घरेलु मदिरालाई वैधानिक मान्यता दिलाउन यसअघिका उद्योग तथा वाणिज्य आपूर्तिमन्त्री रमेश रिजालले प्रयास गरेका थिए । उनले सातवटै प्रदेशका मुख्यमन्त्री, सचिव, अर्थमन्त्री, कानूनमन्त्रीसमेतको सहभागितामा घरेलु मदिरालाई ब्रान्डिङ गरेर बिक्रीका लागि आवश्यक गृहकार्य गरे पनि अहिले उनी पदमुक्त भएका छन् । घरेलु मदिरालाई वैधानिकता प्रदान गर्ने कुरामा नेपालमा अदृश्य शक्ति सक्रिय छ । किनभने नेपालमा अहिले वार्षिक पाँच अर्ब रुपैयाँभन्दा बढीको विदेशी मदिरा आयात हुँदै आएको छ । विदेशी मदिरा भित्रिंदा विदेशी उत्पादक र स्वदेशी ठेकेदारहरू प्रत्यक्षरूपमा लाभान्वित हुँदै आएका छन् । अन्तर्राष्ट्रियस्तरका ब्रान्डमा सर्वसाधारणको पहुँच छैन । यसर्थ केही स्वार्थ समूहले मदिरा आयातको नेतृत्व स्थायीरूपमा सम्हालिरहेका छन् । यही समूहले मुलुकको मदिरासम्बन्धी नीति निर्माणमा अदृश्य प्रभाव पार्दै आएका छन् । परम्परागतरूपमा उत्पादन गरिंदै आएको स्वदेशी घरेलु मदिराको गुणस्तर निर्धारण गरी कानूनी मान्यता दिने कुरा कुरैमा सीमित छ । सङ्घ सरकारले सोसम्बन्धी नीति तथा कानून निर्माणमा ढिलासुस्ती अपनाउँदै आएको छ ।
नेपालमा घरेलु मदिरा ब्रान्डिङ नभएकोले खुलेआम बिक्री हुन सकेको छैन । अन्न तथा फलफूलबाट उत्पादित घरेलु मदिरा नेपालमा आउने पर्यटकहरूलाई वैधानिकरूपमा उपलब्ध गराउन सकिएमा विदेशबाट आयात घट्ने र स्वदेशी उत्पादनबाट मनग्य आम्दानी गर्न सकिन्थ्यो । हामीकहाँ आउने पर्यटकहरू विदेशी मदिराभन्दा स्वदेशी कोदो अनि केरा, स्याउलगायत फलफूल र अन्नबाट बनेका घरेलु मदिराप्रति उत्साहित हुने गरेका छन् । यो तथ्य ग्रामीण पर्यटनसम्बन्धी खोज अनुसन्धानले पुष्टि गरेको हो । देशकै थुप्रैजना अहिले पनि कोदोको मदिराप्रति निकै आकर्षित छन् । विदेशी आयातित मदिराको तुलनामा कोदाबाट बनाइएको स्वदेशी मदिराको माग अहिले नेपालभरि बढी रहेको छ । अहिले सरकारले मानव स्वास्थ्य, गुणस्तर र राजस्वको बहाना गरेर घरेलु मदिराविरुद्ध कारबाई चलाइरहेको छ । विदेशी मदिराको कुल राजस्वमा करीब २४ प्रतिशत योगदान छ । घरेलु मदिरा उत्पादनको लागि प्रशिक्षण दिने हो भने गुणस्तर कायम हुन सक्छ । गुणस्तर कायम गर्न सके घातक बन्ने खतरा रहँदैन । अनि गुणस्तर कायम भएपछि साना उद्यFेग दर्ता अनिवार्य गरेर उत्पादन एवं बिक्री वितरण गर्न पाइने व्यवस्था मिलाउन सकेमा राजस्व पनि आशाप्रद सङ्कलन हुन्छ । प्राविधिक सीपविना मदिरालाई नशालु बनाउने प्रक्रियामा अखाद्य वस्तु मिसाइने परम्परा हाबी भएको छ र यसले गुणस्तर खस्किएको मात्र हो । घरेलु मदिरा उत्पादनको मापदण्ड तयार गरेर सो अनुसार सीप, तालीम दिने हो भने यो उद्योग फस्टाउने र रोजगारको अवसर सिर्जना हुने कुरामा दुई मत छैन ।
विकसित मुुलुकहरू अहिले पनि आफूले उत्पादन गरेको घरेलु मदिरामा गर्व गर्छन् । उनीहरूको तुलनामा हाम्रा घरेलु उत्पादनका मदिरा कुनै पनि अवस्थामा कमसल छैन । कमसल भएको भए माग हुँदैन थियो र आम आकर्षण बढ्दैन थियो । हाम्रो मुलुकका कतिपय धर्म, संस्कृति, हावापानी, धरातल एवं जनजीवनसँग घरेलु मदिरा प्राचीनकालदेखि नै जोडिएर आएको छ । घरेलु मदिराको संरक्षण र गुणस्तरीयताका लागि सुहाउँदो नियम, कानून, मापदण्डहरू बनाएर अगाडि बढ्नु आजको आवश्यकता पनि हो । यसतर्फ सरकारले ढिला गर्नुहुँदैन ।