महोत्तरी, ४ चैत/रासस
मिथिला मध्यमा परिक्रमाका यात्री आइतवार बिहान आठौं दिनको यात्रामा निस्केका छन् । सातौं दिनको रात्रि विश्राम बलवा–१० ध्रुवकुण्डमा गरेका यात्रीलाई आज बिहान मुस्लिम समुदायले बिदाइ गरेका छन् ।
हिन्दू–मैथिल परम्पराको मिथिला माध्यमिकी यात्रामा वर्षौंदेखि ध्रुवकुण्डमा मुस्लिमले यात्रीको स्वागत र बिदाइ गर्ने परम्पराजस्तै बनेको छ । मुस्लिम समुदायका अगुवाले आज बिहान अबको यात्रा सुखद होस् भन्ने कामना गर्दै यात्रीको बिदाइ गरेका हुन् ।
विश्रामस्थल ध्रुवकुण्ड वरिपरि मुस्लिम बसोबासको बाहुल्य छ । आफ्नो ठाउँमा बसेका यात्री आज बिहान अघिल्लो यात्रामा निस्कनुअघि मुस्लिम अगुवाले धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावको स्थानीय परम्परा अनुसरण गर्दै यात्रीको बिदाइ गरेका हुन् ।
“हामी वर्षौंवर्षदेखि मिलेर बसेका छौं, आफ्ना ठाउँमा आएका अतिथिको स्वागत र बिदाइ मिथिलाको स्थापित परम्परा हो,” ध्रुवकुण्डनजीकैको अधियानपुर बस्तीका शेख अमानुल्ला भन्छन् । यसले फरक धर्म, परम्परा र संस्कृतिबीच आपसी प्रेम र सद्भावको सकारात्मक सन्देश प्रवाह गर्ने शिक्षण पेशाबाट अवकाश लिएका अमानुल्लाको भनाइ छ ।
जिल्लामा मुस्लिम समुदायको सघन बसोबास रहेको धमौरामा मिथिला मध्यमा परिक्रमाको सातौं दिनको विश्रामस्थल ध्रुवकुण्ड हो । सत्ययुगमा राजकुमार ध्रुवले तपस्या गरेको ठाउँ मानिने ध्रुवकुण्डलाई हिन्दूले पवित्र धार्मिकस्थल मान्ने गरेका छन् । मध्यमा परिक्रमाका यात्रीको स्वागत र बिदाइको अवसर आपूmहरूले पाउनु गौरवको कुरा भएको मुस्लिम धर्मावलम्बी बताउँछन् ।
यात्री आइपुग्दा स्थानीय संस्कृति अनुसार गम्छा ओढाएर र बिदाइ गरिंदा सुपारीका टुक्रा हातमा दिने चलन छ । प्रतीकात्मकरूपमा केही यात्रीको स्वागत र बिदाइ हुने गरे पनि बासस्थलमा बस्ने ठाउँको प्रबन्ध, आकस्मिक उपचार सेवा र अन्य भइपरि आउने काममा मुस्लिम सबैका लागि उपलब्ध रहँदै आएका देखिन्छन् ।
मिथिलामा सुपारीको टुक्रा बिदाइका बेला दिने गरिएको परम्परा अघिल्लो निम्ता पनि मानिन्छ । यसको भाव आइरहनोस् है भन्ने हुने धमौराका बासिन्दा अवकाशप्राप्त शिक्षक सुशील यादव बताउँछन् ।
धमौैराका धमौराबजार, रौजाबजार र अधियानपुरको माझमा ध्रुवकुण्ड छ । यी वरपरका बस्ती मुस्लिम बाहुल्य भएपनि आपूmहरूको वास्तामा कुनै कमी महसूस नहुने गरेको यात्री बताउँछन् । यहाँ आइपुग्दा र निस्कँदा स्थानीय मुस्लिमले गर्ने स्वागत र बिदाइ परम्परा सामाजिक, सांस्कृतिक तथा धार्मिक सद्भावको खास नमूना भएको अग्निकुण्ड मठका महन्त नवलकिशोर दास शरण बताउँछन् ।
धमौरा हिन्दू र मुस्लिम परम्पराको आस्थाको स्थल हो । यहाँ हिन्दू परम्पराको ध्रुवकुण्ड र इस्लाम परम्पराको रौजामजार छन् । रौजामजार इस्लाम धर्म परम्पराका सुफी सन्त गदालीबाबा, बहारअलीबाबा र रहमतअलीबाबाको पवित्र मजार (समाधिस्थल) रहेको ठाउँ हो । हिन्दूहरू मजारस्थलमा श्रद्धा जनाउँदै मन्नत (आशिष) माग्न पुग्छन् । रौजामजार र ध्रुवकुण्ड आफ्नो ठाउँ चिनाउने पवित्रस्थल भएकाले आपूmहरूको समान चासोमा पर्ने यस ठाउँका हिन्दू–मुस्लिम बताउँछन् ।
माध्यमिकी परिक्रमाका यात्री ध्रुवकुण्ड आएपछि उनीहरूको आवास, भोजन, उपचार र अन्य आवश्यक प्रबन्धमा हिन्दू र इस्लाम धर्मावलम्बी नबाँडिएझैं रौजामजारको व्यवस्थापन, आवश्यक प्रबन्ध र प्रचारप्रसारमा पनि हिन्दू र इस्लाम धर्मावलम्बी सँगसँगै लागिपर्ने गरिएको धमौराबजारका बासिन्दा ८० वर्षीय हासिम कवारी बताउँछन् ।
मिथिलामा १५ दिने यो परिक्रमाका यात्रीले पाँच रात महोत्तरीमा बिताउने परम्परा छ । चौथो दिनको विश्रामका लागि मटिहानीबाट शुरू भएको महोत्तरीको यात्रामा यात्री पाँचौं दिन जलेश्वर, छैटौं दिन मडै, सातौं दिन ध्रुवकुण्ड र आठौं दिन कञ्चनवनमा बास बस्ने गर्छन् । आज मध्याह्न कञ्चनवनमा यात्रीले एकापसमा रङ्ग र अबिर खेलेपछि फागु पर्वमा रङ्ग र अबिरको प्रयोग खुल्ने मैथिल मान्यता छ । कञ्चनवनपछि परिक्रमा धनुषा प्रवेश गर्नेछ ।