प्रस, परवानीपुर, २ चैत/
बारा प्रहरीले एकजनालाई तीन दिन गैरन्यायिक थुनामा राखेर छाडेको छ । गत फागुन २८ गते महागढीमाई नगरपालिका–१ बरियारपुर बस्ने सुरेश साह लहेरालाई इलाका प्रहरी कार्यालय, बरियारपुरले पक्राउ गरेको थियो ।
उनकी छोरीको बिहेमा जन्तेबाट आएको डिजे साउन्डवाला गाडीले एउटा मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलमा तीनजना सवार थिए र घाइते उनीहरूलाई उपचारको क्रममा वीरगंजस्थित एसएलआर न्युरो अस्पतालमा भर्ना गरिएको छ । डिजे गाडीका चालक फरार भएपछि प्रहरीले बिहे अवधिमा अवरोध गरेन ।
तर बिहेको भोलिपल्ट बेहुलीका पिता लहेरालाई पक्राउ गरी हिरासतमा राख्यो । तीन दिनसम्म गैरन्यायिक हिरासतमा राखिएपछि यो कुराको विरोध शुरू भयो र आज स्थानीयले लहेराको मुक्तिका लागि आन्दोलन चर्काउने सुइँको पाएको प्रहरीले उनलाई रिहा गरेको छ ।