• अनन्तकुमार लाल दास

परीक्षा विद्यालय व्यवस्थाको खोजको परिणाम हो । गुरुकुल शिक्षा पद्धति हटाएर जब मैकालेको शिक्षा लागू गरियो अनि परीक्षा पनि स्कूल र कालेजमा भर्ती हुन पुगे । परीक्षा शुरू भएको दिनदेखि आजसम्म विवादमैं रहेको छ । कहिले पास–फेलको नीति त कहिले दबाब वा तनावको मनोविज्ञान । कहिले अङ्क प्रणालीलाई लिएर त कहिले ग्रेडिङ प्रणालीलाई लिएर । कहिले साप्ताहिक, पाक्षिक, माासिक, त्रैमासिक, अद्र्धवार्षिक, वार्षिक परीक्षालाई लिएर त कहिले परीक्षाको निहुँमा अर्थ सङ्कलन गर्ने खेललाई लिएर ।

परीक्षामा मात्र विद्यार्थी पास–फेल हुँदैनन् । कहिलेकाहीं परीक्षा स्वयं पनि फेल हुन्छ । परीक्षामा विद्यार्थीबाहेक अन्य कारक–जस्तै पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षा प्रणाली, शिक्षा प्रशिक्षण, शिक्षा व्यवस्था, शिक्षक र अभिभावक पनि फेल हुने गरेका छन् । परीक्षाको अर्को कारण निजी विद्यालयहरूको होडबाजी पनि हो । निजी विद्यालयहरूले राम्रो पढाउँछन् भन्ने कुरा पूर्ण सत्य होइन । निजी विद्यालयमा जागीर जाने डरले शिक्षकहरू पाठ्यक्रम पूरा गर्छन् साथै राम्रो परिणाम विद्यालय चल्ने शर्त हो । एक–दुईजनाले पनि राम्रो परिणाम ल्याएका छन् भने त्यो देखाएर बढी बच्चा भर्ना हुने लोभ त्यहाँ गाँसिएको हुन्छ ।

सामुदायिक विद्यालयमा पालिकाका न वडा तहका नेताकै छोराछोरी पढ्छन्, न विद्यालय सहयोगीदेखि प्रधानाध्यापककै । यहाँसम्म एउटा दलका एक सांसदले एउटा कार्यक्रममा मुख खोलेर भने–“मेरा छोराछोरीले सरकारी स्कूलमैं पढ्नुपर्ने हो भने बरु म सांसद पद नै छाडिदिन्छु ।” अर्कोतिर त्यहाँ विद्यालयकै तलबमा बाँच्ने शिक्षकहरू न्यून छन् । कुनै ठाउँमा शिक्षकहरू नै पालिकाका एक दलका जनप्रतिनिधितिर लागेर विद्यालय खोल्नेभन्दा जटिलता बढाउनेतिर लागेका देखिन्छन् । पालिकाले विद्यालय शिक्षा व्यवस्थापन गर्न सक्दैन भन्ने प्रमाण खोज्नेहरू प्रमाण जुटेकोमा दङ्ग छन् । सत्ता समीकरणको खेलमा व्यस्त यस्ता दलहरूलाई यस्ता कुरा हेर्ने फुर्सदै छैन । हालसम्म शिक्षामा नित नयाँ प्रयोग भइरहकै छ ।

परिवर्तित सन्दर्भमा कक्षा १–८ लाई आधारभूत तह मानिन्छ । यसरी हेर्दा आधारभूत तहको अन्त्यमा लिने परीक्षा भनेको कक्षा ८ को परीक्षा हो । वर्तमान कानूनले यो परीक्षा स्थानीय सरकार मार्पmत लिने व्यवस्था गरेको छ । जहाँसम्म कक्षा १० पछि लिने एसइई परीक्षा हो, यसै पनि यो परीक्षा ऐन कानूनविपरीत छ । नेपालको संविधान २०७२ को अनुसूची ८ ले माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहलाई दिइसकेको छ । अहिलेको बदलिएको संरचनामा कक्षा १० को परीक्षा प्रदेश अन्तर्गत राखिएको छ तर उक्त परीक्षा अहिले पनि सङ्घीय सरकारले नै सञ्चालन किन गर्नुप-यो ? यो प्रश्न गम्भीर छ ।

वीरगंज महानगपालिका आप्mनो क्षेत्रका विद्यालयहरूको विकासका लागि योजना बनाएर अघि बढिसकेको छ । अन्य पालिकाहरूले पनि सोही अनुसार योजना बनाउने, कार्यक्रम सञ्चालन गर्ने, अनुगमन र नियन्त्रण गर्ने तथा मूल्याङ्कन र पृष्ठपोषण गर्नुपर्छ । आप्mना पालिकाका विद्यालयहरूलाई उत्कृष्ट बनाउन जब स्थानीय तहहरू सक्रिय हुन्छन् तब मात्र नेपालको शिक्षामा विस्तारै परिवर्तन आउने छ ।

परीक्षाले व्यक्तिको ज्ञानको गहिराइ, सीप र क्षमता मापन गर्न सकिंदैन । यसलाई व्यावहारिक बनाउनुपर्छ र परीक्ष्Fा प्रणाली परिवर्तन गर्नुपर्छ भन्ने माग बमोजिम अहिले निर्माणात्मक मूल्याङ्कनका लागि आन्तरिक मूल्याङ्कन र निर्णयात्मक मूल्याङ्कनका लागि अन्तिम परीक्षा लिने व्यवस्था विद्यालयमा छ । एकीकृत पाठ्यक्रम र व्यावहारिक परियोजना कार्यमा आधारित शिक्षण विधिको व्यवस्था गरिएको छ, तर विडम्बना के देखिएको छ भने विद्यालयहरूले पाठ्यक्रम पूर्णरूपेण लागू गरेका छन् कि छैनन् निरीक्षण हुन बाँकी छ ।

पहिले आधारभूत तह कक्षा ६–८ मा १०० पूर्णाङ्कको लागि तीन घण्टाको समयलाई ७५ पूर्णाङ्कको लागि तीन घण्टा बनाइयो र बाँकी २५ अङ्क लाई आन्तरिक मूल्याङ्कन अन्तर्गत राखियो । तर यस वर्षदेखि ५० अङ्कको बाह्य मूल्याङ्कन, समय २ घण्टा र प्रश्नपत्रको मोडेलमा समेत परिवर्तन गरिएको छ । साथैै ५० अङ्कको आन्तरिक मूल्याङ्कनमा कक्षा सहभागिता र सिकाइको सक्रियता, प्रयोगात्मक कार्य, परियोजना कार्य र अन्य कार्यलगायत आवधिक त्रैमासिक परीक्षासमेत राखिएको छ । तर विद्यालयहरूमा यो कतिको लागू भयो वा भएन, अवलोकन गर्न बाँकी छ ।

अब चर्चा गरौं कक्षा ८ को बोर्ड परीक्षाको औचित्यबारे । वीरगंज महानगरपालिकाले यस वर्ष आधारभूत तह कक्षा ८ को परीक्षालाई एसइई सरह नै केन्द्र कायम गरी लिने निर्णय गरेको छ किनभने लकडाउनको कालखण्डदेखि नै विद्यार्थीहरूको पढ्ने रुचि कम भएको र मोबाइलप्रति आकर्षणमा वृद्धि भएको छ । यससँगै विद्यालयमाथि परीक्षाको सम्पूर्ण जिम्मेवारी सुम्पिंदा कोही पनि फेल नहुने र कक्षा ८ मा जति ग्रेड हासिल गर्थे सोभन्दा धेरै कम ग्रेडले धेरैजसो विद्यार्थीहरू एइईमा उत्तीर्ण हुनुले जुन कुरालाई इङ्गित गर्दछ त्यो आपैंm प्रस्ट छ । यस वर्षदेखि जसरी पाठ्यक्रममा परिवर्तन गरिएको छ सोही अनुसार परीक्षा प्रणालीमा पनि परिवर्तन गरिएको कुरा वीरगंजेली परिवेशमा सराहनीय छ । आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षाको औचित्य यस्तो छ ।

१) समय व्यवस्थापन सीप विकास
नसरी पूmटबल खेलको समय ९० मिनेटको हुन्छ । खेलाडीहरू निरन्तर अभ्यास गरेर ९० मिनेटको सदुपयोग गर्न योजना र रणनीति बनाएर परिणाम हासिल गर्छन् । त्यसैगरी विद्यार्थीहरू पनि प्रश्नहरूको उत्तर २ घण्टाभित्र कसरी सहज ढङ्गबाट लेख्न सकिन्छ भनेर निरन्तर अभ्यास गर्छन् । त्यसो हुँदा दुई घण्टाले एउटा तहको महŒव राख्दछ । दुई घण्टाको समयावधि राखेर आधारभूत तह कक्षा ८ को ग्रीडमा आधारित मोडेल प्रश्नपत्रको इमानदारिता साथ अभ्यास गर्न सक्छन् ।

२) अनुशासनमा सहयोगी
अनुशासनमा बस्न यस्ता परीक्षाहरूले सहयोग गर्छ । दुई घण्टाको सीमित समय सदुपयोग गरी कसरी सफलता हासिल गर्ने भनी रणनीति बनाएर सोही अनुसार नियमित काम गर्ने बानी विकसित हुन्छ । यसका लागि विद्यार्थीहरूले समयमा पढाइ–लेखाइसँगै खान, सुत्न, उठ्न, खेल्नका लागि नियम बनाएर सोको परिपालन गर्ने कुरा सिक्छन् ।

३) स्वमूल्याङ्कन
प्रथम सत्रको परीक्षामा कति सफल भएँ र अबको परीक्षामा कति सफलता हासिल गर्नेछु भन्ने उद्देश्यका साथ स्वमूल्याङ्कन गर्ने विधिको रूपमा पनि यस आधारभूत तहको परीक्षालाई लिन सकिन्छ । जस्तै कति समयमा प्रश्न हल गर्न सकें ? कस्ता प्रश्न हल गर्न सकिनँ ? कुन विषयमा सोचेजस्तो गर्न सकिएन ? किन सोचेजस्तो परिणाम प्राप्त गर्न सकिनँ जस्ता प्रश्नको जवाफ खोजेर स्वमूल्याङ्कन गर्न यस परीक्षाले सहयोग गर्छ ।

४) सिकाइ व्यवस्थापन र प्रस्तुतीकरण
अध्ययन गरेको विषयवस्तु धेरै हुन्छ तर दुई घण्टामा प्रश्नपत्रका सबै प्रश्नहरूको समाधान दिन सक्नुपर्छ । यसर्थ यसलाई अवसरको रूपमा ग्रहण गरी सिकेको कुरा परीक्षामा कसरी लेख्ने ? कुन प्रश्नको उत्तर कति हरफमा लेख्ने ? प्रश्न कसरी बुझ्ने भनेर पोख्त हुनुपर्छ । यस्ता कुराहरू कक्षामा भर्ना भएको दिनदेखि नै निरन्तर अभ्यास गरेपछि मात्र सम्भव हुन्छ ।

५) निरन्तर अभ्यासको बानी
विद्यार्थीहरूले सकारात्मक सोचका साथ पाठ्यपुस्तक, पाठ्यक्रम र ग्रीड अनुसार निरन्तर अभ्यास गर्नुपर्छ । निरन्तर अभ्यासले प्रश्नपत्र सजिलो लाग्छ र सफलता हासिल गर्न सजिलो हुन्छ । भनिएको पनि छ –“करत करत अभ्यास ते, जडमति होत सुजान/रसरी आवत जात ते सिल पर परत निशान ।”

६) स्रोत व्यवस्थापन सीपको विकास
परीक्षामा सफल हुन पाठ्यक्रम लगायत विभिन्न स्रोतको कसरी सदुपयोग गर्ने भन्ने कुराको समेत सीप विकास हुन्छ । यस अन्तर्गत पाठ्यपुस्तकले नसमेटेको विषय कुन सन्दर्भ सामग्रीबाट पाउन सकिन्छ ? कसरी शिक्षकसँग समन्वय गरी नजानेका विषय जान्न सकिन्छ जस्ता विषयहरू परीक्षाको तयारी गर्ने क्रममा सिकिन्छ ।

७) आर्थिक व्यवस्थापन
कुनै पनि परीक्षामा सहभागी हुन र तयारी गर्न आर्थिक स्रोत आवश्यक हुन्छ । स्कूले विद्यार्थीहरू अभिभावककै खर्चमा पढ्ने हुन् । यस परिवेशमा अभिभावकले दिएको खर्च व्यवस्थापन महŒवपूर्ण हुन्छ । परीक्षा शुल्क, विद्यालयको मासिक शुल्क, परीक्षा तयारीका लागि सामग्री जुटाउने खर्च, सन्तुलित खाना खर्चलगायत स्वास्थ्यको लागि गरिने खर्च व्यवस्थापनबारे सिक्ने अवसर पनि यस्ता परीक्षाहरू नै हुन् । यसर्थ दुई घण्टाको परीक्षाका लागि साँच्चिकै राम्रो तयारी गर्ने हो भने विद्यार्थीले आर्थिक अनुशासन व्यवस्थापनको कुरा पनि सिक्छन् ।

८) निर्णय क्षमताको विकास
दुई घण्टा अत्यन्त सीमित समय हो । शतप्रतिशत सफलता हासिल गर्न हरेक पलको सदुपयोग गर्नुपर्छ । जीवनका कतिपय क्षणमा एक सेकेन्डले नै सफल वा असफल हुने तय गर्छ । यदि हामीले दुई घण्टाको समयलाई लक्षित गरेर अभ्यास गर्ने हो भने छिट्टै सही निर्णय लिने क्षमता विकसित हुन्छ ।

शिक्षा जीवनोपयोगी कला हो । पढेर र परेर आर्जन गरिएका सम्पूर्ण कुरालाई शिक्षाको रूपमा हेर्नुपर्छ । अन्त्यमा माथि उल्लेख गरिएका कुराहरू आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षा होस् वा जुनसुकै परीक्षाका कारण प्राप्त हुने केही महŒवपूर्ण लाभहरू मात्र हुन् । यसर्थ विद्यमान प्रणालीलाई दोष दिनुको साटो त्यसबाट कसरी फाइदा लिन सकिन्छ भनेर हेर्ने हो भने हामीले आप्mनो जीवन नै सुधार्न सक्छौं । दुई घण्टाको आधारभूत तहको अन्तिम परीक्षालाई लक्षित गरेर निरन्तर निर्माणात्मक परीक्षा र सोसँग सम्बन्धित गतिविधिलाई सिकाइको आध्यम बनाउन सकिन्छ । मेहनती र अनुभवी मानिसका लागि यसले अपार सम्भावना बोकेको छ चाहे परीक्षाको परिणाममा विद्यार्थीको प्रतिशत जस्तोसुकै किन नहोस् । यस कारण भनिन्छ–“थोरै अङ्क पाउनु दुनियाँको अन्त्य होइन एउटा नयाँ शुरूवात मात्र हो ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here