माधव तिमिल्सिना, ठोरी, ३ चैत/
पर्साको पर्यटकीय क्षेत्र परिचित ठोरी गाउँपालिकामा घण्टाघर निर्माण हुने भएको छ । पर्यटन प्रवद्र्धन गर्न तथा ठोरीको पहिचान वृद्धि गर्न वीरगंजपछि ग्रामीण क्षेत्रमा पहिलोपटक ठोरीमा घण्टाघर निर्माण हुन लागेको ठोरी गापाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए । शनिवार ठोरी गापा–४ विजयबस्ती चोकमा घण्टाघर निर्माणको लागि शिलान्यास गरिएको बताए ।
ठोरी गापाले चालू आव २०८०/८१ मा रु ६४ लाख ९८ हजारको लागतमा घण्टाघर निर्माण गर्न लागेको गापाध्यक्ष श्रेष्ठले बताए । गापाध्यक्ष श्रेष्ठ र वडाध्यक्ष मानबहादुर थिङले संयुक्तरूपमा घण्टाघर निर्माणको लागि शिलान्यास गरेका थिए ।
घण्टाघर निर्माणको ठेक्का प्रकाश निर्माण सेवाले सकार गरेको छ । घण्टाघरको निर्माण चालू आर्थिक वर्षमा नै सम्पन्न गर्नेगरी ठेक्का दिइएको गापा अध्यक्ष श्रेष्ठले बताए । उनले घण्टाघर निर्माणपछि ठोरीमा पर्यटकीय चहलपहलमा अझै वृद्धि हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा, एमाले ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठ, नेपाली काङ्ग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठलगायत स्थानीयको सहभागिता थियो ।