प्रस, वीरगंज, ३ चैत/
जीतपुरसिमरा उपमहानगरपालिका–१५ मा तेस्रो डुमरवाना गोल्डकप–२०८० यही चैत १३ गतेदेखि हुने भएको छ । जनमुखी युवा चारपाते क्लबको आयोजनामा चैत १३ गतेदेखि प्रतियोगिता हुने आयोजक क्लबले डुमरवाना खेलमैदानमा शनिवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
प्रतियोगिता चैत २३ गते १० दिनसम्म सञ्चालन हुने र प्रतियोगितामा आठवटा टीम सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । जनमुखी युवा चारपाते क्लबका अध्यक्ष हेमनारायणी चौधरीले प्रतियोगितामा एपिएफ बर्दिवास, भरतपुर फूटबल क्लब चितवन, वीरगंज युथ एकेडेमी पर्सा, रिगल हेटौंडा रिसोर्ट मकवानपुर, एभरेस्ट फूटबल एकेडेमी सर्लाही, निजगढ एफसी, वीरगंज युनाइटेड र आयोजक जनमुखी युवा चारपाते क्लब सहभागी हुने बताए । उनले प्रतियोगिताको विजेतालाई नगद एक लाख र उपविजेतालाई ७५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने बताए ।
पत्रकार सम्मेलनमा कार्यवाहक वडाध्यक्ष रामेश्वर खाँ थारू, वडा सचिव प्रदीप रेग्मी, नेपाल पत्रकार महासङ्घ बाराका अध्यक्ष रेशम तिवारी, आयोजक क्लबका सदस्य जीतु पटेल, डुमरवाना भेट्रानका सचिव मनोज चौधरी, कोषाध्यक्ष रोशन चौधरी, सदस्य लालबहादुर गुरुङ, प्रतियोगिता संयोजक दीपेश चौधरी, सहसंयोजक जीतेन्द्र पटेल, आयोजक क्लबका सदस्य धीरेन्द्र खाँ थारूलगायतको सहभागिता थियो । डुमरवाना गोल्डकपको पहिलो संस्करण २०७८ र दोस्रो २०७९ सालमा भएको थियो ।