नरेश यादव, पर्सागढी, ५ चैत/
बहुदरमाई नगरपालिका–८ निवासी रमेश साहले तीन वर्ष अगाडि शुरू गरेको हरिभजन दास एकीकृत फर्म बन्द हुने अवस्थामा पुगेको छ ।

२०७७ सालमा साहले भारतको उत्तरप्रदेश राज्यबाट छ/छ वटा गाई र भैंसी ल्याएर फर्म सञ्चालन गरेका थिए । उनले होलस्टोन जातका गाई र भैंसी डेढ/डेढ लाख रुपैयाँमा खरीद गरेको बताए । बिहान र बेलुकी १४/१४ लिटर दूध एउटा गाई र भैंसीले दिने गरेको उनले बताए । तर उत्तरप्रदेश र पर्साको हावापानी मेल नखाएपछि होलस्टोन जातका गाई र भैंसी मरेको उनले बताए ।

डेढ महीनामा पाँचवटा गाई र भैंसी मरेपछि उनले घाटा हुने देखेर थप पाँचवटा गाई र भैंसी बिक्री गरे । पशु बीमा गराएका उनले प्रति गाई/भैंसीको साठी हजार रुपैयाँ मात्र क्षतिपूर्ति पाए । नेपालमा पशु बीमा अधिकतम साठी हजार रुपैयाँ तोकिएको र सोही अनुसार क्षति उपलब्ध पाएको बताए । डेढ लाख रुपैयाँमा वस्तु खरीद गरेर साठी हजार मात्र बीमा पाएपछि उनको हौसला कमजोर भएको र पछि उनले पाँचवटा वस्तु बिक्री गर्नुपरेको बताए । अहिले उनको हरिभजन दास एकीकृत फर्ममा एक/एक वटा गाई र भैंसी मात्र छन् ।

शुरूमा तीनजनालाई रोजगार दिएका रमेशले अहिले परिवारका सदस्यहरूको सहयोगमा दुईवटा वस्तुको हेरचाह गर्दै आएका छन् । फर्म सञ्चालनमा रमेशले ३२ लाख रुपैयाँ खर्चेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here