जनकपुरधाम, १ चैत/रासस
भेडा तथा बाख्रामा लाग्ने पिपिआर रोग रोकथामका लागि मधेस प्रदेशमा सात लाख ९२ हजार भेडा तथा बाख्रामा खोप लगाउने लक्ष्यसहित सप्ताहव्यापी अभियान शुरू गरिएको छ ।

आज धनुषाको हंसपुर नगरपालिका–३ मलहनियामा आयोजित एक कार्यक्रमका बीच मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले खोप अभियान शुभारम्भ गरे ।

त्यस अवसरमा मन्त्री न्यौपानेले भेडापालनलाई व्यावसायिक बनाई किसानको दिगो जीविकोपार्जनमा सघाउ पुग्नेगरी सरकारले आवश्यक कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले व्यवसायको विविधीकरण गरी भेडाबाट मासु र राडीपाखी बनाउने उद्योग सञ्चालन गर्ने सोचसहित अगाडि बढ्ने किसानलाई सरकारले सहयोग गर्ने कुरा बताए ।

“जलवायु परिवर्तन, युवाहरूको पलायन र आधुनिक प्रविधिको अभावमा विशेषगरी भेडापालन व्यवसाय लोपोन्मुख अवस्थामा छ । त्यसको जगर्नेका लागि किसानहरू जागरूक भएमा आर्थिक तथा प्राविधक सहयोग गर्न सरकार तयार छ । यसमा तीनै तहका सरकारले समन्वय गरेर कार्यक्रम अगाडि बढाउन सकिन्छ”–मन्त्री न्यौपानेले भने ।

त्यस्तै, हंसपुर नगरपालिका प्रमुख प्रदीपकुमार यादवले स्थानीय किसानका समस्या समाधान गर्न नगरपालिकाले प्रदेश सरकारसँग मिलेर काम गर्ने बताए । उनले भेडा तथा बाख्रापालनजस्तो पुख्र्याैली पेशामा लागेका किसानलाई प्रोत्साहनका लागि आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा विशेष व्यवस्था गर्नेसमेत आश्वासन दिए ।

कार्यक्रममा मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले मधेस प्रदेशका आठ जिल्लाका सात लाख ९२ हजार भेडा तथा बाख्रामा खोपलगाउने लक्ष्यसहित अभियान शुरू गरिएको बताए । डा पाण्डेले मधेसका जिल्लामा ‘किसान पहिले’ भन्ने नीतिका साथ किसानको आवश्यकता पहिचान गरी अरू कार्यक्रम पनि अगाडि बढाउने तयारी भइरहेको र पहिलो चरणमा भेडा तथा बाख्रामा रोग नियन्त्रण गर्न खोप अभियान शुरू भएको जानकारी दिए ।

कार्यक्रममा भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाका प्रमुख डा सञ्जीवकुमार ठाकुरले अभियानका क्रममा धनुषाका १८ वटै स्थानीय तहका ९३ हजार भेडा तथा बाख्रामा खोप लगाउने लक्ष्यसहित ६४ जना प्राविधिक परिचालन गरिएको जानकारी दिए ।

त्यसैगरी गाईभैंसीमा लाग्ने खोरेत रोग नियन्त्रणका लागि ५९,४०० गाई भैंसीमा खोप लगाउने अभियान पनि सँगसँगै चलिरहेको डा ठाकुरले बताए ।

पिपिआर बाख्रा तथा भेडामा लाग्ने एक प्रकारको महामारी रोग हो । यो रोग लागेपछि नाकबाट सिंगान बग्ने, ज्वरो आउने, छेर्ने, खोक्नेजस्ता समस्या हुने गर्छ । अत्यधिक सङ्क्रामक यस रोगको समयमैं रोकथाम गरिए भने एक सयमध्ये करीब ९० जतिको ज्यान जाने जोखिम रहेको र त्यो रोकथामको उपाय खोपमात्रै भएको डा ठाकुरको भनाइ छ ।

त्यस अवसरमा स्थानीय किसानले सरकारले गोठ व्यवस्थापन, औषधोपचार, चरिचरनको अभावमा पुख्र्याैली पेशा सङ्कटमा परेको भन्दै सरकारलाई सहयोगका लागि आग्रह गरे । हाल सवा दुर्ई सय भेडापालन गरिरहेका स्थानीय रामकिशोर राउत पालले सरकारले सहयोग गरेमा पुख्र्याैली पेशा संरक्षणका लागि थप उत्साहित भएर लाग्ने बताए ।

“भेडा मुख्यगरी देउतालाई चढाउने हो । आम्दानी त राम्रै हुन्छ तर युवापुस्ता पलायन भइरहेको र पुरानो पुस्ताले आधुनिक प्रविधिको अभावमा धेरै लाभ लिने अवस्था नरहेकोले त्यो पेशालाई व्यावसायिकरूपमा निरन्तरता दिन सकिरहेका छैनौं । यदि सरकारले गोठ व्यवस्थापन, औषधोपचार, चरिचरनका लागि घाँसको उन्नत बीउ, रौंबाट राडीपाखी बुन्ने आधुनिक मेशीन तथा प्रविधि सहयोग गरेमा हामी सङ्गठितरूपमैं लाग्छौं”–पालले भने ।

त्यस्तै स्थानीय किसान लालबिहाडी गरेडी पाल, सरोजकुमार पाललगायतले पनि खोर व्यवस्थापन, भेडाको रौं र घाँस मुख्य समस्या रहेको बताए । उनीहरूले भेडापालनसम्बन्धी तालिमको व्यवस्था गर्न पनि आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here