प्रस, वीरगंज, २ चैत/
ज्येष्ठ नागरिक सङ्घ, पर्साले शुक्रवार स्वास्थ्य परामर्श तथा होली मिलन समारोह सम्पन्न गरेको छ ।
ज्येष्ठ नागरिक पार्क, वीरगंज–१५ मा शुक्रवार सम्पन्न कार्यक्रममा डा पन्नालाल प्रसादले सहभागी ज्येष्ठ नागरिकहरूलाई नाक, कान, घाँटी रोग तथा उपचारबारे जानकारी गराएका थिए । उनले ज्येष्ठ नागरिकहरूको उमेर ढल्किंदै जाँदा कम सुन्ने, आवाज मधुरो हुनेलगायतका समस्या हुने गरेकाले बेलैमा उपचार गराउनुपर्ने सुझाव दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले ज्येष्ठ नागरिकहरूलाई पर्ने समस्या सेवामूलक कार्यालयहरूबाट कार्यालय प्रमुखहरूको बैठकमा राखेर सहजीकरण गर्ने बताए । उनले राष्ट्रबाट ज्येष्ठ नागरिकले पाउने सुविधा, सम्मानबारे जानकारी गराएका थिए । प्रजिअ भुसालले ज्येष्ठ नागरिकको कदर गर्ने समाजको उन्नति हुने बताए ।
कार्यक्रममा सहभागीहरूले एकापसमा अबीर लगाएर होलीको शुभकामना आदानप्रदान गरेका थिए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल, ज्येष्ठ नागरिक सङ्घ मधेस प्रदेश संयोजक एवं केन्द्रीय सदस्य जगदीशप्रसाद शर्मालगायतको सहभागिता रहेको सचिव विनयराज गौतमले बताए ।