प्रस, वीरगंज, ५ चैत/
जिल्ला प्रहरी कार्यालय, बारा अन्तर्गतका प्रहरी चौकीहरूले आइतवार राति यात्रुवाहक बस, मिनीट्रक र ट्रकबाट सवा चार करोड मूल्य बढीका सामानहरू बरामद गरेको बारा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

उनले बिलबीजकभन्दा बढी सामान रहेको, बिजबीजक नभएको आलस, सुर्ती, प्याज र चिनी गरी सवा चार करोड मूल्य बढीका सामानहरू बरामद गरिएको बताए ।

वीरगंज–काठमाडौं चल्ने यात्रीवाहक बसबाट इलाका प्रहरी कार्यालय, अमलेखगंजले रु २७ लाखको चिनी र प्याज बरामद गरेको उनले बताए । यसैगरी, पथलैयास्थित प्रहरी चौकीले सिराहाबाट काठमाडौं जाँदै गरेको एउटा मिनीट्रकबाट ४१ सय किलो आलस बरामद गरेको बताए । सोही चौकीले वीरगंजबाट नारायणघाट जाँदै गरेका तीन वटा ट्रकबाट १३५२ बोरा सुर्ती बरामद गरेको बताए । सुर्तीको मूल्य तीन करोड ९४ लाख बराबर रहेको उनले बताए । यसैगरी, रौतहटबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बसबाट १७६० किलो प्याज, दुईवटा ट्रकबाट ३५ बोरा प्याज बरामद भएको बताए ।

नेरु, भारुसहित एकजना पक्राउ

जिल्ला प्रहरी कार्यालय, पर्साले स्रोत नखुलेको छ लाख ८२ हजार नेपाली र २८ हजार भारतीय रुपैयाँसहित एकजनालाई पक्राउ गरेको जनाएको छ ।

पर्सा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले वीरगंज महानगरपालिका–१६ दुर्गा हल, गहवाबाट पैदल हिंडिरहेका एकजना व्यक्तिलाई शङ्कास्पद अवस्थामा चेकजाँच गर्दा सो परिमाणमा रुपैयाँ बरामद भएको बताए । उनले धनुषा जिल्ला गणेशमान चारनाथ नपा–६ घर भई हाल वीरगंज महानगरपालिका–१६ मा डेरा गरी बस्दै आएका रामबाबू साह कलवारबाट नेपाली एक हजारको ३५६ थान, पाँच सयको ६८२ थान गरी कुल छ लाख ८२ हजार र नेपालमा प्रतिबन्ध भारु पाँच सयको ५६ थान नगद बरामद भएको बताए । यसैगरी, पर्सागढी नपा–९ एकटाँगाबाट तीन किलो दुई सय ग्राम गाँजासहित मुरारीप्रसाद यादव पक्राउ परेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here