प्रस, पोखरिया, ४ चैत/
रुरल स्किल डेभलपमेन्ट सेन्टर प्रालिको आयोजना र पोखरिया नगरपालिकाको सहयोगमा पोखरिया–९ सेमरवारीमा सञ्चालित एक महीने सिलाइकटाइ तालीम आइतवार सम्पन्न भएको छ ।
पोखरिया नगरपालिका वडा नं ३, ६, ७, ८, ९, १० का महिलाहरूका लागि सञ्चालन गरिएको तालीममा सहभागी महिलाले सिलाइकटाइ सीप सिकेका छन् । महिलाहरूले सिकेको सीपलाई जीवनोपयोगी बनाउँदै आर्थिक रूपान्तरण गर्न सक्नुपर्ने पोखरिया नगरपालिकाकी उपप्रमुख रूबी ठाकुरले बताइन् ।
नगरपालिकाले पोखरियाका महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले समयसमयमा सीपमूलक तालीम आयोजना गर्दै आएको उनले बताइन् । तालीममा सहभागी १२ जना महिलालाई उपप्रमुख ठाकुरले प्रमाणपत्र तथा सिलाइकटाइ मेशीन हस्तान्तरण गरेकी थिइन् । तालीमको समापन वडाध्यक्ष नौसाद आलमको अध्यक्षतामा भएको थियोे ।
समापन कार्यक्रममा योजना प्रमुख सञ्जय पाण्डे, सामाजिक शाखा प्रमुख वाल्मीकि साह, सहायक नरेन्द्र साह, नेकपा एमाले नगर अध्यक्ष विन्ध्याचल ठाकुर, शिक्षा शाखा प्रमुख विजय झा, भगवान साह, ललन पटेल, नीरज ठाकुर, नेता रामअयोध्या कुर्मी, प्रशिक्षक बिन्दादेवी चौरसिया, कार्यपालिका सदस्यहरू, वडासदस्यहरूको सहभागिता थियो ।