्यै पनि कर्तव्यविमुख नभई सधैं सत्यको मार्गमा हिंडिरहेको कुरा अवगत गराए । सरकारी कर्मचारीहरू पनि कम थिएनन्, उनीहरूले जनतासँग घूस नलिएको, राज्यकोषको दुरुपयोग नगरेको आदि अनेक अभिव्यक्तिहरू दिन भ्याए ।
मञ्चमा उपस्थित प्रायःजसो अतिथिहरूको भाषण एक समान थियो । उनीहरूले फागु पर्वको महत्व भनेको असत्यमाथि सत्यको विजय भएको कुरा जोडतोडका साथ सभामा सम्प्रेषण गरिरहेका थिए । उनीहरूले मानवजातिले सधैं सत्मार्गमा हिंड्नुपर्ने कुरा जोडबलका साथ बताइरहेका थिए । नेताहरूको भाषण सुनेर आममानिस एकातर्फ ताली बजाइरहेका थिए भने अर्कोतर्फ उनीहरूको मुखारबाट निष्ठामा आधारित वचन सुनेर आश्चर्यमुद्रामा थिए । तालीको गुञ्ज सुनेर भाषणकर्ताहरूको अनुहार चट्याड्ढो प्रकाशझैं चम्किलो देखिइरहेको थियो ।
मञ्चमा यस्तो माहोल थियो कि मानौं भाषणकर्ताहरू न कहिल्यै असत्यमार्गी थिए, न छन्, न हुनेछन् । मञ्चअगाडि उपस्थित मानिसहरूलाई ट्वाँ परेर भाषण सुन्नुको विकल्प थिएन । उनीहरूले आश्चर्यजनक मुद्रामा भाषणकर्ताहरूको मुहार नियालिरहेका थिए । बीचबीचमा भजनकीर्तनसँगै ‘जोगिरा सररर…’को गुञ्ज र तालीको गड्गडाहटले माहोलमा जोश बढ्दै गइरहेको थियो ।
रातिको लगभग १० बजिसकेको थियो । अब बोल्ने क्रम युवाहरूको थियो । उनीहरूले बुबाको खल्तीबाट पैसा चोरेको, कहिलेकाहीं परीक्षामा चिट गरेकोलगायत बाल्यकालदेखि अहिलेसम्मको असत्यपूर्ण कार्य आमसभामा स्वीकार गर्दै अबदेखि सत्मार्गमा हिंड्ने वचन दिए । युवाहरूको वचन सुनेर सभामा सन्नाटा छायो । सानो स्वरमा मानिसहरूबीच खुसखुस चाहिं भइरहेको थियो ।
यसै क्रममा युवाहरूको समूह एकसाथ मञ्चमा उपस्थित भयो । उनीहरूले आज एक परीक्षणमार्पmत सत्यमार्गी र असत्यमार्गीहरूको पहिचान गर्ने आकाङ्क्षा जाहेर गरे । यो कुरा सुनेपछि माहोल गम्भीर भयो ।
उपस्थित माहोल एकटक युवाहरूको अनुहारमा केन्द्रित थियो । युवाहरूले परीक्षणस्थल तयार रहेको र त्यहाँ हामी सबैजना एकसाथ जानुपर्ने र आलोपालो सबैजनाको परीक्षण हुने कुरा अवगत गराए । मञ्चमा उपस्थित भाषणकर्ताहरूमध्ये एकजनाले त्यो परीक्षण कहाँ र कसरी हुने खुल्दुली जाहेर गरे । प्रतिउत्तरमा युवाहरूले होलिका दहन गर्ने स्थानमा क्रमशः नेता तथा कर्मचारीहरूबाट परीक्षण कार्य आरम्भ हुने कुरा अवगत गराउँदै हातमा पूजन सामग्री लिएर अग्निकुण्डलाई पार गर्नुपर्ने रहस्य अवगत गराए । आगोमा सत्यमार्गीलाई केही नहुने तथा असत्यमार्गी जलेर नष्ट हुने कुरा जाहेर गरे ।
युवाहरूको योजना सुनेर माहोल मौन भयो । यद्यपि युवाहरूको जमात होलिका दहन स्थलतर्फ अघि बढ्दै पछिपछि सबैजनालाई हिंड्न आग्रह गरे । मानिसहरूको हुल पछाडि लाग्यो । यद्यपि जसैजसै भीड अघि बढिरहेको थियो, तसैतसै भाषणकर्ताहरूमध्ये कसैले मधुमेह त कसैले उच्च रक्तचापको औषधि खाएर तुरुन्त आउने कुरा बताएर घरतर्फ लागे । यतिमात्र कहाँ हो र बाटोमा कतिपय दिसापिसाबको बहाना गरेर चम्पत भए । बिस्तारै मानिसहरूको भीड कम हुँदै गयो । युवाहरूको अग्निपरीक्षामा उनुत्तीर्ण हुने पात्रहरूको सङ्ख्या वर्णन गरी साध्य थिएन । सीमित नेता तथा कर्मचारीहरूले युवाहरूको मनोभावबाट पाठ सिकेर आफू असत्यको मार्गमा हिंडिरहेको कुरा स्वीकार गरे । अन्तमा युवा जमात तथा गाउँका मानिसहरूको सीमित उपस्थितिमा होलिका दहन कार्यक्रम सम्पन्न भयो ।