मुस्ताङमा तोरन्ल गोल्डकप

म्याग्दी, १ चैत/रासस
मुस्ताड्ढो थासाङ गाउँपालिका–४ घाँसामा बिहीवारदेखि १२औं केन्द्रीय तोरन्ल गोल्डकप अन्तरक्षेत्रीय तारो खेल्ने (आर्चरी) प्रतियोगिता शुरू भएको छ । थकाली सेवा समिति नेपालको आयोजना र घाँसा क्षेत्रको आतिथ्यमा तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा देशका विभिन्न ठाउँका २९ समूहका २३२ खेलाडी सहभागी छन् ।

एउटा समूहमा सातजना खेलाडी रहनेछन् । प्रतियोगितामा प्रतिस्पर्धा गर्ने सबै थकाली समुदायका खेलाडी हुन् । थकाली समुदायको पौराणिक तारो हान्ने खेलको संरक्षण, खेल पर्यटनको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको आज प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले उद्घाटन गरे ।

समितिले प्रत्येक तीन/तीन वर्षमा तोरन्ल गोल्डकप आयोजना गर्दै आएको छ । प्रतियोगिता सञ्चालन गर्न समितिले तीन वर्षअघि रु ५१ लाखको अक्षयकोष स्थापना गरेको थियो । प्रतियोगिताका विजेताले सुनको पाँच तोलाको मेडल, रनिङ शिल्ड, कप र रु एक लाख पुरस्कार पाउनेछन् । दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमशः रु ५० हजार, रु २५ हजार र रु १० हजार पुरस्कार पाउने थकाली सेवा समितिका अध्यक्ष गजेन्द्र तुलाचनले जानकारी दिए । सर्वाेकृष्ट धनुषकर, विशिष्ट धनुषकर, अनुशासित टोली, ज्येष्ठ र कम उमेरका खेलाडीलाई समेत नगद तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गौचन, प्रदेशसभा सदस्य विकल शेरचन र विमला गौचनले थकाली समुदायको भाषा, कला, संस्कृति र संस्कारको संरक्षणमा जोड दिए । मुस्ताङ उद्गम थलो भएका थकाली समुदायले तारो खेललाई मौलिक परम्परा मान्छन् । परापूर्वकालमा खेतीबाली लगाएर थन्क्याएपछि मनोरञ्जनका लागि तारो खेल्ने चलन थियो । तारो खेलमा बाँसको धनुषबाण र जरबुटाको तीर हुन्छ । करीब डेढ सय मिटर वारिपारि राखिएका दुईवटा फल्याकमा तीर हान्ने गरिन्छ ।

जुन समूहले धेरैपटक फल्याकमा तीर हान्छ, उसैले प्रतियोगिता जित्ने गर्छ । फल्याकको बीचमा राखिने गोलो आकारको सानो भागमा तीर कोपेपछि गोल भएको मानिन्छ । प्रतियोगिताको उद्घाटन हुनुपूर्व थकाली समुदायको जातीय पहिचान झल्कने झाँकी र बाजागाजासहित घाँसा बजार परिक्रमा गरिएको थियो ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्